फलामेडाँडामा पाहुना घर
पाहुनाघरमा ८ कोठे पाहुना घर र सभाहलसहितको डाइनिङ हलका लागि दुईवटा भवन छन् जहाँ एक दिनमा २० जनालाई खाने र बस्ने सुविधा हुन्छ।
बेनी : करबाकेली पदमार्गअन्तर्गत जलजला गाउँपालिका ५ मा रहेको फलामेडाँडामा सामदायिक पाहुनाघर सञ्चालन गरिएको छ। गाउँ भ्रमणमा आउने पाहुनाको खाने बस्ने सुविधाका लागि स्थानीय बासिन्दाले सामुदायिक पाहुनाघर बनाएका हुन्।
समुद्री सतहदेखि ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित फलामेडाँडालगायत म्याग्दी र उत्तरी पर्वतका पर्यटकीयस्थललाई समेटेर गत वर्ष करबाकेली पदमार्ग सञ्चालनमा ल्याइएको थियो। पाहुनाघरमा एक दिनमा २० जनालाई खाने र बस्नेसुविधा उपलब्ध गराइने लोप्रेका पुर्ख पुनले जानकारी दिए। ८ कोठे पाहुना घर र सभाहलसहितको डाइनिङ हलका लागि दुईवटा भवन बनाइएको छ।
प्रदेश सरकारको १० लाख र जलजला गाउँपालिकाको एक लाख रुपैयाँ अनुदानमा पाहुनाघरको भवन बनाइएको हो। स्थानीय तुलबहादुर पुनले श्रीमती बहुमती पुनको पुण्य स्मृतिमा १९ लाख रुपैयाँ खर्चेर डाइनिङ हल र बाह्य खोप केन्द्रका लागि अर्को भवन बनाइदिएका छन्। ‘फलामेडाँडाको पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौं’, पुनले भने, ‘पाहुनाघर र डाइनिङ हल बनेपछि गाउँमा आउने पाहुनालाई खान बस्न समस्या नहुने साथै आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छौं।’
पहाडको टुप्पोमा समथर फाँट रहेको फलामेडाँडाबाट सूर्योदय, म्याग्दी, पर्वत र बागलुङका बस्ती, धौलागिरि, अन्नपूर्ण, गुर्जा, निलगिरि हिमाल र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ। डाइनिङ हल र खोप केन्द्रको भवन निर्माणका लागि तुलबहुरले १९ लाख २५ हजार, स्वास्थ्य कार्यालयले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएका। स्थानीयवासीले दुई लाखबराबरको श्रमदान गरेका निर्माण समितिका चक्र पुनले बताए।
फलामेडाँडामा प्रस्तावित भ्यूटावरसम्म जाने ३ सय ६० मिटर ढुंगे सिढीसहितको पदमार्ग बनेको छ। प्रदेश सरकारको ४ लाख ५० हजार, गाउँपालिकाको एक लाख २५ हजार अनुदान र समुदायको एक लाख १५ हजार चन्दा सहयोगमा पदमार्ग निर्माण भएको हो। पदमार्गको मध्य भागमा प्रेमबहादुर फगामीको स्मृतिमा उनका परिवारले वि श्राम गर्ने चौतारी बनाएका छन्।