नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोह पक्राउ
सिमरा : नक्कली सवारी चालक अनुमती पत्र (स्मार्ट लाइसेन्स) बनाउने गिरोहमा संलग्न दुईजनालाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ का ३१ वर्षीय दीपक अर्याल र वीरगन्ज महानगरपालिका १५ का ४७ वर्षीय दीपक ठाकुर रहेका छन्।
नक्कली लाइसेन्स बनाएर ठगि गरिरहेको उजुरी परेपछि प्रहरीले अर्याललाई जीतपुरबाट पक्राउ गरेको हो। प्रहरीले अर्यालको साथबाट पाँच थान नक्कली स्मार्ट कार्ड लाइसेन्स र लाइसेन्स लिन बुझाएको रसिद भरपाई समेत बरामद गरेको छ। अर्याल पक्राउ परेपछि उनकै बयानका आधारमा प्रहरीले ठाकुरलाई वीरगन्जबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार अर्यालले जीतपुरका १२ जनाभन्दा बढी स्थानीयसँग रकम लिएर नक्कली लाइसेन्स दिई किर्ते ठगि गरेका हुन्। अर्यालले हेभी लाइसेन्स बनाइदिने भन्दै ५० हजार र लाइट लाइसेन्स बनाइदिने भन्दै १० हजारका दरले स्थानीयसँग रकम लिने गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पुरीले जानकारी दिए।
नक्कली लाइसेन्स दिएको भन्दै केही स्थानीयले प्रहरी कार्यालयमा उजुरी गरेपछि अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा गिरोहनै सक्रिय रहेको खुल्न आएको डिएसपी पुरीले बताए। 'हामीले उजुरीको आधारमा एक व्यक्तिलाई नियन्त्रणमा लियौं, तर उसैबाट यस काममा गिरोह नै सक्रिय रहेको खुलेको छ। हामी अझै अनुसन्धानमा छौं।'
डिएसपीका पुरीका अनुसार अर्यालले विभिन्न व्यक्तिसँग विवरण र नगद संकलन गरी ठाकुरलाई दिने गरेको र ठाकुरले लाइसेन्स बनाउने गरेका थिए। अर्याल र ठाकुरको बयान पछि किर्ते काममा अझै केही व्यक्ति संलग्न रहेको पाइएकाले उनीहरुको पनि खोजी भइरहेको डिएसपी पुरीले बताए।
पक्राउ परेकालाई किर्ते सम्बन्धी मुद्धामा कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी पुरीले जानकारी दिए।