नेपालमा लगानी बढाउन कोरिया आतुर

नेपालमा लगानी बढाउन कोरिया आतुर

नेपाल र दक्षिण कोरियाबीच ठूलो व्यापारघाटा छ। नेपालले वार्षिक १६ लाख अमेरिकी डलरबराबरको निर्यात गर्छ भने दक्षिण कोरियाबाट ९ करोड ७३ लाख अमेरिकी डलरको वस्तु तथा सेवा आयात गर्छ। नेपालको जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याइ यस्तो व्यापारघाटा कम गर्ने मात्र नभई दुई मुलुकको आर्थिक सम्बन्ध अझ मजबुत बनाउन सकिनेतर्फ कोरियाली सरकारले इंगित गरेको छ।

यस सन्दर्भमा नेपालका लागि कोरियाली राजदूत पार्क योङ–सिकले अन्नपूर्ण मिडिया नेटवर्कद्वारा तीनकुनेस्थित मुख्यालयमा बुधबार आयोजित राउन्ड टेबलमा भने, ‘हामी नेपालका अनेकन सम्भाव्य क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी गर्न आतुर छौं।’

रोजगारीका लागि कोरिया पुगेका नेपालीको अवस्था, तिनको भूमिका, नेपालमा सम्भाव्य लगानी क्षेत्रलगायत दुई देशबीच राजनीतिक, आर्थिक सम्बन्धबारे अन्नपूर्णले गरेको राउन्ड टेबलमा राजदूत पार्क, कोरियाली प्राध्यापक योङ कुक किम युवा उद्यमी जे ह्योन छ्यानसहित सहभागी थिए। अन्नपूर्णको सम्पादकीय समूहले गरेको अन्तरसंवादको सम्पादित अंश :

कोरिया-नेपाल सम्बन्ध विगत र वर्तमान

नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको साढे चारदशक पूरा भएको छ। सन् १९७४ मे १५ का दिन दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। सोही समयदेखि कोरियाले काठमाडौंमा दूतावास स्थापना गरेको हो। हुन त कोरियाले त्यसको पाँच वर्षअघि नै अनौपचारिक रूपमा कन्सुलर सेवा सुरु गर्दै सम्बन्धको आधार तय गरेको थियो। नेपालले २००१ मा अवैतनिक महावाणिज्य दूतावास स्थापना गरी त्यसको छ वर्षपछि २००७ मा सोलमा दूतावास स्थापना गरेको हो।

नेपाल–कोरिया प्रायद्वीपबीच सिल्क रोडकै समयमा धार्मिक र सांस्कृतिक सम्बन्ध रहेकाले यसलाई प्राचीन र ऐतिहासिक मानिन्छ। कोरियाली प्रायद्वीपमा सन् ३७२ मा बौद्ध धर्म प्रवेश भएकाले लुम्बिनीसँग त्यसै बेलादेखि भावनात्मक र धार्मिक सम्बन्ध कायम रहँदै आएको हो। सिल्क रोडबाट हुने आउजाउपछि लुम्बिनीसँग सम्बन्ध बढेको हो। कोरियाबाट शान्तिदीप लुम्बिनीमा ल्याइएको थियो। दुई मुलुकबीच कुनै समय सामान आय भए पनि अहिले दक्षिण कोरिया अर्थतन्त्रका हिसाबले विश्वको बाह्रौं र एसियाको चौथो शक्तिराष्ट्र हो।

ओईसीडी, जी–२० लगायत दर्जन बढी विश्व संगठनको सदस्य बन्न पुगेको छ। छोटो समयमै धेरै उन्नति गरेकाले कोरियाको आर्थिक प्रगति लोभलाग्दो छ। सानो राष्ट्र र थोरै जनसंख्या भए पनि कोरिया ‘एसियन टाइगर’ को रूपमा शक्तिराष्ट्रसँग लामबद्ध हुन पुगेको छ। ३० वर्षअघि वैदेशिक सहायता लिने कोरिया अहिले विकासोन्मुख मुलुकलाई सहायता दिने हैसियतमा छ।

