दण्ड कति घातक
शारीरिक दण्डले भय सिर्जना गर्छ। कोमल बालमस्तिष्कमा भयले बास गर्यो भने उसले आफ्ना विचार व्यक्त गर्ने हिम्मत गर्दैन।
प्रेमनारायण भुसाल . बालबालिका चकचक गर्ने, एउटै कुरामा थोरै समय पनि केन्द्रित हुन नसक्ने चञ्चल प्रकृतिका हुन्छन्। उमेरको वृद्धिसँगै उनीहरूको चञ्चलता कम हुँदै जान्छ।
सानो छँदा निकै उट्पट्याङ काम गर्ने व्यक्ति प्रौढा अवस्थामा पुग्दा निकै शान्त, सहनशील र अन्तर्मुखी बनेका उदाहरणहरू पनि प्रशस्तै पाइन्छन्। सामान्यतया बाल्यावस्था र किशोरावस्थाका बालबालिकालाई सही मार्गनिर्देश गर्न तथा सभ्य र शिष्ट बनाउन गरिने काम निकै चुनौतीपूर्ण देखिन्छ। यस अवस्थामा बालबालिकाका मस्तिष्कमा परेको छाप अमिट हुने भएकाले भ्रमपूर्ण र गलत दृष्टिकोणको सिर्जना गर्ने किसिमका कामहरू शिक्षक तथा अभिभावकबाट कदापि गरिनु हुँदैन।
हाम्रो समाजमा ‘डर नभएको मानिस काम लाग्दैन’ भन्ने भनाइ प्रचलित छ। मानिसलाई आदर्श मानव बनाउनका लागि एक किसिमको मर्यादा र शिष्टताको सचेतनालाई डर शब्दले संकेत गरिएको भए पनि यथार्थ त्यस्तो छैन। घरमा आमासँग पुल्पुलिए पनि बाबासँग डराउनुपर्छ भन्ने मान्यताले धेरै कोमल बुबाहरू सन्तानप्रति कठोर बनेको अभिनय गर्दै जाँदा कालान्तरमा साँच्चिकै कठोर बन्न पुगेका हुन्छन्। यसका कारण सन्तानले ‘बाबा’ गुमाएका हुन्छन् भने ‘बाबा’ बात्सल्य प्रेम व्यक्त गर्न नपाएर अज्ञात छटपटीमा रुमल्लिएका हुन्छन्।
स्कुलमा शिक्षकलाई देखेर विद्यार्थी डराएनन् भने शिक्षकको मर्यादा नगरेको भानले गर्दा शिक्षकले शिक्षकत्व (सिकाउने गुण) गुमाएर नियन्त्रकको रूप ग्रहण गरेका हुन्छन्। आफ्नो ‘इगो’मा पुग्ने क्षति रोक्ने बहानामा आफ्ना कारण बालबालिकामा सिर्जना हुने डरलाई उपलब्धिका रूपमा लिएका हुन्छन्।
आजका बालबालिका यी सबै घटना र परिस्थितिबाट दोहोरो मारमा पर्दै गएका छन्। आफूले गरेका कामको नतिजाका कारण अन्य व्यक्तिलाई पर्ने असर, उसलाई हुने दुःख वा पीडालाई बुझेर गलत काम गर्नबाट पछि हट्ने प्रकृतिको डरको विकास हुनुको सट्टा प्रतिशोधी, निर्दयी र स्वार्थी मानसिकताको विकास हुँदै गएको देखिन्छ।
बालबालिकालाई सुधार्न शारीरिक दण्ड दिने अभिभावक अनि असल शिक्षक (जससँग विद्यार्थी डराउँछन्) बन्नका लागि दण्ड दिने शिक्षक वास्तवमा न त अभिभावक हुन सक्छन् न त शिक्षक। ती त मात्र बालबालिकालाई क्रूर बनाउने अनि कोमल बालबालिकाको हाँसो र खुसी खोस्ने अविवेकी प्राणी हुन्। नियन्त्रणका नाममा बालबालिकालाई त्रासपूर्ण वातावरणमा राख्नु उसको स्वाभाविक विकासमा बाधा पुर्याउनु हो। अझ शारीरिक दण्डमार्फत सुधारको अपेक्षा गर्नु त घरमा आगो झाँेसेर यति धेरै खरानी बनाएँ भनी गर्वले फुल्नु जस्तै हो।
शारीरिक दण्डले भय सिर्जना गर्छ। कोमल बालमस्तिष्कमा भयले बास गर्यो भने उसले आफ्ना विचार व्यक्त गर्ने हिम्मत गर्दैन। घरमा सजाय भोगेका व्यक्ति सबै प्रौढलाई शत्रुसमान ठान्दछ, जसका कारण ऊ शिक्षकलाई पनि विश्वास गर्दैन।
शिक्षकले झनै शारीरिक दण्ड दिएमा उसले आफ्ना कोमल मनका सुन्दर कोपिला मनमनै सडाउँदै जान्छ। मनै नफक्रिएपछि उसको जीवन फक्रिने त अवसर नै पाउँदैन। अन्ततः उसका अभिभावक र शिक्षकको भूमिका पूरा गर्ने, उसका कुरा सुन्ने र उसलाई कुरा सुनाउने अरू कोही नभएर उसकै दौंतरी बन्छन्। अपरिपक्व दौंतरीलाई मनको गुरु थापेपछि जीवनरथ बाटैबाटो गुड्छ भन्न सकिने अवस्था रहन्न। कुलत र दुव्र्यसनको मुख्य कारक यहीँ संगत र अपरिपक्व मार्गदर्शन बन्न जान्छ। यसरी आफूभन्दा ठूलाप्रतिको सम्मानको भावनाको अभाव वा नैतिक मूल्य मान्यताप्रतिको चरम अनास्थाको जन्म हुन्छ शारीरिक दण्डरूपी भय वा त्रासका कारण।
बालबालिकालाई भयमुक्त वातावरणमा हुर्काउन सक्नु आजका अभिभावक र शिक्षकको ठूलो कर्तव्य अनि सफलता हो। भयमुक्त भनेको छाडातन्त्र अवश्य होइन। बोलीपिच्छे वा कामैपिच्छे शारीरिक दण्ड दिने होइन कि त्यस कामको असर र प्रभावका बारेमा बालबालिकालाई बुझाउनु महत्त्वपूर्ण कुरा हो।
कक्षामा सिकाउने वा राम्रा उदाहरण दिने कामले मात्र बालबालिका सच्चिँदैनन्। उनीहरूले गल्ती गरेको बेला भनेको साँच्चिकै उनीहरूलाई सिकाउने उपयुक्त अवसर हो। यस अवसरलाई बुझ्नेले गल्ती र त्यसको असरबारे बालबालिकालाई सचेत पार्छ भने अर्काथरीले दण्ड दिएर अर्को गल्ती गर्नका लागि बालबालिकालाई बाध्य बनाउँछ। यसैले बालबालिकाले गर्ने त्रुटि निर्माणात्मक परीक्षा हो। बालबालिकाले गरेको गल्ती वा असावधानीका परिणाम बुझाइदिने राम्रो मौका हो। यस मौकालाई नबुझेर प्रौढ व्यक्ति नै कुटपिटमा उत्रिए त न त्रुटि सच्चिन्छ, न क्षति नै पूर्ति हुन्छ। यस्तो कुरामा हामी जिम्मेवार व्यक्तिहरूले सोच्नै पर्छ।
(भुसाल बूढानीलकण्ठ स्कुलका शिक्षक हुन्।)