साउने सोमबारकाे राैनक : पशुपतिमा भक्तजनको घुइँचो
काठमाडौं : आज साउन महिनाको पहिलो सोमबार।बिहानैदेखि पशुपतिनाथ मन्दिर पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए।मन्दिरमा भक्तजन बिहान ३:३० बजेदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका छन्।
अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ। पहिलो लाम गौरीघाट-उमाकुण्ड-रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क-दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी-भुवनेश्वरी-शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान-चार वालय-पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड लागेको छ।
रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ। साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ। भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव ढकालले जानकारी दिए।
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताए।
यस वर्ष साउनमा चार वटा सोमबार परेको छ। साउन ६, १३, २० र २७ गते सोमबार परेको छ। पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँचवटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यता छ। विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ।रासस