पहिरोमा परिवार गुमाएका कुमारलाई गाउँपालिकाको राहत
भोजपुर : पहिरोमा श्रीमती र दुई छोरा गुमाएका रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङ तुन्ताङका कुमार राईको परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको छ। पीडित राईलाई गाउँपालिकाले जनही २५ हजारका दरले ७५ हजार र आवास निर्माणका लागि २० हजार गरी ९५ हजार राहत रकम हस्तारन्तरण गरेको हो।
प्राकृतिक विपदमा परिवार गुमाएका पीडितलाई सहयोगी भावनाले राहत रकमसहित पाल र खाद्यान्न हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष विजय राईले बताए। 'गुमेका परिवारलाई फर्काउन त सकिँदैन। तर पीडित परिवारलाई केही सान्त्वना मिलोस् भन्ने चाहना हो,' अध्यक्ष राईले भने, 'पीडित परिवारलाई अन्य निकायबाट पनि सहयोग तथा राहतका लागि पहल गरेका छौँ।'