सडक र पुल निर्माण अलपत्र
जाजरकोट : जिल्लाका एक दर्जनभन्दा बढी सडक र पुलको निर्माण कार्य अलपत्र छ । जिल्लाका महत्वपूर्ण सडक र पुल निर्माण कार्य अलपत्र परेपछि जिल्लाबासीको सडक सपना समेत अधुरा छन् । निर्माण कार्य सुरु भएको लामो समयसम्म निर्माण नहुँदा सडक र पुल अलपत्र अवस्थामा छन् ।
अलपत्र सडक र पुलको निर्माण कार्य यथासिघ्र सम्पन्न गर्न स्थानीयको माग छ । जिल्लाका रणनैतिक सडक र पुलमा पर्याप्त बजेट विनियोजन नहुनु, बिनियोजित बजेटको पनि निर्माण कम्पनीको ढिलासुस्ती तथा लापरवाहीले तोकिएको मितीमा काम सम्पन्न नहुनु र सडक डिभिजनको लापरबाहीले आयोजना अलपत्र परेका हुन् ।
सडक र पुल राम्रो नभएकै कारण सदरमुकाम खलंगा आउन अहिले पनि ग्रामिण भेगका बासिन्दा पैदल हिँड्ने गर्छन् । बारेकोट–१ का दलबहादुर बुढाले भने, ‘सडक निर्माणले गति लिन नसक्दा अधिकांश बासिन्दा पैदल हिँड्न बाध्य छन् । जाजरकोट–जुम्ला सडकको छेडा–थलह सडक खण्डमा पर्ने मोटरेबल पुलको निर्माण कार्य अलपत्र छ । ठेक्का सम्झौता भएको सात वर्ष बिति सक्दा पनि पुल बन्न सकेको छैन ।
१८ महिनामा बन्नु पर्ने पुल नबनेपछि निर्माण कम्पनीलाई कालोसुचीमा राखेर ठेक्का तोड्ने निर्णय सम्बन्धमा सर्वोच्च अदालतको फैसला ढिलाइले पुल निर्माण रोकिएको हो । यो पुल निर्माणको ठेक्का तोडी नयाँ ठेक्का खोल्न नमिल्ने जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए । त्यस्तै मोर्क पुल निर्माणमा ढिलाई हुँदा जाजरकोट जुम्ला सडकमा पर्ने १२ ओटा पुल निमाणको प्रक्रिया अघि बढ्न सकेको छैन । ठेकेदारको लापरबाहीले पुल निर्माण सुरु भएको सात बर्ष वित्यो । तर काम भएको छैन ।
सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर कुशल भुषालले कच्ची सडकलाई स्तरोन्नति गर्ने, अलपत्र पुल र सडकको काम सुचारु गर्ने काम भइरहेको बताए । निर्माण सुरु भएको १० वर्ष सम्म पनि गुणस्तरिय काम नहुँदा खलंगा–पाँचकाटिया, खलंगा–पाँचकाटिया–पैक–ब्याउलीढुङ्गा–जुम्ला, खलंगा–पाँचकाटिया–बारेकोट–जुम्ला र छेडा–चाँदे–जुम्ला जस्ता रणनैतिक सडक र विभिन्न सडकमा बन्ने महत्वपूर्ण पुल नबन्दा जाजरकोटबासीको सहज यातायात सपना पुरा हुन सकेको छैन ।