गण्डकीमा बढे पर्यटक

गण्डकीमा बढे पर्यटक

पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा गत आर्थिक वर्ष सबैभन्दा धेरै पर्यटक आएका छन्। एक्याप क्षेत्र गण्डकी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य हो। अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउँछन्।

एक्यापका अनुसार २०७५/७६ को असार १५ सम्म २०७४/७५ को तुलनामा ६ हजार ९ सय ९५ जना बढीले पदयात्रा गरे। १५ दिनको तथ्यांक आउन बाँकी छ। २०७४/७५ मा १ सय ६० देशका १ लाख ७२ हजार ८ सय ६१ जना एक्याप क्षेत्र पुगेका थिए। गत आवको समीक्षा अवधिमा १ लाख ७९ हजार ८ सय ५६ जना विदेशी पर्यटक आएको आयोजनाका सूचना अधिकृत ऋषि बरालले बताए। यीमध्ये सार्क मुलुकका ४६ हजार २ सय १५, अन्य देशका १ लाख ३३ हजार ६ सय ४१ छ। यो संख्या २०७३/७४ मा १ लाख ४४ हजार १ सय ९८ थियो।

फ्रान्सेली नागरिक मोरिस हर्जोगले हिमाल आरोहण गरेपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटक आउन थालेका थिए। हर्जोगले २००७ जेठ २१ मा ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए। अन्नपूर्ण प्रथम सगरमाथाभन्दा होचो रहे पनि सबैभन्दा पहिले आरोहण गरिएकाले जेठो हिमाल भनेर चिनिन्छ।

यसको आरोहणसँगै अन्नपूर्ण पदयात्रा क्षेत्र र नेपालले विश्वमै चर्चा पाएको थियो। यहाँको पदमार्गमा सडक विस्तार हुँदा पर्यटकको बसाइ घटेको छ। प्रदेशमा सबैभन्दा धेरै पर्यटक पदयात्राका लागि आउने गरेको एक्यापको तथ्यांक छ।

भूकम्पअघि पोखरामा चिनियाँको आगमनले ‘अफ सिजन’ मानिएका असार, साउनमा पनि पर्यटक संख्यामा वृद्धि भएको थियो। चिनियाँ पनि पदयात्रामा जान थालेका थिए। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि उनीहरूको आगमन घटेको थियो। त्यो क्रम सुध्रिन नसकेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले बताए। गण्डकी प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ। यो लक्ष्य पूरा गर्न ठूलै कसरत गर्नुपर्ने देखिन्छ।

पोखरामा २ लाख ८८ हजार विदेशी पर्यटक

गण्डकी प्रदेशको राजधानी पोखरामा ११ महिना अवधिमा २ लाख ८८ हजार विदेशी पर्यटक आएका छन्। प्रदेश सरकारले पहिलोपटक तथ्यांक संकलन गरेको हो। यसअघि पोखरासहित गण्डकी प्रदेशमा बर्सेनि कति पर्यटक आउँछन् भन्ने यकिन तथ्यांक थिएन। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले स्थल र हवाईमार्गबाट आउने पर्यटकको तथ्यांक लिन थालेको हो। पछिल्लो ११ महिनाको तथ्यांकअनुसार भारतीय पर्यटकको संख्या १ लाख १६ हजार ६ सय ९६ छ। चीनसहित एसिया, युरोप, अमेरिकालगायत देशका पर्यटकको संख्या १ लाख ७१ हजार ७ सय ४९ रहेको मन्त्रालयका शाखा अधिकृत गोविन्द पौडेलले बताए।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी र सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङस्थित प्रहरी चेकपोस्टको सहयोगमा स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक लिइएको हो। नवलपुर आउने पर्यटकको तथ्यांक भने यसमा समेटिएको छैन। त्यहाँको तथ्यांक पनि चाँडै संकलन हुने मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले बताए।

हवाईमार्गबाट पोखरा आउने पर्यटकको तथ्यांक भने पोखरा विमानस्थलले प्रदेश सरकारलाई उपलब्ध गराउँदै आएको छ। हेलिकप्टरबाट आउने पर्यटकको पनि रेकर्ड राख्ने मन्त्रालयको तयारी छ। यसअघि पोखरा विमानस्थल र एक्यापबाहेक अन्यसँग पर्यटकको तथ्यांक थिएन।

तथ्यांकअनुसार पोखरामा सबैभन्दा धेरै कात्तिकमा ३८ हजार ५ सय पर्यटक आए। त्यसपछि मंसिरमा ३७ हजार र सबैभन्दा कम साउनमा २० हजार ८ सय १२ जना आएको प्रदेश सरकारको तथ्यांक छ। भदौमा २१ हजार ७ सय १७ पर्यटक भित्रिए। यी दुवै महिना पर्यटक आगमनका लागि ‘अफ सिजन’ मानिन्छन्। पर्यटकीय सिजन सुरु हुने असोजमा पर्यटक संख्या २५ हजार ९ सय ७३ रह्यो।

प्रदेश सरकारले आन्तरिक पर्यटकको तथ्यांक भने राखेको छैन। तथ्यांक संकलन प्रभावकारी बनाउन एप्स सिस्टममा जाने प्रदेश सरकारको तयारी छ।

कुन वर्ष कति पर्यटक ?

२०७५/७६    १ लाख ७९ हजार ८५६ (असार १५ सम्म)

२०७४/७५    १ लाख ७२ हजार ८६१

२०७३/७४    १ लाख ४४ हजार १९८ 
स्रोत : एक्याप


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.