गायक गायिकालाई छपक्क लाग्यो तीज

गायक गायिकालाई छपक्क लाग्यो तीज

काठमाडौं : यस वर्षको तीज भदौ १६ मा परेको छ। तीज आउन अझै डेढ महिना बाँकी छ। तर, हाम्रा गायक गायिकालाई भने तीजले छपक्कै छोइसकेको छ। अहिले युट्युबमा धमाधम तीजको गीत अपलोड भइरहेका छन्।

तीज नेपाली महिलाको पीरव्यथा पोख्ने चाड हो, त्यो पनि गीतको भाकामा। यस्तो मौकालाई गायकले नभजाउने कुरै भएन। अघिपछि घरको इज्जत जाला कि भनेर सासले मात्र कुरा गर्ने दिदीबहिनी आफूलाई रोक्न खोज्दाखोज्दै सासूससुराको वचन गीतमार्फत पोखिहाल्छन्।

पछिल्लो समय तीजका गीतमा महिलाको पीडा पोख्ने भाका फेरिँदै गएका छन्। यो चाडमा कोभन्दा को सुन्दरी हुने होडबाजी पनि देखिन्छ। छड्के तिलहरीलगायत गहनाले झपक्कै छोपिएर रातो साडी लर्काएर हिँड्ने दिदीबहिनीको भीडले गाउँसहर राताम्मे देखिन्छ। गायिका गायत्री थापाको लरम्मै जीउ मेरो बोलको तीज गीतमा धेरैले आफ्नै सपना देख्ने दाबी गर्दै हाँक दिइएको छ, ‘मलाई कसले भन्छ नराम्री हेर्छु म पनि, मेरो सर्लक्कै परेको जीउ छ राम्रो।’

दिदीबहिनीको पीडा पोख्ने चाड भएकाले पहिले तीजको भाकामा गायिकाको मात्रै स्वर गुञ्जिन्थ्यो। तर अहिले गायक, गायिकाको संयुक्त स्वरका गीतले बजार लिएको छ। तीज गीत अहिले सुन्नेभन्दा हेर्ने गीतका रूपमा प्राथमिकतामा परेको देखिन्छ। त्यसैले, गायक आफूले गाएको गीतमा आफैं प्रमुख भूमिकामा त देखिन्छन् नै। साथै, हास्य कलाकारले पनि युट्युबमा अपलोड गर्न बनाइएको तीज गीतमा प्रशस्त भूमिका पाउने गरेका छन्।

गायक पशुपति शर्मा पनि प्रत्येक वर्ष तीजको अवसर छोप्न रुचाउँछन्। गत वर्ष उनको ‘लौरी हरायो’ बोलको गीतले ४७ लाख बढी भ्युअर्स पाएको थियो। यो बिहीबार मात्रै नयाँ तीज गीत ‘सुहायो चौपट्टै’ले युट्युबमा डाउनलोड गरेको तीन घण्टामै चार सय कमेन्ट पायो। शब्द लय पनि गायक शर्माकै रहेको गीतमा देवी घर्ती, राजु ढकाल, जस्मिता घर्तीले उनलाई स्वरमा साथ दिएका छन्। केटाले केटीलाई कपालको डोरी बाँट्न अनि केटीले केटालाई कपाल काट्न देखाएको घुर्की थिम बोकेको यो गीत लोकप्रिय हुनेमा गायक शर्मा आशावादी छन्।

गायक शर्मा आफूले तीज गीत गाउने क्रम घटाउँदै लगेको बताउँछन्। उनको परार साल एक दर्जन तीज गीत रिलिज भएकोमा गएको वर्ष पाँच वटा मात्रै रिलिज भए। यस वर्ष तीन वटा मात्रै तीज गीत ल्याउने उनको योजना छ। उनको बुझाइमा पहिले ह्वारह्वार्ती तीज गीत आउने गरेकोमा अब समग्रमै तीजका गीत उत्पादन कम हुने गरेको छ।

दिदीबहिनीको पीडा पोख्ने चाड भएकाले पहिले तीजको भाकामा गायिकाको मात्रै स्वर गुञ्जिन्थ्यो। तर अहिले गायक, गायिकाको संयुक्त स्वरका गीतले बजार लिएको छ।

प्रत्येक वर्ष फरकफरक खालको गीत पस्किने गरेकी गायिका लक्ष्मी आचार्यले यस वर्ष फुँगालेर माइती देश बोलको तीज रिलिज गरेकी छन्। विष्णु न्यौपानेको शब्द लय रहेको यस गीतको भिडियोमा गायिका आचार्य स्वयम् मुख्य भूमिकामा छिन्। माइतीमा छँदा घिउ खाएर मोटाएको अहिले भने जीउ सुकेर लौरीझैं भएको गीतको थिम छ। केही गल्ती गर्‍यो भने घरका सदस्य मौरीझैं भुनभुनाउने आरोप लगाइएको छ।

