वर्षाले अवरुद्ध म्याग्दी-मुस्ताङ, घोप्टेभीर सडक खुल्यो
मुस्ताङ : लगातारको अविरल वर्षाले अवरुद्ध म्याग्दी-मुस्ताङ, घोप्टेभीर सडकखण्ड भर्खरै खुलेको छ । करिडोर सडकमा काम गर्दै आइरहेको डोजर, ब्रेकर मेशिन र मजदुरले २ दिनसम्म लगातार सडक मर्मत गरेपछि सडक संचालनमा आएको बेनी—जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
करिडोर सडक तथा मुस्ताङ र म्याग्दीका जनप्रतिनिधिहरुको पहलमा शनिबारदेखि सडक खुलाउन पहल गरिएपछि अस्थायी रुपमा एकतर्फि सडक ट्रयाक खुल्ला गरिएको सुपरभाइजर शेरचनले बताए । ट्रयाक खुल्ला भएपछि म्याग्दी र मुस्ताङको सिधा यातायात सेवा सूचारु भएको हो ।
सुपरभाइजर शेरचनका अनुसार साझ ५ बजेदेखि साना ठुला सबै सवारीसाधनलाई सहज हुने गरी सडक खुल्ने जानकारी दिए । शेरचनले भने,‘तत्कालै साना गाडी पास गर्ने गरी सडक खुल्ला गर्यौँ, अब केही बेरमा सबै काम सकिनेछ ।’
भासिएको म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभीर सडक खुल्ला भएपछि मुस्ताङतर्फ आउने र मुस्ताङबाट म्याग्दी जाने गाडीहरु सडक क्रस गरेको शेरचनले जनाए । अबिरल वर्षाले सडक नदी कटान तथा सडक १२ मिटर भासिएपछि शुक्रबारदेखि मुस्ताङतर्फको यातायात सम्पर्क अवरुद्ध भएको थियो । सडक अवरुद्धले सवारी तथा मुस्ताङ आउजाउ गर्ने यात्रुले सास्ती पाएका थिए ।