नेपालका लागि कोरियाली राजदूत पार्क योङ–सिक।

यतिबेला नेपालमा दुई सयभन्दा बढी कोरियन लगानीकर्ताले विभिन्न योजनामा लगानी गरेका छन्। ती योजनामा सात हजारभन्दा बढी नेपालीले रोजगार पाएका छन्। कोरिया नेपालमा लगानीसँगै सहयोगी राष्ट्र पनि हो। सन् १९९२ देखि कोरियाली अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत अनुदान, प्राविधिक सहयोग, स्वयंसेवक परिचालन, सहुलियत ऋण उपलब्ध हुँदै आएको छ। कुलेखानी र मोदी खोला जलविद्युत् योजना, महाकाली सिँचाइ परियोजनाका साथै काठमाडौं मेट्रो तथा पूर्व–पश्चिम रेलमा कोरियाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ।

दुई मुलुकको संयुक्त लगानीमा उद्योगहरू पनि सञ्चालनमा छन्। कोरियाली पर्यटक वृद्धि भइरहेका छन्। पछिल्लो तथ्यांकअनुसार वार्षिक ३७ हजारभन्दा बढी कोरियालीले नेपाल भ्रमण गरेका छन्। दुई दशकअघि दोहोरो कर हटाउने सम्झौतापछि व्यापार बढे पनि नेपालले पर्याप्त निर्यात गर्न नसकेका कारण असन्तुलन बढ्दो छ। कोरिया वैदेशिक रोजगारका लागि नेपाली युवाको प्रमुख आकर्षक मुलुक हो। ईपीएस प्रणालीमार्फत वार्षिक झन्डै सात हजार नेपाली युवा कोरिया पुग्ने गरेका छन्। कोरियामा कामदार, विद्यार्थी, व्यापारी गरी ५० हजारभन्दा बढी नेपाली छन्। तीमध्ये ३५ हजारभन्दा बढी रोजगारीका लागि गएका हुन्।

ढल्कियो भने लडिन्छ

बीस वर्षसम्म राजनीतिक रूपमा अस्थिर रहेको नेपाल तीन वर्षयता स्थिरतातर्फ गएको छ। नयाँ संविधानअनुसार निर्वाचन भएर विकासको पथमा अघि बढेको छ। आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहेकामा अझ बढ्ने अवस्था छ। ‘ट्रेड भोलुम’ कमझैं लागे पनि नेपालमा क्रयशक्ति बढ्दै गएको छ। बदलिँदो परिस्थितिमा हाम्रो लगानी पनि बढ्दो छ। नेपालमा हामी तेस्रो/चौथो स्थानमा छौं। यसलाई बढाउँदै लैजाने प्रक्रियामा छौं। नेपाल कोरियाको प्राथमिकतामा छ।

जलविद्युत्मा लगानी

नेपालको विकासमा अपार सम्भावनाका क्षेत्र जलविद्युत्, पर्यटन र कृषि हुन्। माथिल्लो त्रिशूली–१ निर्माण गर्ने प्रारम्भिक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसको ग्राउन्ड ब्रेकिङ सेरेमोनी गर्दैछौं। खिम्तिपछिको ठूलो लगानी भित्रन लागेको यही हो। २१६ मेगावाटको यो जलविद्युत् निर्माण अघि बढेमा कोरियाले अन्य यस्ता क्षेत्रमा पनि सहकार्य गर्ने छ। अहिले यसको प्रक्रियाले नै केही समय अलमलिएका हौं। यसलाई विशेष रूपमा लिएका छौं।

यो परियोजना आईएफसी, एआईआईबी, कोरियाको एक्जिम बैंकलगायतका लगानी हुनाले पनि महत्त्वपूर्ण छ। यतिबेला अन्तिम स्तरको फाइनान्सियल क्लोजिङ भइरहेको छ। राष्ट्रबैंक र संस्थाबीचको अन्तिम कार्यमात्र बाँकी रहन्छ। मलाई आशा र अपेक्षा छ नेपालमा लगानी सम्मेलन हुँदा होस् या अन्य अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा हाम्रो तर्फबाट सक्रिय सहभागिता टुटेको छैन। सेप्टेम्बर ११ र १२ मा अर्को एक सेमिनार हुँदैछ भन्ने जानकारी पनि छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय सेमिनार जति आयोजना गर्छ, हामी सहभागी हुने छौं।

