सञ्चार उद्यमी धिताल हत्या : नौ वर्षसम्म अनुसन्धान मात्रै
दाङ : दाङका सञ्चार उद्यमी देविप्रसाद धिताल(हेमराज)को हत्या भएको नौ वर्ष पुग्दासमेत अनुसन्धानले सार्थकता पाउन सकेका छैन। नौ वर्षसम्म पनि न हत्यारा फेला परेका छन्, न त अनुसन्धान नै पूर्ण भएको छ।प्रहरीले हत्याको बास्तविकता र सत्य तथ्य पनि सार्वजनिक गर्न सकेको छैन।
राप्ती सञ्चार सेवा तथा रेडियो तुलसीपुर दाङका तत्कालीन अध्यक्ष धितालको २०६७ साउन ६ गते दाङको तुलसीपुर उपमहानगरपालिका १२ उरहरीमा गोली हानी हत्या गरिएको थियो।हत्या भएका धितालको अनुसन्धान सकिएको भनेर सार्वजनिक गरेको प्रहरीले अहिलेसम्म पनि फाइल अनुसन्धानमै राखेको बताएको छ।अनुसन्धानलाई सार्वजनिक गर्न सकेको छैन।
धिताल तत्कालीन फुलबारी गाविसबाट काम सकेर तुलसीपुर घर फर्कँदै थिए।उनलाई उरहरी ६ हेमनगरमा अज्ञात समुहले लखेटी–लखेटी गोली हानेर हत्या गरेका थिए। धितालको हत्या भए लगतै नेपाल प्रहरीको जिल्ला तथा केन्द्रले छुटा-छुटै समिति बनाएर अनुसन्धान थालेको थियो।अनुसन्धानकै क्रममा तथ्य फेला परेको भन्दै केही व्यक्तीलाई नियन्त्रणमा लिएको भए पनि अहिलेसम्म घटनाको यथार्थता बाहिर ल्याउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत तत्कालीन डिएसपी लक्ष्मण गिरीको संयोजकत्वमा गठन भएको अनुसन्धान समितिले १८ पेजको प्रतिवेदन जिल्ला प्रहरीलाई बुझाएको थियो।अनुसन्धान समितिले बुझाएको प्रतिवेदन प्रहरीले सार्वजनिक गरेन।
दाङ प्रहरीप्रमुख बेलबहादुर पाण्डेले धिताल हत्याको विषयमा प्रहरी निरन्तर अनुसन्धानमा रहेको बताए।उनले केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले फाइल र मिसिल अध्ययन, अनुसन्धान गरिरहेको हुँदा जिल्ला क्रियाशील नभएको बताए।अनुसन्धानका लागि सिआइबीको नयाँ टोलि गठन भएको र अध्ययन अनुसन्धानको प्रगति ढिलो चाडो सार्वजनिक हुने जिकिर उनले गरे।
'विभिन्न समयमा अनुसन्धान समिति नै गठन गरेर अनुसन्धान थालिएको छ', उनले भने, 'निष्कर्षमा पुगेका छैनौं, निष्कर्षमा पुगेपछि सत्य तथ्य बाहिर आउँछ ।'
नौ वर्षसम्म हत्याको बास्तविकता सार्वजनिक नभए पछि परिवार आक्रोशित बनेका छन्।धितालकी धर्मपत्नी मञ्चु धितालले पतिको हत्यामा संलग्नलाई सार्वजनिक गर्न र कानुनी कारवाही गरी परिवारलाई न्याय दिन आग्रह गरेकी छन्।
उनले प्रहरीको अनुसन्धान अहिलेसम्म सार्वजनिक नहुनुले पीडामा पीडा थपिएको बताइन्।रेडियो तुलसीपुरका महासचिव महेन्द्र लामिछानेले अध्यक्ष धितालको हत्याको सत्य तथ्य सार्वजनिक गरेर दोशीलाई कारवाही गर्न माग गरे।
अकोर्यापका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सञ्चार उद्यमीको हत्या भएको नौ वर्षसम्म पनि सत्य तथ्य बाहिर आउन नसक्नु दुखत भएको भन्दै तत्काल दोषी पहिचान गरी कानुनी कारवाहीमा लैजान माग गरे।उनले अहिलेसम्मको प्रगति मात्रै सार्वजनिक भए पनि केहि सन्तोष हुने अवस्था रहने भन्दै अनुसन्धानमा तदारुकता देखाउन प्रहरी प्रशासनलाई आग्रह समेत गरे।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले हत्याको अनुसन्धान भइरहेको र अनुसन्धानको फाइल सिआइवीले हेरिरहेको खवर आफुले पाएको बताए।हत्यारा नै पत्ता लागेको अवस्था छैन, अनुसन्धान भइरहेको छ प्रजिअ रिजालले भने।