विगत १४ वर्षदेखि तीज गीत पस्किँदै आएकी गायिका राधिका हमाल यस वर्ष पनि ‘जीवनसाथी’ र ‘भाग्यमानी’ तीज गीतको एल्बम ल्याउँदै छिन्। आफ्नो दुइटा एकल एल्बमबाहेक उनले अन्यका सात वटा तीज गीत पनि गाएकी छन्। ‘जीवनसाथी’ एल्बममा सासूसुसराले आमाबाबाले झैं माया गर्ने, आफ्ना जेठानी, देउरानी उस्तै मायालु रहेको थिम बोकेको गीत गाएकी छन्। उनले आफ्नो वास्तविक जिन्दगीमा पनि घरमा मायाको सुवास पाउने भएकाले आफ्नै लय, शब्दमा सकारात्मक सन्देश बोकेको गीत प्रस्तुत गरेको बताइन्।

आफ्नो ‘गलबन्दी’ क्यासेटमा गायक शम्भु राईको गीतको भाका कपी गरेको आरोपमा यस वर्ष निकै चर्चामा रहे गायक प्रकाश सपूत। उनले अञ्जली अधिकारीसँग ‘माइत गए पियारी’ बोलको तीजको गीत युट्युबमा अपलोड गरिसकेका छन्। लाहुरे रहेका श्रीमान्ले श्रीमतीलाई फोनमा माइती जान छुट त दिन्छ तर दुई दिनलाई पुग्ने घाँस काटेर, छिमेकीलाई घर हेर्न भनेर मात्र जानु भन्छ। उता श्रीमतीको भने आफ्नै व्यथा छ। माइतबाट भाइले लिनै आएन, त्यस माथि स्वामी राजा लाहुरे भएपछि कसरी पो तीजमा जानु ?

दुई साताअघि मात्र अपलोड गरिएको भनिएको कस्तुप पन्त र देवी घर्तीको स्वर रहेको बुहारीको चर्तिकला तीज गीतको भ्युअर्स चार लाख कटेका छन्। तर यो त गत वर्ष नै रिलिज गरिएको र पुनः दोहोर्‍याएर राखिएको गीत पो रहेछ। त्यसैले श्रोता सन्तोष सापकोटाले चेतावनी दिएका छन्, ‘पुरानो गीतलाई नयाँ भन्दै युट्युबमा हाल्ने परम्परा बन्द गरियोस्। चेतना भया।’

चर्चित गायक पशुपति शर्मा पनि पुरानो गीत नयाँ भन्दै युट्युबमा हालेका छन्। चार वर्ष पहिले ‘बुहारी सुत्केरी भइछे’ बोलको गीत रिलिज गरिएकोमा न्यु तीज गीत २०७६ भनेर उनले पुनः सोही गीत अपलोड गरेका छन्। पुराना तीज गीतलाई २०७६ सालमा रिलिज गरिएको झैं पुनः अपलोड गरिनुमा प्रस्तोताको गीतको भ्युअर्स बढोस् भन्ने लोभ रहेको देखिन्छ। गायक शर्मा भन्छन्, ‘पुराना गीतलाई नयाँ भन्दै अपलोड गर्ने काम गीत उत्पादन गर्ने कम्पनीको हो। गीतको कपिराइट उनीहरूसँगै हुन्छ। यसमा गायकलाई मुछ्नु हुन्न।’ उनले फेसबुकमा पनि यसबारे सफाइ दिइसकेको जानकारी दिए।

कोही वर्षअघि गायिका कोमल ओलीले ‘हे शिव यसपालिको तीजमा पोइल जान पाम’ गीत गाएपछि त्यसको प्रत्युत्तरमा ‘पोइल जान पाम भन्नेलाई मैले ल्याउन पाम’ बोलको गीत आएपछि तीजका गीत उत्ताउलो हुँदै गएको देखिएको थियो। गायिका ओली सांसद भएपछि गायन केही कम भएको छ। तर व्यस्त समयका बाबजुद पनि उनी यस वर्ष पनि ‘छड्के तिलहरी’ बोलको तीज गीतको कोसेली लिएर आएकी छन्।

तीज गीतका पारखी रामनाथ दाहाल भन्छन्, ‘प्रायः तीजको मौलिकता सकिँदै गएकाले अब तीज गीत नयाँनयाँ लेख्ने कामभन्दा यसको मौलिक पक्षको अध्ययन गरे राम्रो।’ समिरा शर्मालाई पनि तीजका गीत नयाँ भन्दा पुरानै राम्रो लाग्छ।

खुमन अधिकारी र सुशीला गौतमको यो वर्षको तीज गीत लेउ लायो शुक्रबार सार्वजनिक भएको छ। भिडियोमा जेम्स र सुशीला साथै खुमनले समेत अभिनय गरेका छन्। भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन्। यस्तै अर्की गायिका सिर्जना खत्रीले पनि तीजका लागि गीत ल्याएकी छन्। उनले पनि म्युजिक भिडियोसहित तीजको कोसेली ल्याउन लागेकी हुन्। 

यस्तै गायक भोजराज विककाे ‘हंगामा मच्चायो’ बोलको तीज गीत सार्वजनिक भएको छ। गीतमा भोजराज विक र सुजाता विकको स्वर छ ।  भिडियोमा आयुस्मा कार्की र समीर थोकरले अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.