ललित स्मृति फुटबल : पुलिस र ब्रिगेड फाइनलमा
काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब राजधानीमा जारी ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोमा बिहीबार भएको खेलमा पुलिसले जाउलाखेल युथ क्लबलाई ३-१ गोलले पराजित गर्यो। पुलिसलाई जित दिलाउन सञ्जु सेनले दुई गोल गरे। यस्तै रविन राईले पनि एक गोल गरे। जाउलाखेलका लागि कप्तान शीर्षकभक्त श्रेष्ठले एक गोल फर्काए।
पुलिस पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो। पुलिसले अब उपाधिका लागि साविक विजेता ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार नै भएको खेलमा ब्रिगेडले मनाङ मस्र्याङ्दी क्लबलाई ७-१ गोलको भारी अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
ब्रिगेडलाई जित दिलाउन रेजिन सुब्बाले ह्याट्रिक गरे। उनले खेलको ३०, ७१ र ८८औं मिनेटमा गोल गरेका थिए। यसैगरी शिशिर लेखीले दुई गोल गर्दा जय गुरुङ र वृजेश चौधरीले एक÷एक गोल गरे। मनाङका सचिन गुरुङले सान्त्वना गोल फर्काए। प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाद्वारा आयोजित प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले भाग लिएका थिए। सहभागी क्लबलाई तीन समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईएको थियो। प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट विधाका खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ।