गुठी प्रकरण : सम्पत्ति खोज्दै अभियन्ता

गुठी प्रकरण : सम्पत्ति खोज्दै अभियन्ता

काठमाडौं : गुठीको विवरण माग्दै सम्पदा अभियन्ताको टोली गुठी संस्थानको कार्यालय पुगेको छ। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको अगुवाइमा गएको टोलीले गुठीको सम्पूर्ण जग्गा, जमिन र सम्पत्तिको विवरण मागेको छ। समितिका संयोजक गणपतिलाल श्रेष्ठले गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र प्रशासक नारायण चौधरीलाई ज्ञापनपत्र बुझाउँदै विवरण माग गरेका छन्। संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘गुठीको जग्गासहितका चल–अचल सम्पत्तिको सम्पूर्ण विवरण गुठी संस्थानसँग माग गरिएको छ।’

०२९ सालमा गुठी संस्थानको नाममा रहेका राज गुठी र छुट गुठीको जग्गाको कित्ता नम्बर, क्षेत्रफल र कुल संख्याको विवरण मागिएको छ। ०२९ सालको गुठी संस्थानबाट संकलित रकम र खर्च, मालपोतमा राज गुठीको सम्पत्ति, छुट गुठी, निजी गुठीको विवरण, रैतानी नम्बरी जग्गा, गुठी नम्बरी जग्गा, ०२९ सालमा कुल सम्पत्ति, ०३३ सालको कुल सम्पत्ति, जग्गा घटेको, बढेको सम्पूर्ण विवरण माग गरिएको छ।

गुठीका प्रशासक नारायण चौधरीले विवरण संकलन भइरहेको जानकारी दिँदै विवरण छिट्टै उपलब्ध गराउने आश्वासन दिए। गुठी संस्थानका अध्यक्ष चौधरीले कार्यालयमा उपलब्ध भएको गुठीको सम्पत्तिको सम्पूर्ण विवरण समितिलाई बुझाउने प्रतिबद्धता व्यक्त गरे। संस्थानसँग ६९ जिल्लामा ५ लाख ६१ हजार ९ सय ९० रोपनी जग्गा पहाडमा र ६६ हजार ३ सय ३० बिघा जग्गा तराईमा रहेको विवरण छ। त्यो यकिन विवरण नभएको स्वयं गुठी संस्थान स्विकार्छ।

उनले ६९ वटा जिल्लामा गुठी रहेकाले त्यसको तथ्यांक संकलन गर्न भने केही समय लाग्ने स्पष्ट पारे।

गुठियारले पोखरीमा निर्माणाधीन विद्यालय भत्काएपछि

पचली भैरव गुठीको जग्गामा रहेको पोखरी मासेर विद्यालय बनाएको भन्दै गुठियारले निर्माणाधीन भवन भत्काइदिएका छन्। इँटा, रड विद्यालयभरि छरपष्ट छन्। पक्की संरचना बनाउन थालेपछि गुठियारको समूह नै विद्यालयमा प्रवेश गरेर बन्दै गरेको भवन तोडफोड र आगजानी गरेका हुन्। गुठियारले विद्यालय, महानगरपालिका र गुठी संस्थानलाई निर्माण रोक्न बराम्बर अनुरोध गर्दा सुनुवाइ नभएपछि भत्काउनुपरेको बताएका छन्। ‘पोखरी मासेर विद्यालयले पक्की संरचना बनाएपछि भत्काउनुपरेको हो,’ एक गुठियारले भने, ‘हामीले त स्कुल खेल्न मात्रै दिएका हौं, पक्की भवन बनाएर कब्जा गर्न त होइन नि !’

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले विद्यालयले जबर्जस्ती पोखरी मासेर संरचना बनाएपछि गुठियारले भत्काएको बताए। गुठीको जग्गा संरक्षण गर्ने अभिप्रायले संरचना भत्काएको उनको भनाइ छ। उनले गुठीको जग्गा अतिक्रमण तथा कब्जा गर्न कसैलाई नदिने बताए।

प्रधानाध्यापक दयाचन्द्र श्रेष्ठले गुठियार र संस्थानसँग छलफल गरेरै भवन निर्माण गरेको बताए। उनले आतंकवादी शैलीले निर्माणाधीन विद्यालय भवन भत्काएको आरोप लगाए। उनले भने, ‘दुई सय विद्यार्थी पढ्दै गरेको विद्यालय भत्काउनु सरासर अन्याय हो।’ पोखरी भन्दै भत्काएको ठाउँमा आफूले ३० वर्षदेखि काम गर्दा पोखरी नै नदेखेको उनले दाबी गरे।

 उनले भवन विद्यालयले बनाए पनि त्यसको स्वामित्व गुठीकै नाममा गरिदिने विषयमा विद्यालय तयार रहेको बताए। ‘नयाँ भवनको भाडा पनि जति सक्छौं, तिर्छौं, स्वामित्व पनि गुठीकै हुन्छ भनेर हामीले भनेका थियौं, उनले भने, ‘गुठी संस्थानसँग पनि कुरा भइरहेको थियो, गुठीले बनाउनु नै भनेको थियो, कुरा गर्दै काम गर्दै थियौं।’ विद्यालय भवन अभावका कारण नयाँ भवन बनाउनुपर्ने बाध्यता भएको बताए। उनले गुठियारका बालबच्चा सबै निजी स्कुलमा पढ्ने भएकाले उनीहरूलाई सरकारी विद्यालयको मोह नभएको दाबीसमेत गरे।

गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले लामो समयदेखि विद्यालयले भोगचलन गर्दै आए पनि पक्की संरचना बनाउन स्वीकृति नलिँदा समस्या भएको बताए। गुठियार र विद्यालय दुवै पक्षको कमजोरीका कारण क्षति भएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.