एक सातामै उप्कियो बेनीमा असारे पिच
बेनी : बेनीको सडक कालोपत्रे गरिनसक्दै उप्किन थालेको छ। गत हप्तादेखि सुरु भएको बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाका सडकमा कालोपत्रे गर्ने काम सोमबार दिउँसोसम्म चलिरहेको छ।
नगरपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समितिले गरेको कालोपत्रे एक हप्ता पनि टिक्न नसकेको हो। गत बिहीबार बेनीको गणेशटोलको सडकमा गरिएको कालोपत्रे उप्किन थालेको स्थानीय शिव पूर्जाले बताए।
‘झमझम पानी परेको बेलामा पिच गरिएको थियो। पानीले भिजेको अलकत्रा नजमेपछि उप्किन थालेको छ,’ पुर्जाले भने ‘बजेट सक्न हतार हतारमा टालटुले पाराले काम गर्दा टिकाउ हुन सकेन।’
पहिलेको पिचमाथि बिटुमिन हालेर बिच्छ्याइएको रोडा उप्किन थालेको छ। गाडी गुड्ने क्रममा रोडा उछिट्टिएर सडक किनारामा हिँड्नेलाई चोट लाग्ने गणेशटोलका गणेश भट्टराई बताउँछन्।
एक हप्तायता सक्रिय भएको मनसुनका कारण म्याग्दीमा दैनिकजसो वर्षा भैरहेको छ। सडक कालोपत्रे टिकाउ नहुँदा राज्यको लाखौँ बजेट दुरुपयोग र खेर जाने स्थानीयबासीको चिन्ता छ।
पानीले कालोपत्रेमा प्रयोग गरिने बिटुमिन (अलकत्रा) जम्न नदिने भएकाले वर्षा भैरहेको अवस्थामा गरिने पिच टिकाउ नहुने प्राविधिकहरूले बताएका छन्। निर्माण ब्यवसायीले बढी नाफा निकाल्न प्राविधिक र सरोकारवालाको आँखा छलेर रातको समयमा बिटुमीनमा पानी मिसाएर सडक पिच गर्ने विकृति पनि छ।
‘बर्खायाम पिच गर्ने समय नै होइन, पानी परेको बेला भएको पिच त टिक्दै टिक्दैन,’ एक इञ्जिनियरले भने ‘नियमनकारी निकायको पहुँच पुग्ने ठाउँमै भएको यस्तो लापरबाही असारे विकासको नाममा भइरहेको बजेट दुरुपयोगको उदाहरण हो।’
बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ मा बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने सडक कालोपत्रे गर्न सम्बन्धित वडाको प्रस्तावमा ९/९ लाख रुपैयाँ विनियोजन गरेको थियो।
वडा न. ८ मा पर्ने संगमचोकदेखि क्याम्पसचोकसम्मको ४३० मिटर सडक कालोपत्रे गर्ने योजनाका लागि गत बैशाखमै उपभोक्ता समितिसँग सम्झौता भएपनि असारको अन्तिम साताबाट काम सुरु भयो।
उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मीले नियतले नभएर आकस्मिक रुपमा परेको पानीले केही ठाउँमा कालोपत्रे उक्किएको स्विकार गर्दै त्यसलाई मर्मत, सुधार गरिने बताए।
‘आर्थिक वर्षको अन्तमा छोटो समयको चाप र दवावमा प्रतिकुल मौसमको बावजुद काम गर्दा कमजोरी भयो,’ अध्यक्ष रेग्मीले भने ‘पकाएर ट्याक्टरमा राखेर ल्याएको रोडा र बिटुमिन भुइमा खसाल्ने क्रममा आकस्मिक रुपमा परेको पानीले असर गरेको हो। ल्याएको सामान फिर्ता पठाउन पनि भएन। अप्ठ्यारो भयो। बिग्रिएको ठाउँमा सुधार गर्छौँ।’
बालुवा र बिटुमिन भुटेर सडकमा राख्ने काम बाँकी भएकाले त्यो राखेपछि सुधार हुने उपभोक्ता समितिका सचिव गणेश श्रेष्ठले बताए।
नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले योजनाको भुक्तानी नभएको र कामको परिणाम तथा गुणस्तर हेरेर मात्र भुक्तानी गरिने बताए। ‘वर्षा भइरहेको अवस्थामा कालोपत्रे गर्दा गुणस्तरमा असर पर्छ भन्दा पनि आएको बजेट किन फिर्ता पठाउने भनेर काम गरियो,’ इञ्जिनियर कार्कीले भने ‘गुणस्तर र मापदण्ड अनुसारको काम नभए बजेट काटेर भुक्तानी हुन्छ।’
बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले कालोपत्रे उप्किएको ठाउँमा सडक मर्मत र सुधार गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको बताए। कालोपत्रेका लागि आवश्यक उपकरण र सामग्री नपाएकाले समितिले समयमै काम गर्न नसकेको अध्यक्ष बराइलीको भनाई थियो।
वडा न. ७ को इन्द्रेणीटोलको चोकदेखि नेपाल बैङ्कको कार्यालय रहेको चोकमा पनि कालोपत्रे भइरहेको छ। बजारभित्रको सडकमा बर्षेनी पिचमाथि पिच गरिएपनि ग्रामीण क्षेत्रको सडक स्तरोन्नति र सुधारमा जनप्रतिनिधिले बेवास्ता गर्दा सास्ती भएको बेनपा–६ का रामु पौडेलले बताए।