युवती प्रयोग गरी व्यवसायीलाई ब्ल्याकमेल, ४० लाख बार्गेनिङ

युवती प्रयोग गरी व्यवसायीलाई ब्ल्याकमेल, ४० लाख बार्गेनिङ

झापा : युवतीलाई प्रयोग गरेर (हनी ट्रयापिङ) व्यवसायीलाई बन्धक बनाई ४० लाख रुपैयाँ असुल गर्न खोज्ने गिरोहका चारजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ। बिर्तामोडका एकजना व्यवसायीलाई बन्धक बनाएर रकम असुल गर्न खोज्ने एक युवतीसहित चारजनालाई बिर्तामोड प्रहरीले सोमबार पक्राउ गरेको हो।

यस्तो छ घटना विवरण

असार २८ गते बिर्तामोडका नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट 'इमो' मा फोन आयो। दुबैबीच परिचय भयो। मिठो स्वरमा फोन गरेकी युवतीबाट ती व्यवसायी प्रभावित भइहाले।

यति सम्मकी उनी ती युवतीले भनेअनुसार काम गर्न थाले। व्यवसायीले आफैं ती युवतीलाई फोन गर्न थाले। मोबाइल नम्बरमा, इमो, भाइबर र ह्वाट्सएप चारैतिर उनीहरूको सम्पर्क भयो। उनीहरूबीच प्रेमका कुरा चले, यौनका विषयमा पनि उनीहरू खुले।

साउन १ गते युवतीले आफू बिर्तामोडको भद्रपुर रोड आइसकेको भन्दै व्यवसायीलाई भेट्ने इच्छा देखाएर  फोन गरिन्। युवतीले भेट्न बोलाएपछि व्यवसायी पनि उनले बताएको स्थानमा पुगे। १९/२० वर्षकी ती युवतीलाई भेट हुने बित्तिकै व्यवसायीले होटल जाने प्रस्ताव गरे। असुरक्षा हुने भन्दै युवतीले त्यो प्रस्ताव मानिनन्

भद्रपुर रोडमै साथीको कोठा भएकोले त्यहीँ जाने प्रस्ताव उनले राखिन्। व्यवसायी उनको प्रस्तावमा राजी भए। उनीहरू कोठामा पुग्दा त्यहाँ कोही थिएनन्। बेलुका ८ बजे उनीहरू ढोकामा चुक्कुल लगाएर बसेका थिए। यत्तिकैमा कसैले ढोका ढक्ढक्यायो।

ढोका खोल्नासाथ हातमा छुरा बोकेका दुईजना युवाले व्यवसायीलाई कुटपिट गर्न थाले। छुरा र प्लास्टिकको पेस्तोल देखाउँदै उनलाई कोठाभित्र बन्धक बनाइयो। नाटकीय ढंगबाट किशोरीलाई त्यहाँ रहेका मध्ये मिराज खान भन्ने युवाले बाहिर लगेर छोड्छन्। त्यतिबेलासम्म सञ्जु क्षेत्री भनिने सुजन शंकर र प्रकाश दासले उनको नाङ्गो फोटो र भिडियो तयार गरिसकेका हुन्छन्।

यसरी पुग्यो प्रहरीमा 

साउन ५ गतेसम्ममा ४० लाख रुपैंयाँ दिने शर्तमा व्यवसायीलाई त्यहाँबाट मुक्त गरिन्छ। यति गर्दा रातको १० बजेको हुन्छ। रकम जम्मा हुँदै गरे नगरेको बारेमा लगातार उनीहरूले ताकेता गरिरहेका हुन्छन्। पैसा नदिए ज्यान मार्ने धम्की समेत उनीहरूले दिएका हुन्छन्।

आफ्नै बेवकुफीबाट फसेका ती व्यवसायीको त्यति ठूलो रकम दिने अवस्था थिएन। उनले दुईवटा बाटो देखे- कि ज्यानको माया मार्ने कि प्रहरीलाई खबर गर्ने। उनले दोस्रो विकल्प रोजे।

व्यवसायीले इलाका प्रहरी कार्यालयमा घटनाको विस्तृत विवरण बताउँछन्। त्यसपछि प्रहरीले पीडितलाई जाहेरी दरखास्त दिन लगायो। र, भित्रभित्रै घटनामा संलग्नहरूको खोजी सुरु गर्‍यो।

पीडितलाई फोन आएका मोबाइलमा सम्पर्क गरेर साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका ४ घर भएका को मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगालको दार्जिलिङ थाना खोरिबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई प्रहरीले पक्राउ गर्‍यो।

त्यसलगत्तै ‘हनी ट्रयापिङ’ का लागि प्रयोग भएकी इलामको फाकफोकथुम गाउँपालिका १ घर भई बिर्तामोड नगरपालिका २ चारपाने बस्ने रीतु फियाक लिम्बुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गर्‍यो।

प्रहरीले उनीहरुबाट बा १५ च ७३३९ नम्बरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको सिलप्याक बोतल ३ थान, प्लास्टिकको नक्कली पेस्तोल, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको औषधी बरामद गरेको छ। पक्राउ परेकामाथि शरीर बन्धक बनाई अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाले बताए।

अभियुक्तहरूले संगठित अपराध गर्नका लागि बिर्तामोडस्थित भद्रपुर रोड कुमारी बैंक पश्चिमपट्टीको गल्लीभित्र एउटा घरको चारतला फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आइरहेको कुरा अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

राजधानी काठमाडौंमा सुनिँदै आएको यस प्रकारको संगठित अपराध पूर्वमा पहिलो पटक थाहा पाएको झापाका प्रहरी प्रवक्ता श्रेष्ठले बताए।

युवतीहरू प्रयोग गरी 'टार्गेट' (लक्षित) लाई माया जालमा पार्ने र त्यसपछि ब्ल्याकमेल गरी पैसा असुल्ने कामलाई ‘हनी ट्र्यापिङ’ भनिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.