लमजुङमा बाढीले तीनजनाको मृत्यु, दर्जन बढी बेपत्ता, हाइड्रोपावरमा ठूलो क्षति
बेंसीसहर : लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो अचानक बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ ।
बाढीले बगाउँदा तीनजनाको मृत्यु भएको छ । दर्जनौँ वेपत्ता छन् । दोर्दी गाउँपालिकाका ४ शेरापुलनजिकै दुईजना र वडा नम्बर ६ को कीर्तिपुरबेसीमा एकजनाको शव फेला परेको छ । उनीहरुको पहिचान हुन नसकेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । बाढीले अन्य धेरै जनधनको क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
स्थानीय धर्मराज गुरुङका अनुसार छोटेखोलाका कुमार लामाको ट्याक्टर र चालक बगाएको छ । चालकको परिचय खुलेको छैन । मनास्लु हिमाल काखबाट बगेको दोर्दीमा मुहान वरपर पहिरो चलेका कारण बाढी आएको स्थानीयले बताएका छन् ।
वडा नम्बर ६ ढोडेनी रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटरलगायत सामाग्री बगाएको प्रवद्र्धक केशव रायमाझीले बताए । बाढी पसेपछि टनेलमा पसेका १७ मजदुरको भने सकुसल उद्धार गरिएको उनले बताए ।
बाढीमा परी लिवर्टी इनर्जी पावर कम्पनीद्वारा प्रबद्र्धित २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’जलविद्युत आयोजनामा कार्यरत दर्जन बढी कामदार बेपत्ता छन् । साथै जलविद्युत आयोजनमा समेत ठूलो क्षति पुगेको छ ।
आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बाढीमा फसेका मजदुरको उद्धार भैरहेको बताए । ‘धेरै जना हराएका छन् । कतिको उद्धार गरिहेका छौँ’, वस्तीले भने, ‘कतिलाई बगायो या कतै लुकेका छन् जानकारी पाउन सकेका छैनौँ ।’
आयोजनाको भौतिक क्षतिको लेखाजोखा हुन नसकेको उनले बताए । दिउँसो ३ बजे बाढी आए पनि प्रशासनले उद्धारमा ढिलाइ गरेको उनको आरोप छ ।
बाढीले वितण्डा मच्चाएपछि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, डीएसपी रविन्द्रमान गुरुङ, प्रहरी निरीक्षक बसन्त पाण्डेसहतिको टोली साँझ ६ बजे मात्र घटनास्थल पुगेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । घटनाको सबै विवरण आइसकेको छैन ।