नेपालको विद्युत् बिक्री

नेपालमा उत्पादित विद्युत् भारत र बंगलादेशमा मात्र होइन अन्यत्र पनि बिक्री हुनसक्छ। बिम्स्टेक राष्ट्रहरूसम्म ग्रिडमार्फत पुग्न सक्छ। केही समयअघि नेपालले बढी भएको विद्युत् भारतमा बिक्री गरेको थियो। यो खुसीको कुरा हो। म बधाइ दिन चाहन्छु। अर्को महत्त्वपूर्ण पक्ष इनर्जी बैंकिङको अवधारणा हो। यो एउटा सुझबुझपूर्ण योजना हो। त्यसैले खुसी लागेको छ। भारतले पनि विद्युत् व्यापार सम्झौता, सीमापार विद्युत् व्यापार निर्देशिकामा संशोधन गर्नु नेपालका लागि खुसीको कुरा हुनसक्छ।

नेपालले पनि १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् निकाल्ने लक्ष लिएको छ। त्यसको बजार भारत हो। यो महत्त्वपूर्ण हो। हामी पनि माथिल्लो त्रिशूली—१ मा मात्र सीमित रहँदैनौं। हेरेर अनेक परियोजनामा अघि बढ्नेछौं। कोरियाली सरकारी स्वामित्वका पाँच ठूला लगानी गर्ने हाइड्रोपावर कम्पनी छन्। त्यस्तै पूर्वाधारमा सहयोग गर्ने दर्जनौं निकाय छन्। सबै पक्षबाट हामी सहकार्य गर्नेछौं।

लगानी नीति परिवर्तन

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा केही नीति नियम परिमार्जन भएको समाचार पढेको छु। यस्ता कदमको हामी स्वागत गर्छौं। कतिपय सार्वजनिक—निजी

साझेदारीमा हामी सहभागी पनि छौं। हुन त सरकारले यो निकै अध्ययन गरेर ल्याएको होला। जसले लगानीमैत्री वातावरण राम्रो हुँदै गएको देखाउँछ। तर केही अपुग विषय यसमा भएझैं लाग्छ। फ्रान्सका एक नागरिक कृषक यहाँबाट फिर्ता भएको समाचार पढें। यस्ता कुराले लगानी आकर्षणमा ठेस लाग्छ। त्यस्तै वैदेशिक लगानी पचास लाखबाट पाँच करोड पुर्‍याएको पाएँ। वैदेशिक लगानीको लेबल एकैपटक १० दोब्बर बनाउँदा लगानी बढ्ने हो कि झन् कम हुने हो, समयले देखाउला। तर, सरकारले साना लगानीलाई निरुत्साहित भने गरेको देखिन्छ। नेपाल सरकारको अवधारणा भनेको साना उद्योग, कृषि र पर्यटन नै हो। त्यसमा ध्यान दिन आवश्यक छ। त्यसबाहेक ठूला लगानी आउने क्षेत्र हो जलविद्युत्। सबै पक्ष हेरेर यस्ता निर्णय लिइएको होला भन्ने लाग्छ। मैले आधिकारीक रूपमा बुझ्न पाएको छैन। पढेको आधारमा भन्दैछु।

कोरियाली नेपालमा लगानी गर्न आतुर

यहाँ रहेर कार्यभार सम्हाल्दै गर्दा कोरियाका कन्स्ट्रक्सन कम्पनी आउन खोज्दैछन्। सडक, ढल निकास, खानेपानी पूर्वाधार विकासका क्षेत्रमा पनि लगानीकर्ता भित्रिन चाहन्छन्। त्रिशूली एको काम अघि बढेमा थप परियोजनालाई प्रोत्साहन पुग्ने देखिन्छ।

नेपालले २०२० भित्र गरिबीबाट अलिकति अघि बढ्ने र २०३० मा मध्यम स्तरमा टेक्ने लक्ष्य लिएको छ। यसैले नेपालले लगानी र वैदेशिक प्रविधि भित्र्याउन आवश्यक छ। त्यसका लागि कर, रेमिट्यान्स र लगानीको स्पष्टतालाई सहज बनाउनुपर्छ। कसरी हुन्छ लगानीकर्तालाई स्वागत गर्ने वातावरण बनाउन आवश्यक छ। यहाँको भिसा दिने प्रणाली पनि सुधार्नुपर्ने देखेको छु।

