बाल कथा : ढुकुमुकु ढुकुमुकु
‘ढाड चिलाएर मर्न आँटेँ, कन्याइदिनु न’, रोहण मामाछेउ पुगे। तराईबाट उनी पहाड पुगेका थिए। मावली घर पुगेका रोहण सधैं बुवा बा आमालाई कन्याइमाग्थे। हाटबजार जानु भएकाले आज उनले मामाको सहयोग मागेका थिए।
‘लु घोप्टो पर भाञ्जा, ढाड कन्याउन त मलाई मज्जाले आउँछ ’ एक्लो छोरो रोहण हरेक कुरामा बुवाआमालाई दंग्याउँथे। रोहण मामाको अगाडि आएर उभिए। मामाले काखमा घोप्टो पार्नुभयो।
मामा भाञ्जाको ढाडमा दुवै हात मुड्की (पाँचैं औंला कसिएको मुठी) पारेर हिर्काउँदै ‘ढुकुमुकु ढुकुमुकु...’ गर्न र भन्न थाल्नुभयो। रोहण रनक्क रिसाए, ‘मैले पिट्नु भनेको थेँ, कन्याइदिनु भनेको पो त।’
उनी फेरि घोप्टो परे। मामाले फेरि उसैगरी ‘ढुकुमुकु ढुकुमुकु कसको हात...? ’ भनेर गीतको शैलीमा भन्नुभयो। रमेशको ढाडको चिलाई मरेछ क्यार। उनी पनि जिस्कन थाले, ‘मामाको...।’
हात फेरियो। दृष्टिले बुवालाई इसारा गर्दै रमेशको ढाडमा ढुकुमुकु गर्न थालिन्। अब रोहणलाई पनि ढुकुमुकु गर्न मन लाग्यो। ‘दृष्टि अब तिमी घोप्टो पर तिम्रो ढाडमा दाजुले ढुकुमुकु गर्छ’, रोहण अघि सरे।
‘ढुकुमुकु ढुकुमुकु कसको हात...? ’ ‘राजाको।’
‘ढुकुमुकु ढुकुमुकु कसको हात...? ’ ‘रानीको।’
‘यी हात त मेरा पो हुन् त, के राजाको र रानीको गरिराको ? ’, रोहण झर्किए।
दृष्टिले सम्झाइन्, ‘ए दाजै, यो खेलमा यस्तै भनिन्छ क्या...।’
‘ए यो खेल पो हो ? जे भए पनि देशमा अहिले राजा रानी छैनन् क्यारे, त्यसैले यो हात मेरो हो। होइन तिमीले मसँग निहुँ खोजेको ? ’
ढुकुमुकु ढुकुमुकु खेलेको सुनेर र देखेर गाउँका केटाकेटी पनि आए। रोहणले रिस पोख्दै दृष्टिको ढाडमा मुठी बजारे, ‘ल अब भन त ढुकुमुकु ढुकुमुकु कसको हात ? ’ जुरुक्क उठेकी दृष्टि एक्कासि रुन थालिन्।
‘म त खेल्दिनँ, बिस्तारो पो हान्नुपर्छ। ढाड भाँचिने गरी मुठी बजार्ने हो ? ’ उनी भान्छातिर लागिन्। खेल्न आएका साथी अलमल परे। उनीहरूले दृष्टिको बुवालाई खेल्न कर गरे।
चारैजना लुक्न गए। वीणा भान्छा कोठाभित्र गइन्। विक्रम ढोका पछाडि लुके। वरुण बारीको कान्लामा छेलिए। बाटुलीले मामाकै पछाडि टुक्रुक्क बसेर गुन्द्रीले आफूलाई छोपिन्।
रोहण उसैगरी मामाको काखमा घोप्टो परे। मामा खेल्दा ढुकुमुकु गर्दै गीत गाउन थाल्नुभयो। ढुकुमुकु ढुकुमुकु कसको हात ? ढुकुमुकु...। जाँतोले पिस्दा नि भएन। ढिकीले कुट्ता नि भएन। छोडेँ है भोटे कुकुर...।
अब रोहण भोटे कुकुर बनेर जाऊ र साथीहरू खोज। जसलाई पहिले देख्छौ उसैलाई छोऊ। अनि उसलाई ढुकुमुकु गर्नुपर्छ। मामाले खेलको नियम सिकाउनु भयो।
नयाँ खेल र नयाँ ठाउँ भएकाले रोहणलाई लुकेका साथी खोज्न धौ–धौ पर्यो। उनले निकैबेरपछि मामाकै छेऊमा बाटुलीलाई देखे। भाग्न नपाउँदै हत्तपत्त छोए।
सबै मिलेर पालैपालो ढुकुमुकु खेल्न थालेपछि दृष्टि पनि मन थाम्न सकिनन्। सँगै खेल्न थालिन्। रोहणका बुवाआमा पनि आइपुग्नुभयो। ‘होइन, के गर्छन् हँ यी भुराभुरी (केटाकेटी) ? ’, बुवाले सोध्नुभयो।
रोहणले भने, ‘मामालाई ढाड कन्याई मागेको, ढुकुमुकु खेल्न पो जानेँ त बुवा।’ उनी जुरुक्क उठेर बुवाको पछाडि बसे। ‘ढुकुमुकु ढुकुमुकु कसको हात...? भन्नु त बुवा।’
‘रोहणको’, आमाले पनि रोहणको ढाडमा ढुकुमुकु गर्दै भन्नुभयो।
सबैजना एकअर्कालाई हेर्दै हाँस्न थाले।