राजस्वको सिस्टम सधैं बिग्रन्छ
नयाँ बानेश्वरस्थित एक गल्लीमा रहेको सरकारी कार्यालय । सेवाग्राहीको ठेलमठेल । हातमा फाइल बोकेका सेवाग्राहीको लाइन ढोका बाहिरसम्म । साँघुरो गल्लीमा भाडाको घरमा सञ्चालित आन्तरिक राजस्व कार्यालयको दृश्य हो यो । कार्यालय समयअगाडि सेवाग्राहीको भीड लागिसकेको थियो । सोमबार बिहान १० बजे अन्नपूर्ण टोली कार्यालय पुग्दा सेवाग्राही आउने क्रम जारी थियो । कार्यालय नखुल्दै सेवाग्राही लाइन लागिसकेका थिए । कार्यालयको पहिलो तलामा रहेको स्थायी लेखा नम्बर (प्यान) लिने कोठामा छिर्न जोकोहीलाई हम्मे पथ्र्यो ।
ठेलमठेल गर्दै कोठाभित्र पसेका एक सेवाग्राहीले भने, ‘सास फेर्नै मुस्किल भो, न बस्ने ठाउँ छ, न व्यवस्थित लाइन ।’ भुइँतलामा राजस्व बुझाउनेको भीड पनि उत्तिकै थियो । राजस्व बुझाउन कार्यालय परिसरमा एक निजी बैंकको काउन्टर छ । कार्यालय साँगुरो ठाउँमा भएकाले पार्किङ असुविधा उस्तै । प्रमुख कर अधिकृत लालप्रसाद शर्मा पंगेनीले बस्नका लागि भुइँ तलामा कुर्सी भए पनि छिटो पालो आउँछ भनेर सेवाग्राही कोचाकोच गरेर बस्ने गरेको बताए । ‘तल कुर्सी छन् तर छिटो पालो आउँछ भनेर माथि भीड लगाउँछन्’, उनले भने, ‘भुइँतलामा कुर्सी खाली नै हुन्छन् ।’ सेवाग्राहीकै कारण भीड भएको उनको भनाइ छ ।
व्यक्तिगत प्यान लिनेको भीड
सरकारले साउनदेखि सबै कर्मचारीलाई व्यक्तिगत स्थायी लेखा नम्बर (पिप्यान) अनिवार्य गरेपछि राजस्व कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको हो । ‘साउन १ गतेबाट प्यान लिनको चाप बढेको छ’, प्रमुख कर अधिकृत पंगेनीले भने, ‘साउन मसान्तभित्र अन्तःशुल्क नवीकरण गरिसक्नुपर्ने भएकाले भीड बढेको हो । व्यवसायी तथा सामाजिक संघसंस्थाले साउनभित्र नवीकरण नगरेमा जरिबाना तिर्नुपर्ने प्रावधान छ ।’
पैसा तिरेर अनलाइन फाराम
व्यक्तिगत स्थायी लेखा नम्बरको फाराम ‘डिजिटल इन्ट्री’ गर्न कर्मचारी मान्दैनन् । दिउँसो तीन बजेतिर व्यक्तिगत प्यान लिन पुगेकी एक महिलाले फारम मागिन् । तर कर्मचारीले सुनेजस्तै गरेनन् । उनले पटक-पटक फाराम दिन भनेपछि कर्मचारीले अनलाइन भरेर आउन भने । ‘बाहिरबाट अनलाइन भरेर आउनुस्, यहाँ हुँदैन’, ती कर्मचारीले रुखो स्वरमा भने, ‘यहाँ फाराम भर्ने होइन ।’
ती महिलाले बाहिर अनलाइन फाराम भर्दा समस्या देखिएकाले आफूले लिखित फाराम भर्ने बताएपछि कर्मचारीले फाराम दिए । उनले फाराम भरिन् । डिजिटल इन्ट्रीका लागि दोस्रो तलामा रहेको कोठामा पुगिन् । तर त्यहाँ कर्मचारी थिएनन् । उनले नजिकै रहेका अर्का कर्मचारीलाई फाराम दिइन् । ती कर्मचारीले सिस्टम बिग्रिएको भन्दै काम नहुने जबाफ फर्काए । काम नभएपछि उनी कार्यालय छेउमै रहेको एक पसलमा पैसा तिरेर अनलाइन फाराम भर्न बाध्य भइन् । एक कर्मचारी भन्दै थिए, ‘सबैको अनलाइन कसरी भर्न सकिन्छ ? खुरुखुरु बाहिरबाट भरेर ल्याए त एकैछिन्मा काम भइहाल्छ नि ।’ बाहिर पसलेले फाराम भरेको १ सय ५० रुपैयाँ लिने गरेको छ ।
कार्यालयभित्र निजी स्टेसनरी
