कांग्रेसमा पैसाको आडमा अवसर लिने प्रवृत्ति हावी भयो : नेता महत
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पार्टीमा गुटबन्दी हावी हुँदा इमान्दार नेता कार्यकर्ता पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् ।
गुटबन्दीसँगै पैसाको आडमा राजनीतिक अवसर लिने प्रवृत्ति हावी भएको भन्दै यसले पार्टीलाई कमजोर बनाइरहेको उनको टिप्पणी थियो । कांग्रेसका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७औं स्मृति दिवसको अवसर बीपी कोइराला युवा नेतृत्व विकास प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेता महतले भने, ‘अहिले हाम्रो पार्टीमा गुटबन्दी गहिरिँदै गएको छ, त्यती मात्र नभएर पैसाको आडमा पार्टीमा अवसर लिने प्रवृत्ति पनि बढ्दैगएको छ । कांग्रेसलाई बलियो बनाउने हो भने गुटगत राजनीतिभन्दा माथि उठेर बीपीका आदर्श र आचरण अपनाउनुपर्छ ।’ उनले बीपीका आदर्श र तत्कालीन राजनीतिमा बीपीको योगदान बारे चर्चा गरेका गरेका थिए ।