सीडीओ कार्यालयमा स्तनपान कक्ष

सीडीओ कार्यालयमा स्तनपान कक्ष

परासी : पश्चिम नवलपरासी प्रशासन कार्यालयले स्तनपान कक्ष स्थापना गरेको छ। बच्चा ल्याएर कार्यालयमा आउने महिला सेवाग्राही र कर्मचारीको सहजताका लागि स्तनपान कक्ष स्थापना गरिएको कार्यालयले जनाएको छ। कक्ष निर्माण भएपछि बच्चा साथमा लिएर आउने सेवाग्राहीलाई स्तनपान गराउन सहज भएको छ।

शुक्रबार राहदानी बनाउन आएकी बर्दघाट नगरपालिकाकी शारदा थापा मगरले स्तनपान कक्षले कार्यालयमा सेवा लिन सहज भएको बताइन्। ‘काम हुँदै गर्दा बच्चा भोकाएर चिथोर्न थाल्यो, यसअघि त कतिपटक आधा काम गराएर घर फर्केकी छु,’ उनले भनिन्, ‘यसपटक भने कार्यालयमै स्तनपान कक्ष रहेछ, म जस्तै बच्चा लिएर सेवा लिन आउने महिलालाई सहज हुनेभयो।’

डेढ वर्षिय छोरा काखमा बसेर रुँदै थिए। थापाको छातिमा बच्चाले पटक पटक चिथोरेर हैरानी बनाएका थिए। बच्चा भोकाएर हैरानी पार्दै रोएको थापाले बुझेकी थिइन्। तर सेवाग्राहीको चाप भएकाले बच्चालाई स्तनपान गराउन उनले असहज मानेको सहजै बुझ्न सकिन्थ्यो।

नागरिकता र राहदानी फाँट वरपर रहेकी कार्यालय सहयोगी शारदा सापकोटाले आमाले स्तनपान गराउन खोजेपनि भिडभाड भएकाले असहज मानेको बुझिन्। थापा नजिकै पुगेर कार्यालय सहयोगी सापकोटाले स्तनपान कक्ष देखाउँदै भनिन् ‘भित्र गएर बच्चालाई दूध खुवाउनुस्।’ सापकोटाको मुखमा हेर्दे मन्द हाँसो लिएर थापा स्तनपान कक्षतर्फ गईन।

तर धेरैलाई भने स्तनपान कक्षको बारेमा जानकारी छैन। कक्षबारे जानकारी दिन स–साना बच्चा लिएर आउने महिलाहरुका लागि कार्यालय सहयोगी सारदा सापकोटा सहयोगी बनेकी छन्। बच्चा लिएर महिलाहरुलाई सापकोटाले स्तनपान कक्षतर्फ देखाउँदै भन्छिन् ‘बच्चाले दूध खान खोजे त्यहाँ भित्र गएर खुवाउनु होला है।’ स्तनपान कक्षभित्र एउटा टेबुल र पंखासहित चार जना बस्न मिल्ने कुर्ची राखिएको छ।

‘धेरै जना महिला दिदीबहिनीहरुलाई बच्चाले दूध खान मागेर हैरानी पार्ने गर्छन्। तर अप्ठ्यारो मानेर बच्चा रुवाउँदै राख्ने गरेका छन्। बच्चा लिएर आउने सबै महिलालाई मैले कक्षमा पुगेर स्तनपान गराउन भन्दै आएकी छु।’ कार्यालय सहयोगी सापकोटाले भनिन्। बच्चाले दुःख दिएपछि काम लिएर आउने केही महिलाहरुले फाँटभित्रै पुगेर स्तनपान गराउने गरेको प्रशासकीय अधिकृत ज्योतीराज अर्यालले बताए।

महिलाहरुले असहज माने पनि बच्चालाई कपडाले छोपेर बाध्य भएर कर्मचारीकै अगाडी स्तनपान गराउने गरेकाले उक्त समस्या हटाउन स्तनपान कक्ष निर्माण गरिएको अर्यालको भनाइ छ। 

जिल्लाका धेरैजसो कार्यालयहरु अपाङ्मैत्री छन्। तर स्तनपान कक्ष र अन्य सुविधा भने उपलव्ध छैन।

स्तनपान कक्ष निर्माण गर्ने कार्यालयमा जिल्ला प्रशासन जिल्लामै पहिलो बनेको कार्यालयले जनाएको छ। सेवाग्राहीले पाउने न्यूनतम सेवा सुविधालाई पूरा गर्न कार्यालय लागि परेको प्रमुख जिल्ला अधिकारी शंभुप्रसाद मरासिनीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.