दुर्गन्ध र ढलले संसद् बैठक स्थगित

दुर्गन्ध र ढलले संसद् बैठक स्थगित

विराटनगर : वर्षासँगै संसद् भवनभित्र ढलको पानी पसेपछि प्रदेश १ को संसद् बैठक बुधबार स्थगन गरिएको छ। संसद् भवनमा ढलको पानी पसेर जलमग्न भएको थियो। शौचालयको हजमा समेत पानी भरिएर बैठकस्थलमै जमेका कारण प्रदेशसभा बैठक स्थगन गरिएको हो। सभामुखले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकले चौथो तथा बजेट अधिवेशनको २७ औं बैठक नबस्दै स्थगन गर्ने निर्णय गरेको हो।

बुधबार बिहानबाट वर्षा भइरहेका कारण यस्तो अवस्था आएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश १ मा संसद् सञ्चालन हुन थालेको १७ महिना भए पनि त्यसका लागि तत्कालीन जिल्ला विकास समितिको पुरानै भवन र संरचना प्रयोगमा ल्याइएको थियो। पुराना संरचनाको पनि उचित मर्मत सम्भार नहुँदा वर्षाका बेला ढल र शौचालयको हज भरिएको पानी छिरेर दुर्गन्ध फैलिएको थियो।

मूल ढोकाको पानी बैठक बस्ने समय दिउँसो १ बजेसम्म कायम रहेपछि बैठक स्थगन गरिएको हो। वर्षा केही मत्थर भएसँगै रोस्ट्रमअगाडिको पानी भने सुरक्षाकर्मी र मोटर प्रयोग गरेर सफा गरिएको थियो। ‘पानी मात्रै जमेको भए बैठक चल्ने थियो,’ सभामुख प्रदीपकुमार भण्डारीले भने, ‘तर हज नै भरिएर आएको पानीका कारण अत्यन्तै दुर्गन्ध फैलिएपछि स्थगन गर्नुपर्‍यो।’ बैठक स्थगन हुनुको मुख्य कारण फोहोर पानी र त्यसबाट फैलिएको दुर्गन्ध भएको उनले बताए। भने, ‘बैठकस्थलको उचित व्यवस्थापन तत्काल गर्न लागिपरेका छौं।’

सभामुख भण्डारीले प्राविधिकसँग सल्लाह लिएर स्टिमेट तयार पार्दै पानी भित्र पस्न नदिने गरी तत्काल व्यवस्थापन गरिने बताए। असार २६ बाट अविरल रुपमा भएको वर्षाका बेला पनि संसद् भवनमा पानी जमेको थियो। तर, त्यतिबेला दुर्गन्ध फैलिएको थिएन। गत वर्ष पनि यस्तै अवस्था आएको थियो। बारम्बार समस्या दोहोरिए पनि उचित व्यवस्थापन र संसद् भवनमा वर्षाको पानी पस्न नदिन प्राविधिक स्टिमेटसहितको कुनै काम नभएको सांसदहरूको गुनासो छ।

‘संसद् बैठकको अवस्था त यस्तो छ,’ प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने, ‘यत्रो वर्षा भएर जताततै डुबान र बाढीपहिरोको समस्या हुँदा जनता कसरी बसेका होलान् ? ’ उनले प्रदेशसभा बैठक चल्न थालेको लामो समयसम्म पनि संसद् भवनको सामान्य मर्मत गर्न नसकेको भन्दै सरकारप्रति कटाक्ष गरे।

बैठकमा सहभागी हुन सांसदहरू आएपछि बाढी र हजको पानी पसेर फोहोर भएका कारण स्थगन भयो भनेर सभामुखले जानकारी गराएको कोइरालाले बताए। ‘बाढी आएका बेला ढलको पानी र शौचालय भरिएर हजको पानी संसद् भवनमा पस्दा पनि व्यवस्थापनको कुनै काम हुन सकेको छैन भन्नु सरकारको लाचारीपन हो,’ उनले भने, ‘यसले सिंगो प्रदेशकै बद्नाम भएको छ।’ कोइरालाले संसद् भवनकै यस्तो अवस्था हुँदा बाढीसँगै बगेका र भाँचिएका पुल, बगेका बाटा तथा जनताको घर कहिले बन्लान् भनेर प्रश्न पनि गरे।

लामो समयसम्म कुनै मतलव नगरिएको अवस्थामा अबको एक सातामा बन्छ भनेर सभामुखले भने पनि आफूलाई विश्वास नगलागेको कोइरालाले बताए। यसले प्रदेश सरकार कसरी चलिरहेको छ भन्ने प्रस्ट हुने उनको भनाइ छ। बैठक साउन १९ गतेसम्मका लागि स्थगन गरिएको छ। बुधबारको बैठकमा प्रदेश लोक सेवा आयोग गठन सम्बन्धमा बनेको विधेयकबारे छलफल कार्यक्रम राखिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.