त्रासमा टापुका अढाई सय परिवार

त्रासमा टापुका अढाई सय परिवार

भद्रपुर : झापाको भद्रपुर–३ मा पर्ने भाङबारीलाई मेचीपारिको गाउँ भनेर चिनिन्छ। यो गाउँ बर्खामा टापुमा परिणत हुन्छ। नदी र जंगे पिलरले बाटो फेर्दा स्थानीय त्रसित हुन्छन्। अढाई सय घरपरिवार यसपटक त्रासमा छन्। मेची नदी उर्लिएपछि नेपालतिर सम्पर्क टुटेको छ।

चार दिनदेखि अविरल वर्षा भइरहेको छ। आउजाउ गर्न डुंगा चल्न सकेको छैन। पाँच वर्षअघि बनाउन थालेको झोलुंगे पुल अलपत्र छ। नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासी त्रसित बनेका छन्। भारतले आफ्नो क्षेत्रतिर यही वर्ष पक्की तटबन्ध बनाएको छ। उतापट्टि बग्ने मेची नदीले पनि नेपालतिरै हान्न थालेको छ। त्यसले टापुलाई कटान गर्न थालेको छ।

नदी किनारमा गएर नेपालतिर फर्किएर हेर्नुबाहेक अरू विकल्प नभएको स्थानीय डिगेन गणेशले बताए। उनी आफन्त भेट्न वारि आएका थिए। तर, नदी उर्लिएपछि डुंगा नचलेकाले फर्किन सकेका छैनन्। ‘कुन दिन हाम्रा बाबुबाजे यो टापुमा आएर बसे ? ’, उनले भने, ‘त्यसको सजाय हामीले भोगिरहेका छौं। तीन दिन भयो डुंगा पनि चलेको छैन।’ बिरामी भए उपचार नपाउने अवस्था रहेको उनले सुनाए।

स्थानीयका अनुसार आधा गाउँमा नदी पसेको छ। घर छाड्नुपर्ने अवस्था नभए पनि नदी पस्यो भने उद्धार कठिन छ। यो गाउँमा भद्रपुर नगरपालिकाले दिएको एउटा डुंगा छ। नदीको बहाव कम भएका बेला स्थानीय त्यही चढेर आवतजावत गर्छन्।

ठेकेदारले पाँच वर्षमा पनि झोलुंगे पुल निर्माण सम्पन्न गरेको छैन। वर्षमा २–४ दिन आएर २–३ जनाले काम गरेजस्तो गर्छन्। ‘मेची उर्लिएका बेला आएर फेरि काम गर्दै छ’, मेचीपारिकै स्थानीय जनप्रतिनिधि अरुण राजवंशीले टेलिफोनमा भने, ‘जब मध्य बर्खा सुरु भयो तब पुलको पोल ठड्याएको छ। हिउँदभर बेवास्ता ग¥यो।’

आफूहरूलाई सरकारले नेपाली नै नठानेको स्थानीयको गुनासो छ। मेचीपारिका बासिन्दा हिउँदमा हिँडेर, साइकलमा जाने–आउने गर्छन्। बर्खाका चार महिना उनीहरूका घरमा चुलो बल्न मुस्किल पर्छ। छोराछोरीलाई स्कुल पठाउन सक्दैनन्। ‘सरकारले हामीलाई एउटा झोलुंगे पुल झुन्ड्याइदिन खोजेको कि रमिता देखाएको ? ’, स्थानीय विनिताले भनिन्, ‘हामी पनि नेपाली हौं। हामी बाँच्नुपर्दैन ? ’

२ सय ८० मिटर लामो र १३ मिटर चौडाइको पुल बनाउने सम्झौता भएको थियो। निलगिरि सेवा बानेश्वर काठमाडौंले १८ महिनामा काम सम्पन्न गर्ने गरी २०७२ भदौ ७ मा ठेक्का सम्झौता गरेको थियो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २ करोड ८५ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। पाँच वर्षमा दुवैतिर पिलर मात्रै गाँडिएका छन्। ठेकेदार युवराज डाँगीलाई पुलको काम समयमा सक्न अनुरोध गर्दा नटेरेको वडाध्यक्ष कमला थुलुङले बताइन्। ‘चार दिनदेखि मेचीपारिको गाउँमा जान सकेका छैनौं’, उनले भनिन्, ‘आपत्कालीन अवस्थाका लागि सबै सामग्री तयारी अवस्थामा राखेका छौं। तापनि, गाउँमा पानी छिरेको छ। डुंगा नचलेकाले हामी पुग्न सकेका छैनौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.