दुर्घटनामा मृत्यु भएका वडाध्यक्षको परिवारलाई गाउँपालिकाले ११ लाख दिने
बैतडी : मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष कलशबहादुर चन्दको परिवारलाई गाउँपालिकाले ११ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । किरिया खर्च वापत १ लाख भने तत्काल उपलब्ध गराउने भएको छ ।
गाउँ कार्यपालिकाको शुक्रबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै किरिया खर्च तत्काल उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।
यस्तै परिवारिक भरणपोषणका लागि १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ । अध्यक्ष चन्दको निधनले गाउँपालिकालाई अपूरणीय क्षति भएको र उनको योगदानको गाउँपालिकाले सधैँ सम्मान गर्ने पनि गाउँपालिका अध्यक्ष विष्टले बताए । कलशबहादुर चन्दको शुक्रबार पाटनको तिपडाघाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।