कार्यालय हाताभित्र एउटा स्टेसनरी पसल छ । कार्यालय छिर्दा छिर्दै माथिल्लो तला चढ्ने सिँडीको छेउमा दीपिका स्टेसनरी छ । त्यहाँ फोटोकपी सेवा छ । आवश्यक टिकट पनि त्यही स्टेसनरीले बेच्ने गरेको छ । आवश्यक फाइल त्यहींबाट बिक्री हुने गरेको छ । कार्यालय प्रमुख पंगेनीले सजिलोका लागि त्यहाँ टिकट र खाता बिक्री कार्यालय मुखैमा राख्न दिएको स्वीकार गरे ।
पार्किङ अभाव
साघुँरो कार्यालय भएकाले पार्किङको समस्या छ । कार्यालय गल्लीबाट छिर्नुपर्छ । गल्लीबाट मोटरसाइकल गए पनि चारपांग्रे गाडी लान सक्ने अवस्था छैन । कार्यालयको भुइँतलामा रहेको पार्किङमा पनि थोरै मोटरसाइकल मात्र अटाउँछन् । प्रमुख कर अधिकृत पंगेनीले ठाउँ अभावमा पार्किङ समस्या रहेको स्वीकारे । बाहिर सडकमा राख्नुपर्ने भएकाले हेलमेट हराउने समस्या भएको एक सेवाग्राहीले बताए । सेवाग्राहीको भीड लाग्ने कार्यालयमा शौचालयको पनि उचित व्यवस्था छैन । प्रत्येक तलामा २ वटा भए पनि सेवाग्राहीको अनुपातमा शौचालय कम हुने गरेको छ ।
हातहातमा फाइल
सरकारले सरकारी कार्यालयलाई पेपरलेस भनेर घोषणा गरे पनि यो कार्यालयमा फाइल नै फाइल देखिन्थे । प्रमाणको कागजात अनिवार्य हुने भएकाले फाइलमा राखिएको प्रमुख कर अधिकृत पंगेनीको भनाइ छ । ‘प्रमाणका लागि कागजात राख्नैपर्छ’, उनले भने, ‘पहिला लेस पेपर अनि मात्रै पेपर लेस कुरा हुन्छ । त्यो तत्काल हुँदैन, समय लाग्छ ।’ प्रमुख कर अधिकृत पंगेनीले दैनिक १ सयभन्दा बढीले स्थायी लेखा नम्बर प्रमाणपत्र लिन गरेको बताए । यो कार्यालय काठमाडौं महानगर-१० र ३१ वडाको मात्रै हो । दुई वटा वडाको नियमित सेवा र व्यक्तिगत प्यान नम्बर भने जहाँसुकैका सेवाग्राहीलाई दिने गरेको उनको भनाइ छ ।
यो कार्यालयमा व्यक्तिगत स्थायी लेखा नम्बर, अन्तःशुल्क नवीकरण, आय कर र भ्याटको काम हुने गरेको छ । प्रक्रिया पूरा गरेर आउनेले फर्कनुपर्ने अवस्था नरहेको उनले दाबी गरे । ‘यो भीड हुने बेला हो । त्यसमाथि पी-प्यान थपिएकाले अत्यधिक भीड भएको हो’, उनले भने, ‘बानेश्वर ठूलो ठाउँ हो । कार्यालय साँघुरो छ’, उनले भने ।
२०६७ सालमा कार्यालय खुलेपछि २५ हजारले व्यक्तिगत स्थायी लेखा नम्बर लिइसकेका छन् भने २४ हजार ४ सयले व्यवसायी स्थायी नम्बर लिएका छन् । व्यवसायी लेखा नम्बरमध्ये मूल्य अभिवृद्धि कर दर्ता हुनेको संख्या ९ हजार ४ सय छ । उनले भने, ‘साउनदखि पी-प्यान लिनेको भीड लागेको छ, यहाँमात्रै होइन देशभर यस्तै अवस्था छ ।’
सेवाग्राहीले कार्यालय साँघुरो र सानो भएको गुनासो गरे । कार्यालयका लागि खुला ठाउँ खोजिरहे पनि नपाइएको कर अधिकृत पंगेनीले बताए । ‘कर्मचारी थपिएका छन् । सेवाग्राहीको पनि भीड बढेको छ’, उनले भने, ‘कार्यालय यो साँघुरो ठाउँबाट सार्न सकेका छैनौं ।’ आन्तरिक राजस्व कार्यालय बानेश्वरमा २० जना कर्मचारी कार्यरत छन् । करारमै ७÷८ जना छन् । कार्यालयमा नागरिक बडापत्र र भ्रष्टाचारविरुद्धको स्लोगन छ । बंैकिङ सेवा कार्यालयभित्रै भएकाले सहज भएको सेवाग्राहीको भनाइ छ ।