पहिरोले परिवार विस्थापित
गोरखा : लगातार आएको वर्षाका कारण गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर १० मा पहिरोले एक घर पुरिएको छ। आइतबार राति बागडाँडाका रेशमबहादुर अधिकारीको पहिरोले घर पुरिएको उपमेयर पम्फा बसेलले जानकारी दिइन्।
पहिराेले धौखोलास्थित अमृत बिक, डिलबहादुर बिक, टिकामान बिक, बाबुराम बिक, दीपक बिक र हिराबहादुर बिकको घर जोखिममा रहेको वडा अध्यक्ष ऋषिराम धौरालीले जानकारी दिए। घरसँगैको सडकको नालामा बगेको पानीको भेलका कारण पहिरो घरसम्मै पुगेको उनले बताए।
पहिरोले २ परिवार विस्थापित
भोजपुर नगरपालिका वडा नम्बर ३ गुप्तेश्वरको साउनेडाँडाका २ घर परिवार विस्थापित भएका छन्। लगातारको वर्षासँगै आएको पहिरोले घर बगाउने जोखिम बढेपछि स्थानीय विदुर राई र राजकुमार राईको परिवार छिमेकी आफन्तको शरणमा छन्। विदुर राई स्थानीय डिकु राई र राजकुमार राई स्थानीय रामप्रसाद राईको घरमा शरणमा बसेका छन्।
गत असार २६ गते राति गएको पहिरोले घर वरपरको जमिन चर्किन थालेपछि उनीहरु घर छोडेर छिमेकीको घरमा सरेका हुन्। बस्नै नहुनेगरि घर वरपरका सबै जमिन चिराचिरा भएर जमिन भासिन थालेपछि छिमेकीको शरणमा पुगेको पीडित राजकुमार राईले बताए। ‘रातारात घर सर्न पर्यो, के गर्नु नसरे पहिरोले बगाउला भन्ने डर’ उनले भने, ‘एकदुई दिन यतै आश्रय लिनुपर्यो, पछि अलिक सुरक्षित ठाउँमा सर्ने सोचेको छु’
पीडित परिवारलाई राहत सामाग्री पुर्याउने तयारी भइरहेको मेयर कैलाश कुमार आलेले बताए। उनले भने, ‘हामीले पीडितको अवस्था हेरेर आवश्यक राहत सामाग्री पठाउने तयारी गरिरहेका छौँ।’ नगरपालिका क्षेत्रभित्रका पहिरो जोखिमले प्रभावित क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको छ।
-गाेरखाबाट शिव उप्रेती र भोजपुरबाट प्रदीपचन्द्र राई।