तीन वर्षमा बन्नुपर्ने हुलाकी सडक ९ वर्ष हुँदा पनि पूरा भएन
धनगढी : हुलाकी राजमार्ग निर्माण सुरु भएको ९ वर्ष बित्यो। ३ वर्षभित्र सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०६६/०६७ बाट सुरु भएको यो राजमार्गअन्तर्गत कैलालीमा ७० किलोमिटर कालोपत्रे भएको छ। उक्त कालोपत्रे पनि भत्किएर खाल्डाखुल्डी परेका छन्।
धनगढीको क्याम्पस चोकदेखि फूलबारीको जिरो प्वाइन्टसम्मको क्षेत्रमा हिँडडुल गर्नै सर्वसाधारणलाई सकस हुने गरेको छ। हुलाकी सडकमा बनेका साना कल्भर्ट भत्किएर फलामे छड निस्कँदा सडकमा धराप बिछ्याए झैं भएको छ भने लम्की–खक्रौला सडकको अवस्था कच्ची सडक जस्तै बनेको छ।
कैलाली र कञ्चनपुरमा हुलाकी सडक अन्तर्गत १५८ किलोमिटर पर्दछ। हुलाकी सडक आयोजना कार्यालय धनगढीका अनुसार कैलालीमा भारत सरकारले नै ७० किलोमिटर कालोपत्रे गरेको हो।
नेपालले आफ्नै लगानीमा सुरु गरेपछि कालोपत्रे हुन सकेको छैन। ‘नेपाल सरकारको लगानीमा निर्माण सुरु भएपछि सडकको ट्र्याक नै खुलेको छैन’, हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले भने, ‘बसन्ता क्षेत्रमा रुख कटानीका लागि फाइल जिल्ला हुँदै मन्त्रालय पुगे पनि काम रोकिएको छ।’ यसले गर्दा आयोजनालाई काम गर्न समस्या भएको उनी बताउँछन्।
कञ्चनपुरमा ३ चरणमा ठेक्का सम्झौता गरेर हुलाकी सडकको काम भइरहेको छ । डोकेबजारदेखि बेलौरीको बुटाबारीसम्म २० किलोमिटर, बुटाबारीदेखि बेलडाँडीसम्म २० र बेलडाँडीदेखि दैजीसम्म २२ किलोमिटरको फरक–फरक निर्माण कम्पनीले काम गरिरहेका हुन्। त्यो सडकको ग्राभेल सम्पन्न भएको हुलाकी कार्यालयले जानकारी दिएको छ।
ट्र्याक खोल्न बाँकी रहेको कैलालीको बसन्ता जैविकमार्ग क्षेत्र।
‘कञ्चनपुरमा सडक निर्माणमा त्यस्तो ठूलो विवाद नआएकोले भदौ पछि कालोपत्रे गर्ने तयारी रहेको छ’ इन्जिनियर मडैले भने, ‘कात्तिक सम्म २० किलोमिटर सडक कालोपत्रे पुरा हुन्छ।’ शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र पर्ने १२ किलोमिटर सडकका रूख कटानमा एक वर्ष अल्झिएकाले ढिलाइ भएको उनले बताए।
भारत सरकारको १ अर्ब २६ करोड रुयैयाँ आर्थिक सहयोगमा भारतीय कम्पनी जीआर गाभरले आर्थिक वर्ष २०६६/०६७ बाट कैलाली धनगढीबाट हुलाकी सडकको निर्माण सुरु गरेको थियो। सडकको क्षेत्राधिकारमा विवाद देखिएका ठाउँमा काम गर्न नसकेर उक्त कम्पनीले हात झिकेपछि नेपाल सरकार आफैंले हुलाकी बनाउने निर्णय गरेको हो।
योजनाका इन्जिनियर मडैका अनुसार कैलालीको बसन्ता क्षेत्रमा पर्ने १८ किलोमिटर, धनगढीमा साढे ६ किलोमिटर र सत्तीदेखि बर्दिया जोड्ने साढे २ किलोमिटर निर्माण हुन बाँकी छ। लम्की–टीकापुर–खक्रौला जोड्ने २७.७ किलोमिटर हुलाकीको लिंक सडक, धनगढी क्याम्पस चोकदेखि बसन्ता तथा भजनी–टीकापुर खण्ड कालोपत्रे भइसकेको छ। ती सडकको अवस्थामा दयनीय रहेको छ।
नेपाल सरकार आफैले निर्माण गरिरहेको बाँकी खण्डमा निर्माणको कामले गति लिन सकेको छैन। सम्झौता अनुसार बसन्ता क्षेत्रको १८ किलोमिटर सडक गतफागुनमै निर्माण सम्पन्न भइसक्नु पर्ने हो। तर रुख कटानीको कानुनी अड्चनले त्यहाँ १६ किलोमिटर ट्र्याक खोल्ने काममात्रै भएको आयोजना प्रमुख रामपुकार जैसवालले बताए।