उच्चस्तरीय भ्रमण हुन्छ

हामी उच्चस्तरको भ्रमणमा पनि काम गरिरहेका छौं। अक्टोबर र नोभेम्बरभित्र त्रिशूली एको सबै क्लोजिङ काम सकिएमा त्यस समयमा हुने सम्झौता वा शिलान्यासका क्रममा उच्चस्तरीय भ्रमण हुने अवस्था छ। तर, त्यसमा सरकारको पक्षबाट कसरी काम हुन्छ, त्यसमा निर्भर गर्छ। हामी पनि आफ्नो पक्षबाट काम गरिरहेका छौं। लामो समयदेखि राजनीतिक तहमा भ्रमण नभएको अवस्था भए पनि परराष्ट्र सचिव स्तरको संयन्त्रमा छलफल भइरहेको छ।

हुन्डी हट्दै, रेमिट्यान्स बढ्दै

औपचारिक च्यानलबाट नेपाल रकम पठाउनेमा नेपाली कामदार अगाडि छन्। पहिला हुन्डीबाट पठाउने चलन निकै घटेको छ। बैंकिङ च्यानलबाट पठाउने शुल्क घटाएर भए पनि प्रोत्साहन गरिएको छ। अहिले बैंकिङ च्यानलबाट रकम स्वदेश पठाउने कामदारमा नेपाली एकचौथाइ छन्। कोरिया सरकारको नियम पालना गर्नेमा नेपाली अग्रणी छन्।

कोरियामा नेपाली कामदार

हामीले एक दशकभन्दा लामो समयदेखि ईपीएसमार्फत नेपाली लगिरहेका छौं। विश्वभरबाट ५३ हजार कामदार लिने गरेकामा यस वर्ष बढाएर ५७ हजार पुर्‍याएका छौं। गएका प्रतिवर्ष नेपाली सात हजार हाराहारीमा गएका छन्। १६ राष्ट्रलाई कोटा निर्धारण गरेर भाषाको प्रतिस्पर्धाबाट कामदार लिएका छौं। यसमा कम्बोडिया र नेपाल पहिलो र दोस्रोमा छन्।

कोरियन रोजगारदाताले नेपालीलाई मेहनती र इमानदार मानेका छन्। धर्मले असहज नहुने, भाषामा पनि राम्रो भएको भन्दै रुचाएका हुन्। काममा खट्ने, अनुशासित र मिलनसार पनि छन्। नेपालीले कोरियाली अर्थतन्त्रमा पुर्‍याएको योगदानको कोरिया सरकारले उच्च कदर गरेको छ। ईपीएसबाट जानेहरू र आन्तरिक कामदारबीच कुनै विभेद छैन। दुर्घटना बिमा, वार्षिक बोनसजस्ता सुविधा छन्। केही नेपाली कामदारले आत्महत्या गरेका छन्। यसमा हामी दुःखी छौं। यसबारे कोरियाले अध्ययन–अनुसन्धान गरिरहेको छ।

वाइडबडीमा पहल पुगेन

२०१३ देखि नै नेपाललाई युरोपेली मुलुक र आईकाओले ब्ल्याक लिस्टमा राखेका हुन्। आईकाओले हटाए पनि ईयूले हटाएको छैन। कोरिया सरकारले यस्ता विषयका आधारमा रोक्न चाहँदैन तर समस्यारहित होस् भन्ने चाहन्छ। हामीले नेपालबाट उता उडानका लागि पहल गर्ने होइन, नेपाल आफैंले गर्नुपर्ने हुन्छ। यहाँ तात्यो भने सबै हुन्छ। यसमा ध्यान दिन जरुरी छ।

नेपालको उड्डयान सुरक्षाको विषयमा पनि विश्वले चासो राखेको छ। हालै वर्षाद्को समयमा यती एअरको जहाज धावनमार्गको घाँसे मैदानमा चिप्लियो। नेपाल उडेको कोरियन एअरलाइन्स फर्केर पुनः कोरिया नै गयो। भोलिपल्ट आउनुपर्‍यो। यस्ता विषय बाहिरी दुनियाँले हेर्दा असामान्य हुन्छन्।

