संसदीय समिति सभापतिका लागि भारतीय दूतावासमा जलपान
काठमाडौं : प्रतिनिधिसभाका अन्तर्गतका संसदीय समिति सभापतिहरूलाई सोमबार विशेष जलपानका लागि भारतीय दूतावासले बोलाएको छ। सोमबार अपराह्न साढे ४ बजेका लागि समिति सभापतिलाई लैनचौरस्थित दूतावासको कार्यालयमा बोलाइएको हो।
एक समिति सभापतिका अनुसार करिब १० दिनअघि नै मोबाइलमा निम्ता पठाइएको थियो। ‘जुन २२ मा हाई टी (जलपान)का लागि आउनुहोला भनेर मेसेज आएको थियो’, ती सभापतिले भने, ‘राजदूतको स्वकीय सचिवले पनि निम्ता सम्झाउन जुन १८ मा फेरि फोन नै गरेर कन्फर्म गरेका थिए।
भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ 'रअ' का प्रमुख समान्तकुमार गोयलसहित केही सुरक्षा अधिकारीहरु नेपाल आएको अवसरमा दूतावासले परिचायात्मक जलपान राखेको हो। गोयलसहित पाँच जनाको टोली शनिबार बेलुका काठमाडौं आएको थियो। निम्ताको विषय र कारण नखुलाइएकोले केही सभापतिहरु दूतावास नजाने स्रोतले बतायो।
एकजना सभापतिले अन्नपूर्णसँग भने, ‘मोबाइल निम्ता मान्न म चाहिँ जाँदिनँ। बोलाउनसाथ जानुपर्छ भन्ने पनि छैन।’ प्रतिनिधिसभामा संसदीय सुनुवाइसहित एघारवटा विषयगत समिति छन्। केही सभापति उपत्यका बाहिर भएकोलले आफू सहभागी नहुने बताएका छन्।