पांग्रे भीरको पहिरोले एक सातादेखि मेची राजमार्ग अवरुद्ध
पाँचथर : मेची राजमार्ग चार दिनयता पहिरोले अवरुद्ध छ। फाल्गुनन्द-३ पांग्रे भीरमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसक्दा पूर्वी पहाडको जनजीवन प्रभावित बनेको छ। यो राजमार्गले पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रलाई तराई हुँदै काठमाडौंसम्म जोड्छ।
पहिरो झर्ने क्रम नरोकिएकाले सडकको अवरोध हटाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए। ‘तत्काल पहिरो पन्छाउने सम्भावना छैन’, उनले भने, ‘माथिबाट पहिरो झर्ने क्रम रोकिएको छैन।’
वैकल्पिक सडक नभएकाले जनजीवन अस्तव्यस्त बनेको हो। यस क्षेत्रमा खाद्यान्नको अभाव सुरु भएको छ। बुधबारदेखि मालवाहक सवारी साधन चल्न नसक्दा दैनिक उपभोग्य वस्तु आपूर्तिमा समस्या भएको हो। उपचारका लागि तराई झर्ने बिरामी बाटोमै अलपत्र परेका छन्। ‘एम्बुलेन्स र साना सवारी साधन सञ्चालन गर्न पहल भइरहेको छ’, उनले भने, ‘वैकल्पिक मार्ग बनाएर साना सवारी साधन सञ्चालन गर्ने तयारी छ।’
गुम्बाडाँडा पौवा, निबु खोला राँके ट्र्याक यसअघि नै खुलेको छ। त्यसलाई विस्तार गरी सडक सञ्चालन गर्न लागिएको हो। यो सडक सञ्चालनमा ल्याउन केही दिन लाग्ने देखिएको छ।
जिल्ला सदरमुकामभन्दा पनि ग्रामीण बजारमा समस्या सुरु भएको छ। फिदिमबाट सामान लैजानुपर्ने ग्रामीण बजार प्रभावित भएका हुन्। पहिरोका कारण ट्यांकर रोकिएपछि पेट्रोलियम पदार्थको अभावसमेत हुन थालेको छ।
एक सातादेखि लगातार पहिरो झरिरहेको छ। सडक दैनिक सफा गर्दै सवारी साधन सञ्चालन हुँदै आएको थियो। बाटो २ सय मिटरभन्दा बढी पुरिएको छ। बाटोभन्दा केही तल पैदल मार्ग खोलिए पनि लगातार ढुंगा झरिरहेका कारण पैदल मार्गसमेत जोखिपूर्ण छ।
पहिरोले अवरोध गरेपछि बिर्तामोडबाट फिदिमसहित ताप्लेजुङ तेह्रथुमको पूर्वी क्षेत्र हिँडेका यात्रु अलपत्र परेका छन्। पहिरो रोकिए पन्छाएर गाडी गुडाउने तयारी अवस्थामा मेसिन राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख जनक तिम्सिनाले बताए।
तरकारी कुहियो
हिलीहाङ र याङवरकबाट तराईका बजार लैजाँदै गरेका २२ गाडी टमाटर बाटोमै सड्ने अवस्थामा पुगेको छ। बुधबार राति पहिरोप्रभावित क्षेत्रमा पुगेका ती गाडी पास हुने सम्भावना नभएपछि समस्या भएको कृषक समूह महासंघका अध्यक्ष गणेश पोख्रेलले बताए।
टमाटर व्यवसायी नवराज उप्रेती, राजेश दाहाललगायतले बिक्रीका लागि झापा झार्दै थिए। २७ लाख मूल्यबराबरको टमाटर कुहिन थालेको हो। बोकेर पारि तार्ने अवस्थासम्म नरहेको व्यवसायी वीरेन्द्र काफ्लेले बताए।