कोरियनसँग विवाह गरेको नेपाली महिलाको अवस्था

पहिला नेपाली महिला र कोरियाली पुरुषबीच बाक्लै संख्यामा विवाह हुने गरेको थियो। अहिले घटेर गएको छ। विवाह गरेर त्यहाँ गएपछि उद्देश्य नमिलेका कारण असहजता भएका घटना पनि सुनिन्थे। अहिले त्यस्तो खबर पाएका छैनौं।

विवाह पनि निकै घटेको र सम्बन्ध पनि स्पष्ट भएर मात्र विवाह भएकाले होला। अहिले बहुसांस्कृतिक परिवारका रूपमा नेपालबाहेक भियतनाम र मंगोलियाबाट पनि विवाह भएका छन्। बहुसंस्कृतिलाई सरकारले प्रोत्साहन गरेको छ।

सार्कलाई मोदीले कता लैजाँदै ?

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को पर्यवेक्षक मुलुक भए पनि यसलाई सक्रियता दिनेबारे कोरिया धेरै विषयमा अनभिज्ञ छ। १९ औं शिखर सम्मेलन कहिले हुन्छ ? किन रोकिएको हो,

स्पष्टै छ। त्यहीं गएर सार्क अडकएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कलाई कता पुर्‍याउन खोज्नु भएको हो, म त्यति जानकारी राख्दिन। तर मलाई स्पष्ट छ– सार्कको भविष्य भारतले लिने निर्णयमा निर्भर हुनेछ।

कतै नढल्कने नीति

नेपालले विगतदेखि अँगाल्दै आएको कतै नढल्कने कूटनीतिक नीति ठीक छ। धेरै ढल्कियो भने लड्ने जोखिम हुन्छ। त्यसैले यो नीति सराहनीय छ। सरकारले पनि त्यही भनिरहेको छ। परराष्ट्रमन्त्रीले पनि यसमा निकै जोड दिएको पाएको छु। त्यसमा रहेर काम गर्दा ठीक हुने मेरो बुझाइ छ। जुन अवस्थामा विगतमा नेपाल अघि बढेको छ, त्यहीं रहेर अघि बढ्दा राम्र्रो हुन्छ। यसमा हामी पनि सचेत छौं। कोरियाको पनि अवस्था उस्तै छ। किनकि कोरियाको व्यापार चीनसँग छ भने सुरक्षा रणनीतिमा अमेरिकासँग हाम्रो सम्बन्ध छ।

अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएको छ। यस्तो समयमा कोरियाले के गर्ने भन्ने विषय नेपालको पुरानो नीतिबाट सिक्नुपर्ने देखिन्छ। यस मानेमा र भूगोलको हिसाबले कोरियाभन्दा नेपाल राम्रो स्थानमा देख्छु। नेपाल त भारत र चीनको बीचमा छ। दुवै उदीयमान अनि अमेरिकी चासोको माझमा पनि। यहाँको क्षेत्र निकै ठूलो ग्राउन्ड भएझैं लाग्छ। यसलाई नेपालले आफ्नो हितमा उपयोग गर्न सक्नुपर्छ। नेपालले उन्नति गर्दै विकासपथमा अघि बढेको हेर्न म आतुर छु।


घर फर्किनुअघि आत्महत्या

- योङ कुक किम, प्रमुख, एसियन कल्चर सेन्टर

संसार अहिले खुला छ। जन्मस्थान एक ठाउँ हुन्छ, कर्मस्थान जताततै। मानिस जहाँ जन्मे पनि काम व्यवसायका लागि संसारभर पुगेको हुन्छ। नेपाली पनि विदेशमा कार्यरत छन्। उनीहरूले स्वदेश आएर आफूलाई छुट्टै पहिचान दिन सकुन् भन्ने हाम्रो चाहना छ। तर, केही नेपालीले विदेशमा घर फर्कने क्षण आत्महत्या गरेको पाएको छु। यसमा हामी अध्ययनरत छौं।

