आर्टको कलात्मक कथा
काठमाडौं :‘ऊसँग एउटा आर्ट ग्यालरीमा भेट भएको थियो। पहिलोपल्ट भेट्दा नै मैले ऊसँग मीठो सपना सजाएकी थिएँ। ऊ चित्र बनाउने कलाकार, आर्टलाई माया गर्ने साधक। ऊसँग बिहे गरेपछि रोमान्टिक ठाउँमा घुम्न जाऊँला, रमाइलो कुरा गरेर जिन्दगी बिताऊँला भन्ने थियो। जिन्दगी यस्तो होला भन्ने कहाँ थियो र? ’
मञ्चमा वकिल साथीलाई आफ्ना कुरा सुनाइरहेकी प्रिया सुकसुकाउँदै छे। आर्टिस्टसँग प्रेमविवाह गरेकी प्रिया लोग्नेको बेवास्ताले तड्पिएकी छ। ऊ अगाडि भन्छे,‘चित्रकारलाई न्युड चित्र बनाउन पाए हुन्छ। महिला पुरुषका नग्न अंग कोरेर बस्छ चित्रकार। चित्र समाउन पाएपछि सायद उसको यौनकुण्ठा पनि मेटिँदो हो। रातपछि जब ऊ बेडमा आउँछ, म मायालु पाराले उसलाई सम्बोधन गर्दै भन्छु आई एम रेडी। ऊ निकै बेवास्तापूर्वक मलाई हेर्दै भन्छ, मलाई मुड छैन। उफ् यस्तो तरिकाले पनि कहीँ जिन्दगी चल्छ।’
यो संवाद हो, नाटक मैनदानीभित्रको। विश्वचर्चित लेखक एन्टन चेखवको कथा द वर्क अफ एन आर्टमाथि नेपाली कलाकारले मैनदानी नाटक बनाएका हुन्। अनामनगरस्थित मण्डला थिएटरमा प्रदर्शन भइरहेको यो नाटकले कलालाई विभिन्न पात्रले कसरी बुझ्छन्, एउटा न्युड आर्टप्रति आमबुझाइ के छ भन्ने देखाउने प्रयास गरेको छ।
कलाकारको सिर्जनालाई कलात्मक आँखाले हेरेमा मात्रै सार बुझ्न सकिन्छ। यहाँ कसैले न्युड आर्ट बनायो भने कलाकारको चरित्रसँग तुलना गरिन्छ। न्युडिटी सत्य हो। हरेक मान्छे न्युड अवस्थामा मात्रै समान हुन्छ। एक कलात्मक न्युड देखिने मैनदानी नाटकको मुख्य चरित्र हो। मैनदानीकै माध्यमबाट कलाकारिताको व्यापकता खोज्ने प्रयास गरिएको छ नाटकमा।
नाटकमा डाक्टरको भूमिकामा आयान खड्का छन्। बिरामी आमाको उपचार गर्न आएको एक गरिब छोरासँग डाक्टरलाई दिने पैसा हुँदैन। उसले आफ्नो घरमा बाजेबराजुको पालादेखि रहेको कलात्मक मैनदानी डाक्टरलाई उपहार दिन्छ। जब डाक्टरको हातमा उक्त मैनदानी पर्छ नाटकले गति लिन्छ। मैनदानी निकै सुन्दर छ। महिला र पुरुष आलिंगनमा जोडिएर प्रेमालाप गरिरहेको संकेत दिन्छ मैनदानीले।
समाजमा विविधता छ। हरेकको सोच र दृष्टिकोण पनि फरक छ। कलाकारले सिर्जना गरेको कला जब बाहिर आउँछ, त्यसमा समाजका पात्रले अन्तरक्रिया गर्छ। कलाकारको विचार मर्छ। नाटकमा डाक्टरसँग आइपुगेको मैनदानी वकिल, गायक हँुदै पुनः डाक्टरसँग आइपुग्छ। मैनदानी आफूसँग आइपुगेपछि हरेकले आपत्ति जनाउँछन्। अश्लील भन्दै आफूसँग राख्न इन्कार गर्छन्। बाहिरी दुनियाँमा विद्वान् देखिने वकिल, डाक्टर, गायकभित्र रहेको पुरानो सोचलाई नाटकले कलात्मक तरिकाले प्रस्तुत गरेको छ। नाटकले हरेक दर्शकलाई प्रश्न छाडेको छ।
डाक्टर रोमान्टिक छ। उसको केटी साथी र प्रेमसम्बन्ध पनि बदलिरहन्छ। प्रेमको मामलामा उदार प्रवृत्तिको डाक्टर मैनदानीमा भएको कला बुझ्न सक्दैन। क्लिनिकमा मैनदानी सजाउन हिम्मत गर्दैन। उसले मैनदानी लुकाएर वकिलकहाँ पु¥याइदिन्छ।
जोजो गीत गाउन रुचि राख्छन्। उसले कला बुझेको छ। कलाका अनगिन्ती स्वरूप संग्रह गरेको छ उसले। केशवले डाक्टरलाई दिएको मैनदानी जोजोको हातसम्म आइपुग्छ। मैनबत्तीमा प्रयोग भएको कलात्मक सीप र शैलीलाई उसले सम्मानस्वरूप सजाएर राखेको छ। मैनदानीको विषयलाई यौनकुण्ठाको रूपमा पत्रकार देविसाले अतिरञ्जनात्मक टिप्पणी गरेपछि ऊ छट्पटिन्छ।
पत्रकारको भूमिकामा देखिएकी देविशा लामिछानेले आमपत्रकारको चरित्र निर्वाह गरेकी छन्। अहिले बजारमा प्रयोग भइरहेको मिडियाको गलत प्रयोग, ससाना विषयमा स्कान्डल फैलिँदा सर्जक तथा कलाकारलाई मनोवैज्ञानिक रूपमा पर्ने असरलाई जोजो र उसको रुममेट साथीको माध्यमबाट देखाइएको छ। आफूले गर्नुपर्ने काम, सोध्नुपर्ने विषयमा सामान्य जानकारी पनि नराखी पत्रकारिता गर्नेलाई तिखो व्यंग्य गर्न सफल छ यो नाटक।
नाटकले मैनदानीमार्फत अनेक विषयमा प्रश्न उठाएको छ। श्रीमान्बाट शारीरिक सुख नपाएकी युवतीको मनोविज्ञानदेखि मूर्तिमा कोरिएको कलात्मक आर्टप्रति आममान्छेको गलत दृष्टिकोण देखाउने प्रयास गरिएको छ।
कलाकारको अभिनय जीवन्त छ। हरेकले आफ्नो भूमिकालाई न्याय गर्ने प्रयास गरेका छन्। पृष्ठभूमिको संगीत, आवाज र मञ्च साजसज्जा उपयुक्त छ। नाटकले दर्शकलाई भरपूर मनोरञ्जन दिन्छ। मैनदानी नाटकलाई सिक्का इन्टरटेनमेन्ट प्रालिले तयार गरेको हो। यो कलाको क्षेत्रमा काम गर्ने युवाको संस्था हो। नाटकको परिकल्पना तथा निर्देशन संयोग गुरागाईंले गरेका हुन्। नाटकमा अंकित खड्का, सागर खाती, देविन चौधरी, रिजन परियार, आयान खड्का, जेनी सुनुवार, निकिता आचार्य, इंगिहोपो कोइच सुनुवार, मिलन कार्की, देविशा लामिछाने, विकास पन्तलगायतको अभिनय छ।