साउनको फेसन : हरियो चुरा र मेहेन्दी
बेसीसहर : मर्स्याङ्दी गाउँपालिका– ९ सिम्पानीकी सम्झना थापाले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन्। बेसीसहर– १० की श्रीकला भण्डारी र सपना श्रेष्ठले चुरासँगै हातमा मेहन्दी लगाए। ससाना बालिका, युवती, अधबैंसे नारी हुन् या वृद्धा, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएका देखिन्छन्। साउन लागेलगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिला मन्दिर र बाटोघाटोमा देखिन्छन्।
पछिल्ला वर्षमा साना बालिका र किशोरीमा समेत मेहेन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्दो छ। धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेसनका रूपमा। खासगरी साउनको सोमबार शिवजीको व्रत बस्ने र पूजा गर्ने चलन भएकाले यो दिनलाई महत्त्वको रूपमा लिइन्छ।
बेसीसहरको एक चुरा पसलमा भेटिएकी कामना अधिकारीले हरियो चुरा लगाउँदा यही हुन्छ भन्ने थाहा नभएको बताइन्। आफ्नो नाडीको चुरा खेलाउँदै भनिन्, ‘खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ।’ हरियो चुरा लगाउँदा जीवनमा हरियाली छाउने विश्वास रहेको उनको भनाइ थियो।
कतिपयले हरियो चुरा लगाइसकेपछि चुकाउनु या फुटाउनु हुँदैन भनेर यो महिनाभर होसियारी अपनाउने गर्छन्। कहिल्यै हरियो चुरा नलगाउने नारीले समेत चुरा लगाएर बजाउँदै हिँड्दा खुब सुहाएको र रमाइलो लागेको बताए। नारीहरूमा यो महिना चुरा लगाउने सोख र होड चलेपछि चुरा पसले पनि मक्ख छन्। बेसीसहरस्थित शवनम फेन्सी एन्ड होससेलका प्रोप्राइटर शवनम मियाले मध्यअसारदेखि नै हरियो चुराको बिक्री बढेको बताए।
साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीक मानिन्छ। यसकारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मि श्रण गरी लगाउने चलन बसेको संस्कृतिविद् बताउँछन्।
चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहेन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहेन्दीको रङ राख्यो, उति नै बढी श्रीमान्को माया पाइन्छ भन्ने धार्मिक विश्वास गर्नेहरू पनि उत्तिकै छन्। मेहेन्दी लगाउने चलन चाहिँ छिमेकी देश भारतबाट भित्रिएको बताइन्छ।