दुई वर्षअघिमात्र राजदूतले मलाई नेपालमा भेटेर आत्महत्या घटाउन के गर्न सकिन्छ भनेर प्रस्ताव राख्नुभएको थियो। कोरियामा नेपाली दूतावासका अधिकारीसँग पनि यसबारे छलफल भयो। तीन वर्षअघिसम्म वर्षको दुईजनाले मात्र आत्महत्या गरेका थिए। अहिले केही बढेको छ। यसमा हामीले सरकारी, गैरसरकारी निकाय, चिकित्सक, विद्यार्थी सबैबाट अनुसन्धान गरायौं।

धेरैजसोले नेपाल फर्किनुभन्दा अघिल्लो दिन आत्महत्या गरेको पायौं। नेपालमा रहेका परिवारको आशा र अपेक्षा बढी भएका कारण त्यस्तो निर्णय लिएको हो कि भन्ने लागेको छ। परिवारका सदस्यसँग गरेको अन्तरवार्ताबाट पनि त्यस्तो झल्को पायौं। त्यसैगरी परिवारका सदस्यले पाइरहेका रेमिट्यान्स सामाजिक प्रतिष्ठा (फोन, ट्याब्लेटस, टिभीलगायत विलासीका समान) का रूपमा खर्च गरेको देखिएको छ। देखासिखीले माग बढेको देखियो। त्यसले गर्दा पनि समस्या बढेको हो कि भन्ने लागेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को र्‍यांकमा नेपाल सातौंमा छ। राजदूतको चाहना एकजनाबाट पनि आत्महत्या नहोस् भन्ने छ।


कोरियाबाट किन नसिक्ने ?

- जे ह्योन छ्यान, सीईओ, ९०९ क्लाउड

मैले कोरियामा युवालाई व्यवसायमा लगाउने र रोजगारी सिर्जना गराउन पहल गरिरहेको छु। त्यहाँबाट फर्किएर उद्यम गरिरहेका ७ जनाका लागि केही सहयोग गर्न सकिन्छ कि भनेर यहाँ आएको हुँ। सधैं विदेशमा रोजगारी गर्न जानेभन्दा पनि आफ्नै मुलुकमा रोजगारी सिर्जना गर्नु आवश्यक छ। यसमा नेपाल सरकारको पनि पहल हुनु आवश्यक छ।

वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई प्रशिक्षण दिने क्रममा सात सफल उद्यमीको अध्ययन समेत गरें। यहाँ अधिकतम् कृषिमा सफल देखिए। पहिला काम गर्न लाज माने पनि अहिले काम गर्ने र धैर्य साँच्न थालेकोमा खुसी लागेको छ। सरकारले यस्तालाई बढावा दिन न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन आवश्यक छ। कोरियाबाट सीप र आधार आए पनि यहाँ काम गर्न प्रोत्साहन आवश्यक पर्छ। यसमा नेपाल सरकारको ध्यान जान आवश्यक छ। सीको प्रशिक्षण र क्षमता वृद्धिमा सहयोग गर्न आग्रह गर्दछु।

आर्थिक सूचक सकरात्मक ?

सन् १९५६ ताका दुई देशको प्रतिव्यक्ति आय समान रहेकामा अहिले कोरियाको ३० हजार डलर र नेपालीको १ हजार ४ छ। यसबाट पनि नेपालले सिक्नुपर्छ। नेपालमा वित्तीय स्रोत अभाव छ। यस्तो अवस्थामा कोरिया जस्तो मुलुकलाई लगानीका लागि रातो कार्पेट ओछ्याउन आवश्यक छ। बैंक–बैंक सहकार्य गरेर समेत यस्ता कार्य गर्न सकिन्छ।

विगतमा कोरियालीहरू यसैगरी काम गर्न विदेश गएका थिए। त्यहाँ सिकेको सीप आफ्नो मुलुकमा लगानी गरे। जसले गर्दा मुलुक अहिले यो अवस्थामा पुगेका छ। नेपालको आर्थिक परिसूचक राम्रो बन्दै गएको छ। विप्रेषण दर बढ्दो छ। पहल गर्ने हो भने हामी पनि माथि जान सक्छौं। यसमा कोरियाबाट किन नसिक्ने ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.