बर्सेनि राप्तीको सास्ती
दाङ : लमही–८ स्थित धनपरुवा बस्ती राप्ती नदीका कारण वर्षौंदेखि डुबान र बाढीको चपेटामा छ। स्थानीयवासी हरेक बर्खामा घर छाडेर सुरक्षित स्थानमा सर्छन्। उनीहरू वर्षा सकिएपछि घर फर्किन्छन्। यो ठाउँको सुरक्षा र बस्ती व्यवस्थापन गर्न सरकारी निकायले ध्यान दिएको छैन।
यहाँ ८० घरपरिवार बसोबास गर्छन्। ७६ वर्षीय बुद्धिराम केसीले राप्तीको बाढी र डुबानले बस्ती समस्यामा परेको बताए। उनी धेरै पटक राप्तीको भेलमा बगे। स्थानीयले कठिनाइपूर्वक जीविका चलाइरहेको उनको भनाइ छ। ‘धेरै पटक बगेर पनि बाँचें। एकपटक त भैंसीको पुच्छर समातेर बचें’, उनले भने, ‘तर, त्यो समस्या हल भएको छैन। कसैले हाम्रो समस्या सुनेका छैनन्।’
उनका अनुसार घर, सम्पत्ति, जग्गा राप्तीको बाढीले सधैं लैजान्छ। ‘हामी भने बच्दै भाग्दै गरिरहेका छौ’, बाढीको पीडा उनले सुनाए, ‘एउटा सामान्य सुरक्षित पक्की घर भइदिएको भए केही राहत हुने थियो। खाद्यान्न उत्पादनमा उर्वर क्षेत्र छ। यो क्षेत्र छाडेर जान सकिँदैन। बाढीले पीडा दिन पनि छाडेको छैन।’ बाढीबाट बच्न हरेक वर्ष केही माथि जाने गरेको उनले बताए।
स्थानीय माघी चौधरीले असार लागेपछि रातभर जाग्राम बसाइ हुने बताइन्। ‘अन्नबाली सबै बाढीले लैजान्छ। हामीले बस्ती छाड्नुपर्ने हुन्छ’, उनले भनिन्, ‘बालबच्चा च्यापेर बाढी छिचोल्नु हाम्रो बाध्यता हो।’ सरकारले ध्यान दिए यो पीडाबाट मुक्ति पाउने उनको अपेक्षा छ।
लमही–८ स्थित धनपरुवा बस्ती, यहाँका बासिन्दालाई राप्ती नदीले बर्सेनि सताउने गरेको छ।
स्थानीय उर्मिला चौधरीको पनि बाढी पीडा उस्तै छ। बाढी आउँदा निस्किन नपाएको वर्ष सम्झिँदा उनलाई नमीठो लाग्छ। त्यसमा पनि ४–५ दिनसम्म भोकै बस्नुपरेको घटनाले जीउ सिरिंग हुन्छ। कैयन् पटक घरको धुरीमा बसेर ज्यान बचाएको उनले सुनाइन। ‘काठले बनाएको अट्वा र धुरीले बचाएको छ’, उनले भनिन्, ‘घर त पूरै हिलाम्य हुन्छ। न केही बचाउन सकिन्छ न त बच्छ नै।’ उनका अनुसार गाँवै डुब्छ। डुबान हँुदा सबैभन्दा बढी समस्या बालबालिका र वृद्धावृद्धलाई सुरक्षित बनाउनु रहेको उनले बताइन्।
राप्ती तटीय क्षेत्रमा रहेको बस्ती बाढीको पीडाबाट मुक्त हुन सकेको छैन। हरेक वर्ष घर छाडी सुरक्षित स्थानमा जाने र वर्षा सकिएपछि घर फर्किने गरेको स्थानीय लक्ष्मीप्रसाद चौधरीले बताए। सरकारले यसमा चासो नदिएको गुनासो उनले गरे। मन्त्री हुँदा खुमबहादुर खड्काले नदीको कटान रोक्न योजना ल्याएका थिए। ‘त्यसले नदीको कटान त रोक्यो तर बस्तीको पीडा रोक्न सकेन’, उनले भने, ‘त्यसपछि बस्तीका लागि कुनै योजना देखिएका छैन।’ सामान्य तटबन्ध, सुरक्षित स्थान र सुरक्षित घर भए आधा पीडा कम हुने उनको भनाइ छ।
दुई घण्टा मात्रै पानी परे पनि नदी बस्तीमा पस्छ। कैयन् पटक बालबालिका र वृद्धलाई बोकेर उच्च स्थान र माथिल्लो गाउँसम्म पु¥याएको अनुभव प्रायः स्थानीयसँग छ। ‘समस्या ज्यूँका त्यूँ छ’, उनले भने, ‘यसको समाधान कसरी खोज्ने भन्ने अभियानमै छौं।’ बाढीले सयौं बिघा जमिन कटान गरेको छ। कतिलाई त राप्तीले उठिवास लगाएको छ।
रेडक्रस सोसाइटी दाङले बाढी परियोजना लागू गरेको जनाएको छ। यो क्षेत्रमा विपद्पूर्व तयारी तथा बाढीपूर्व सूचना प्रणाली सबलीकरण परियोजना सञ्चालन गरिएको कर्मचारी प्रकाश डाँगीले बताए। स्थानीयमा बाढी सचेतना बढाउने, विपद्पूर्व तयारीबारे जानकारी दिने, पूर्वसूचना दिने प्रणालीको विकासमा समुदायलाई क्रियाशील बनाउने गरिएको उनको भनाइ छ।