राेपाइँ गर्न मल अभाव

राेपाइँ गर्न मल अभाव

विराटनगर : मोरङका किसान एकै सिजनमा खडेरी, बाढी र मल अभावको चपेटामा परेका छन्। रोपाइँ गर्ने समयमा खडेरीले धानको बिउ जोगाउन मुस्किल हुँदै रोपेको धानसमेत बाढीले बगाएपछि पुनः धान रोप्ने तयारीमा लाग्दा किसानलाई मल अभाव भएको छ।

धान रोप्ने सिजन सकिनै लाग्दासमेत मल नपाएको मोरङका किसानले गुनासो गरेका छन्। कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल वितरण गर्दै आएका कार्यालय तथा सहकारी संस्थामा बिहानैदेखि मल लिन लाइनमा बस्दासमेत मल नपाएको बखरीका विमल कामतले गुनासो गरे। ‘पहिले खडेरी पर्‍यो, त्यसपछि बाढी र अहिले धान रोप्न तयारी गर्दा मल छैन, अब मल बिना धान रोप्दा धान फल्दैन’, उनले भने। कृषि सामग्री कम्पनी लिमिटेडमा मलको लागि लाइनमा बस्ने किसानले मल नपाएर खाली हात घर फर्कने गरेको बताएका छन्।

लिमिटेडको मल बेच्ने डिलर बिराटनगरस्थित कदमहा कृषि सहकारी संस्थामा मलका लागि दैनिक किसान बिहानैदेखि धाउने भए पनि मल नहुँदा खाली हात फर्कनु परेको जाहदा गाउँपालिका–३ का गंगा मुखियाले बताए। मल वितरक संस्थाका सञ्चालकले आफू निकटलाई मात्र मल दिँदा आफूहरूले नपाएको उनको आरोप छ। किसानले युरिया र डीएपी मल कुनै पनि नपाएको बताएका छन्। ‘डीएपी छदै छैन, यरिया माग्दा भोलि आउनु भनेर फर्काए’, किसान मुखियाले भने।

मल अभावकै कारण धेरै किसानले खेत हिल्याए पनि धान रोपेका छैनन्। सुनसरीको सीतागंगाबाट मल लिन विराटनगर आएका ओम प्रकाश साहले बिहानैदेखि मलको खोजीमा दैडिए पनि मल वितरण गर्ने सहकारी संस्था समयमा नखुल्दा र खुले पनि मल नभएको भन्दै फर्काउँदा यो वर्ष खेत बाँझै हुने चिन्ताले सताएको बताए।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राजेन्द्रबहादुर कार्कीले डीएपीबाहेक सबै मल पर्याप्त रहेको बताए। प्रमुख कार्कीका अनुसार क्षेत्रीय कार्यालयमा चार हजार एक सय ८४ मेट्रिकटन युर्‍या मल मौज्दात रहेको छ भने धानबालीको लागि साढे सात हजार मल आउने क्रममा रहेको छ। कम्पनीमा हाल डीएपी मलको मौज्दात भने शून्य रहेको उनले बताए। किसानलाई भने धान रोप्ने समयमा डीएपी मलकै आवश्यकता पर्छ। अहिले डीएपी मल आउने सम्भावना नरहेको कृषि सामग्री लिमिटेडका सूचना अधिकारी नवरत्न गौतमले जानकारी दिए।

प्रदेश १ मा बर्खे धानखेतीका लागि रासायनिक मल डीएपी १५ मेट्रिकटन, युरिया १५ मेट्रिकटन र पोटास ७ सय मेट्रिक आवश्यक पर्छ। विराटनगरमा रहेको कृषि सामग्री लिमिटेडले प्रदेश १ सहित प्रदेश २ का सप्तरी र सिरहा जिल्लामा डीएपी बाहेक युरिया र पोटास मल मागअनुसार पठाउने गरेको छ भने प्रदेश १ मा इलाम, बिर्तामोड, सुनसरीको इटहरी, धनकुटा, गाईघाट, विराटनगरसहित प्रदेश २ का राजविराज, लाहानसहित आठ स्थानमा रहेको कम्पनीको कार्यालयले एक सय ७० वटा सहकारीमार्फत रसायनिक मल किसानलाई बिक्रीवितरण गरिँदै आएको छ।

गत वर्ष पनि हिउँदे बाली लगाउने समयमा कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ कर्पोरेसनले पर्याप्त मल आयात गर्न नसक्दा पूर्वमा मल अभाव भएको थियो। सिजनका बालीका लागि चाहिने डीएपी मल अभाव हुँदा कृषक मर्कामा पर्ने गरेका छन्। नेपालमा मल अभाव हुँदा किसानले भारतीय कमसल मल प्रयोग गर्दा उत्पादनमा समेत ह्रास आउने गरेको कृषक बताउँछन्। सरकारले ०५५ सालदेखि किसानलाई मलमा अनुदान दिँदै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.