जापानको एनिमेशन स्टुडियोमा भीषण आगोलागी, २३ जना मारिए
टोकियो : जापानको क्योटो एनिमेशन स्टुडियोमा आगोलागी हुँदा २३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार एकजना पुरुष छिरेरै स्टुडियोमा आगो लगाइदिएका हुन् । एक वयष्क पुरुषले पेट्रोल छर्केर आगो लगाइदिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार ती व्यक्तिको नाम भने अहिलेसम्म सार्वजनिक भएको छैन । घटनापछि जापानी प्रधानमन्त्री सिन्जो आबेले मारिनेहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै घटनामा खेद जनाएका छन् ।
विश्व चर्चित कार्यक्रम उत्पादन गरिसकेको उक्त स्टुडियोमा स्थानीय समयअनुसार बिहान साढे १० बजे आगोलागी गराइएको थियो । किन आगोलागी गराइएको भन्ने कारण भने खुलेको छैन । ‘के अन’ र ‘द मेलन्कली अफ हारुही सुजुमिया’ जसता चर्चित कार्यक्रम उत्पादन गरिसकेको उक्त स्टुडियो १९८१ मा स्थापना भएको थियो ।