संसदीय समितिमा जनार्दन शर्माले क्यामेरा बन्द गर्नुहोस् भनेपछि..
काठमाडौं : बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक चलिरहेको थियो । बैठकको विषय थियो– संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
विधेयकमा प्रस्ताव गरिएको निजामती कर्मचारीलाई निवृत्त भएपछि दिइने सेवाको विषयमा सांसदबीच जुहारी चलिरहेको थियो । केही सांसदले बहालवाला कर्मचारीको तलब बढ्दा सेवानिवृत्तको पनि दुई तिहाई पेन्सन बढ्नुपर्ने तर्क गरिरहेका थिए भने केहीले सेवा निवृत्तलाई अनावश्यक सुविधा दिन नहुने तर्क गरिरहेका थिए ।
यहीबीचमा सांसद जनार्दन शर्माले बोल्ने समय मागे । बोल्न सुरु गर्नु पहिला नै शर्माले पत्रकारलाई क्यामेर बन्द गर्न लगाए ।
‘एउटा कुरा है ! यहाँ बोलेको फेरि विरुद्धमा आयो भन्ने होला । रेकर्ड गरेर प्रशारण गर्ने होला । म अनौपचारिक कुरा गर्छु । त्यो क्यामेरा बन्द गर्नहोस् त ! रेकर्ड नगर्नू । जे पनिदेखाइ दिनुहुन्छ र अनि यहाँ भएको छलफललाई अर्को भाइरल बनाइदिनुहुन्छ ’, उनले भने ।
नेता शर्मा सेवानिवृत्तको सेवा सुविधा बहालवालाको जस्तो बढाउन नहुने भन्ने पक्षमा थिए । काम गरिरहेकाको बढाए पनि पेन्सन खानेको बढाउनु नहुने उनले तर्क गरे । ‘काम गरेबापत पाउने कुरा त हो ! तर काम नगरे पनि बढ्नु भन्ने कुरा त त्यति न्यायसंगतः लाग्दैन’, शर्माले भने , ‘काम गर्न छाडिसकेपछि पनि निवृत्तभरण बढ्दै जाने त कसरी हुन्छ?’