७६ केजी जिम्बु र यार्सासहित १० जना पक्राउ
मुस्ताङ : जिल्ला प्रहरी कार्यालय मुस्ताङको कोवाङ प्रहरी चेक पोष्टले शनिबार दिउँसो सवारी चेकजाच गर्ने क्रममा ७६ केजी जिम्बु र १ सय ८९ पिस यार्सा गुम्बा नियन्त्रणमा लिएको छ। मुस्ताङबाट ग १ ख ६४७९ नम्बरको जीपबाट बेशीतर्फ लैजाँदै गर्दा सामानसहित १० जना पक्राउ परेका हुन्।
प्रहरीले विभिन्न रङको ४ वटा बोरामा प्याकेजिङ गरिएको जिम्बु र ३ वटा प्लाष्टिकको बट्टामा राखिएको यार्सा गुम्बा कब्जामा लिएको हो। जटिबुटीसहित पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान नगरपालिका ११ का साजन राई ,सन्तोष राई ,दिपक राई ,धनराज राई ,नविन राई , सागर राई, बिमल राई , प्रेम राई , अर्जुन राई र शिवराज राई छन् ।उनीहरुलाई कोवाङ प्रहरी चेकपोष्टले जिल्ला प्रहरीमा बुझाईएको र जिल्ला प्रहरीले एक्याप मुस्ताङलाई जिम्मा लगाएको सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए।
यता प्रहरीले जिम्मा लगाएको जिम्बु र यार्सासहित पक्राउ परेका १० जना व्यक्तिलाई आवश्यक कारवाहीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग , अन्नपूर्ण संरक्षणक्षेत्र संम्पर्क कार्यालय पोखरामा बुझाइने एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले बताए। अहिले पक्राउ परेका १० जनालाई एक्यापका प्रतिनिधि र सुरक्षाकर्मीले पोखरा लैजादै छन्।
जटिबुटी तथा बन पैदावारजन्य सामाग्री एक जिल्लाबाट अर्को जिल्ला लैजानको लागि अन्नपूर्ण संरक्षण आयोजना अन्तर्गतको संरक्षण व्यवस्थापन समितिको छोडपूर्जी आवश्यक पर्छ। छोडपूर्जी लिदा समितिले तोके बमोजिमको शुल्क तिनुपर्ने हुन्छ। मुस्ताङ जिल्ला संरक्षित जिल्ला भएकाले बिना अनुमती जटिबुटी तथा वनपैदावार ओसार पोसार गर्न पाइँदैन।
एक्याप प्रमुख दाहालका अनुसार उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार आवश्यक कारबाही अघि बढाइने छ।