पानी जमेको खाल्डोमा डुबेर तीन महिलाको ज्यान गयो
दाङ : दाङको घोराही उपमहानगरपालिकाको कुइने भन्ने ठाउँमा खाल्डोमा जमेको पानीमा डुबेर तीन जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा १६ वर्षीया अमृता विक, १९ झरना विक र १९ वर्षीया बसन्ता विक छन्।
खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएका तीन महिलाको बाटो छेउमा जमेको पानीमा डुबेर ज्यान गएको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए। घटना उपमहानगरपालिकाको वडा नम्बर १८ मा साँझ साढे ७ बजेतिर घटेको हो।
खाल्डोमा सुरुमा एक जना महिलाको हातखुट्टा धुने बेला डुबेको र उनीलाई तान्नेबेला अन्य दुई महिलाको समेत डुबेर ज्यान गएको प्रारम्भिक सूचना आएको पाण्डेले बताए।
ज्यान गुमाउनेहरूको शव घोराही ल्याइँदै छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।