किसानलाई ठगेर कम्पनी फरार
बेनी : एसोसिएसन अफ एग्रिकल्चर नेपाल (आन) नामको कम्पनीले बीउ र बिरुवा वितरण गर्ने बहानामा म्याग्दीका कृषकहरूलाई लाखौ रुपैयाँ ठगेर फरार भएको छ। सित्तैंमा बीउ, बिरुवा, अनुदानमा कृषि औजार, पशुपालकलाई निब्र्याजी अनुदानको आश्वासन दिएर समूह बनाई सदस्यबाट लाखौं उठाएपछि कम्पनीका कर्मचारी कार्यालय बन्द गरेर फरार भएका छन्।
करिब एक वर्षअघि २ हजार रुपैयाँ बुझाएर कम्पनीको सदस्य बनेका बेनी नगरपालिका–२ बगरफाँटका क्षेत्रबहादुर कटुवालले बेनीस्थित कार्यालय बन्द गरेर कर्मचारी भागेपछि जिल्ला प्रहरी कार्यालयमा कम्पनीविरुद्ध उजुरी गरेको बताए। ‘तरकारीका बीउ र फलफूलका बिरुवा घरघरमै ल्याएर निःशुल्क बाँड्छौं, ढुवानी खर्च मात्र दिए हुन्छ भनेर २ हजार रुपैयाँका दरले उठाएका थिए’, उनले भने, ‘बीउ पाइएन साथमा पैसा पनि गयो।’
कम्पनीको बेनीस्थित शाखा कार्यालयका कर्मचारी बिष्णु धरलाले वैशाख पहिलो साता दिएको जानकारीअनुसार बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका १ हजार ४२ जना किसान आबद्ध भएका थिए। कम्पनीले उनीहरूबाट २० लाखभन्दा बढी रकम संकलन गरेको थियो। एसोसिएसन अफ एग्रिकल्चर नेपाल कम्पनीको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा छ।
गत माघमा २ हजार बुझाएर सदस्य बनेका बगरफाँटका भीमबहादुर रिजालले सिमी, काँक्रो र बोडीको एक÷एक वटा मिनीकिट र ५ किलो आलुको बीउ मात्र पाएको बताए। कम्पनीले बजार मूल्यभन्दा बढी भाउ असुलेको र आफूले तिरेको रकमअनुसार सामान नदिएको खबराका किसान चन्द्रबहादुर घिमिरेले बताए।
पैसा उठाएर लगे पनि बीउ र बिरुवा वितरण नगर्दा किसान मर्कामा परेको बेनी नगरपालिका–५ फुर्केसल्लाका मुक्ति खड्काले बताए। कम्पनीका सबै कर्मचारी एक महिनायता कार्यालय बन्द गरेर भागेको पीडित कृषकले बताएका छन्। कम्पनीले पहिलो चरणमा ५ सय र बीउ उपलब्ध गराएपछि १० वर्षसम्मको अग्रिम शुल्क १ हजार ५ सय रुपैयाँका दरले संकलन गरेको थियो। समूह बनाउन र कृषकबाट पैसा उठाउन कम्पनीले स्थानीय युवा परिचालन गरेको थियो।
‘कृषकले एकैपटक सबै बीउ, बिरुवा खोज्नुभएको होला। हामीले १० वर्षको अवधिमा मौसमअनुसारका बीउ, बिरुवा उपलब्ध गराउन ढुवानी शुल्क अग्रिम लिएका हौं’, धरलाले भनेकी थिइन्, ‘मागका आधारमा मौसमअनुसार फलफूल र तरकारीका बिरुवा उपलब्ध गराउँछौं।’ कम्पनीको कार्यालय पुग्दा बन्द थियो भने कर्मचारीको मोबाइलमा सम्र्पक हुन सकेन। ५८ जिल्लामा सञ्चालित कार्यक्रमअन्तर्गत पशुपालक कृषकलाई पहिलो पटक २५ हजार रुपैयाँसम्म निब्र्याजी ऋण उलब्ध गराउने आश्वासन कम्पनीका कर्मचारीले दिएका थिए।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर कटुवालले कृषकलाई प्रलोभनमा पारेर कम्पनीले ठगेको बताए। ‘जिससमा आएका कर्मचारी र सञ्चालकलाई यस्तो ठगीधन्दा नगर्नुहोस् भनेर डेढ वर्ष पहिले नै फर्काएका थियौं’, केसीले भने, ‘तर कृषकहरूलाई ठगेछन्, अहिले बल्ल थाहा भयो।’