गाउँ फर्कंदा बाँच्ने आस छैन

गाउँ फर्कंदा बाँच्ने आस छैन

भीमफेदी : शिला थिङ १४ दिनकी सुत्केरी छिन्। राम्ररी हिँडडुल गर्नै सक्दिनन्। उनका श्रीमान् इमानसिंह साँझपख सुत्केरी श्रीमतीका लागि खाना पकाउँदै थिए। घरमाथिबाट पहिरो, मुनिबाट भेलबाढीको तीव्र कटानले जोखिम बढाइरहेको थियो। घरभित्रै भेल छिर्न थालेपछि पाक्दै गरेको खाना छाडेर उनी श्रीमती, १४ दिने छोरा र साढे दुई वर्षका अर्का छोरा च्यापेर घरबाट निस्किए।

घरछेउको भेल तर्न नसकेपछि मध्यरात एस्काभेटरमार्फत उनीहरूको उद्धार गरियो। भीमफेदी बजारस्थित हात्तीसारको सामुदायिक भवनमा परिवारलाई सुरक्षित तवरले राखेपछि मात्र उनले ढुक्कको श्वास लिन सके।

असार २६ को साँझ सम्झिँदा २० वर्षीया शिला विचलित हुन्छिन्। न खानेकुराको ठेगान छ न त व्यवस्थित बसोबास। सेनाले बनाइदिएको जस्ताको टहरामा अस्वस्थ शरीर लिएर आ श्रय लिइरहेकी छन्। उनको नवजात शिशु पनि बिरामी छ।

‘चिसो सिमेन्टमा बस्नुपरेको छ। घरबाट एकसरो कपडाबाहेक केही झिक्न पाइनँ’, उनले दुखेसो पोखिन्, ‘आलु र भात खाएर बसेको ६ दिन भइसक्यो। सुत्केरी ज्यान, म पनि बिरामी छु। बच्चालाई झाडापखाला र ज्वरोले छाडेको छैन।’

बाढी र पहिरोले गाउँ नै बिस्थापित भएपछि सुनसान बनेको माथिल्लो दमार गाउँ । 

इमान् ६ दिनपछि बुधबार घर फर्किए। घरपारिको डाँडामा टेन्ट गाड्दै गरेका उनले भने, ‘सधैं घर छाडेर कहाँ बस्नु ? मरे पनि बाँचे पनि अब गाउँमै बस्छु।’

दुईवर्षे छोरा च्यापेर घर छाडेकी सावित्री घलान र उनको बच्चा पनि बिरामी छ। ‘झुलको व्यवस्था छैन, चिसो भुइँ, धमिलो पानीले बिरामी भयौं’, उनले भनिन्, ‘अन्त जाने ठाउँ छैन, घर फर्कौं भने कति खेर फेरि पहिरो र बाढी आउने हो थाहा छैन।’

माथिल्लो दमारकै सानुमाया घलान बुधबार हस्याङफस्याङ गर्दै घर फर्किंदै थिइन्। गाउँमा उनको घरगोठ त ठडिएकै थियो तर गाईबाख्रा सकुशल थिएनन्। ‘मध्यरातमा गोठमा भएको घाँसपात हालेर गाईवस्तु छाडेर हिँडेको यत्रो दिनसम्म के खाएर बाँचोस्’, उनले भनिन्, ‘तीनवटा बाख्रा मरिसकेछन्।’ मायाको परिवारका १० सदस्य भने भीमफेदी र हेटौंडामा आफन्तको आ श्रय लिएका छन्।

भीमफेदी बजारस्थित सामुदायीक भवनमा नवजात शुशु र दुई वर्षे छोराका साथ भावविहल सिला तामाङ । 

गाउँ माथिको डाँडामा स्थानीयको विरोधका बीच सडक खनिएको थियो। ‘सडक खन्दा फालिएको माटो आएर गाउँलाई पुरेको हो’, स्थानीय विमला स्याङ्तानले भनिन्, ‘गाउँको पारिपट्टि खानीले उत्खनन् गर्दा पनि पहिरो आयो।’

बाबा माइन्स एन्ड सिनरल्स प्रालिले यहाँबाट चुनढुंगा उत्खनन् गर्दै आएको छ। सडक विभागले हेटौंडा-कुलेखानी-काठमाडौं सडकको वैकल्पिक मार्गका रूपमा भीमफेदीबाट सिस्नेरीसम्म सडक निर्माण गरिरहेको छ। ‘सडक निर्माण गर्दा गाउँपट्टि ड्याम नहालेर खानीतर्फ हालियो त्यही भएर गाउँमा खोला छिर्‍यो’, उनले भनिन्।

एकसरो कपडा च्यापेर थातथलो छाडेका वृद्धवृद्धालाई गाउँघरकै चिन्ता छ। ‘भर्खर साउन लाग्दै छ, गाउँमा फर्केर पनि अब यस्तै पानी पर्‍यो भने कसरी ज्यान बचाउनु ? ’, ६६ वर्षीय राममाया स्याङ्तानले भनिन्, ‘अब हामीलाई कतै सारिदिए हुन्थ्यो।’

बुधबार गाउँनजिकै गाउँपालिकाले उपलब्ध गराएको ठाउँमा टेण्ड हाल्दै स्थानीय युवाहरु । 

हात्तीसारस्थित सामुदायिक भवन र आफन्तकोमा बसिरहेका उनीहरूले झेलेको यो पीडा तेस्रो पटक हो। ‘२०५० र ५९ सालमा पनि घर छाडेर बाँचेकोे’, स्थानीय ७० वर्षीय बुद्धिमाया स्याङ्तानले भनिन्, ‘बर्खा लाग्यो कि आधा मन लिएर बाच्नुपर्छ। गाउँ फर्किंदा बाँच्ने आस छैन। बरु सरकारले अन्तै सारिदिए हुन्थ्यो।’

यहाँका २५ परिवारका ९२ जनाले गाउँ छाडेपछि बाढी र पहिरोले खण्डहर बन्दै गएको माथिल्लो दमार सुनसान छ। बस्तीमा पुनर्वास गराउने भन्दा अन्यत्र सार्न पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए। ‘त्यहाँ पुनर्वास गराउन लाखौं रुपैयाँ खर्च गर्नुभन्दा बस्तीलाई अन्यत्र सार्न प्रदेश र संघीय सरकारमा पहल गर्छौं’, उनले भने। भीमफेदी बजारबाट करिब साढे २ घण्टाको पैदल दुरीमा पुगिने माथिल्लो दमारमा तामाङ समुदायको मात्र बसोबास छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.