अनेरास्ववियूमा दुई खेमा

अनेरास्ववियूमा दुई खेमा

काठमाडौं : गठन भएको दुई महिना पनि नबित्दै सत्तारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूमा फाटो आएको छ। कार्य समितिले पूर्णता नपाउँदै संगठन दुई खेमामा विभाजित भएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीनिकट रहेका संगठनका संयोजक ऐन महरको समूह एकापट्टि छ। संगठनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालनिकटको अर्को समूह पनि सक्रिय छ। दुई खेमामा विभाजित भएकै कारण बिहीबार संगठनका संयोजक महरले गरेको पत्रकार सम्मेलनमा दाहाल–नेपाल समूहका कार्यकर्ता गएनन्।

महर पूर्वएमालेका तर्फबाट संयोजक बनेका हुन्। उनी विद्यार्थी संगठनका महासचिव थिए। संगठनको सह–संयोजक रञ्जित तामाङ छन्। उनी पूर्व माओवादीको विद्यार्थी संगठनका अध्यक्ष थिए। कक्षा ११ र १२ मा विद्यालय सञ्चालकले मनपरी लिएको शुल्क नियन्त्रण गर्नुपर्ने, गरिब विद्यार्थीलाई दिइने छात्रवृत्तिलाई पारदर्शी बनाउनुपर्ने, विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्नुपर्नेलगायत विषयमा बिहीबार बागबजारको हार्दिक होटलमा पत्रकार सम्मेलन गरिएको थियो।

तामाङ अहिले ब्राजिल भ्रमणमा छन्। एउटा समूहले सह–संयोजक पनि आएपछि समग्र शैक्षिक मुद्दा समेटेर कार्यक्रम गर्ने सुझाव महरलाई दिएका थिए। ‘रञ्जित जीसँग ब्राजिलबाटै कुरा हुँदा पनि आजको कार्यक्रम १÷२ दिन पर सारौं भन्नुभएको थियो। यही कुरा महरजीलाई पनि भनिएको थियो। तर मान्नुभएन’, पूर्वमाओवादी निकट विद्यार्थी संगठनका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘हामीले समग्र शैक्षिक मुद्दा समेटेर अभियान नै चलाऔं भनेका थियौं। तर महरजीले मान्नुभएन। आज अकस्मात पत्रकार सम्मेलन पो गर्नुभएछ।’

तामाङ साउन ५ गते फर्कंदैछन्। तर २ साताअघि महर चीन भ्रमणमा रहँदा तामाङ समूहले पनि बैठक नबसी शुल्क समायोजनलगायत समसामयिक शैक्षिक मुद्दा सम्बोधनको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए।

त्यतिखेर पनि तामाङले आफूखुसी ज्ञापनपत्र बुझाएको भन्दै ओलीनिकट सदस्यले असन्तुष्टि जनाएका थिए। संयोजक महरले भने बिहीबारको पत्रकार सम्मेलनमा अनुपस्थितहरू बुधबारको बैठकमा भने आएको बताए। ‘बैठकको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा उहाँहरू किन आउनुभएन मलाई थाहा भएन। यसलाई ठूलो मुद्दा बनाउनुपर्दैन।’

बुधबारको बैठकमा अनेरास्ववियूका पूर्वअध्यक्ष माधव ढुंगेल र अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष रमेश मल्ल पनि सहभागी भएकाले यसलाई विवाद मान्न नहुने महरले दाबी गरे। सोही विद्यार्थी संगठनमा माधव नेपालनिकट मानिने सुदेश पराजुलीले पनि महर समूहले आफूखुसी निर्णय गरेकाले सहभागी नभएको आरोप लगाए।

संगठनले कक्षा ११ र १२ को भर्ना तथा पढाइमा मनलाग्दी लिएको शुल्क नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्दा भागबन्डा गर्ने प्रवृत्ति अन्त्य गरी खुला प्रतिस्पर्धा अपनाउन पनि माग गरिएको पूर्वएमाले निकट अनेरास्ववियूकी उपाध्यक्ष सुनिता बरालले बताइन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.