मुस्ताङमा नागरिकताभन्दा राहदानी बनाउने दोब्बर
मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नागरिकताभन्दा राहदानी बनाउने दोब्बर भएको हो।
आर्थिक वर्ष ०७५÷०७६ को असार मशान्तसम्म राहदानी सिफारिसकै लागि कुल ५ सय ७ जना कार्यालय धाए। जसमा २ सय ५४ जनाले जिल्लामै साधारण राहदानी पाए भने द्रूत राहदानीका लागि २ सय ५३ जनाले सिफारिस प्राप्त गरे।
यस्तै, नयाँ नागरिकता बनाउने २ सय ८१ जना छन्।कार्यालय र घुम्ती गरी उक्त संख्याले नागरिकता पाएका हुन्। यसैवर्ष तिब्बतीयन शरणार्थी ५९ जनाले परिचयपत्र नविकरण गरे भने नागरिकता परित्याग गर्ने १ जना छन्।
चालुवर्ष जिल्ला प्रशासनले ३३ लाख २७ हजार ३ सय ९८ रुपैयाँ संकलन गरेको छ।संघ संस्था नविकरण दर्ता , हातहतियार इजाजत तथा नविकरण, न्यायिक दस्तुर ,राहदानी र अन्यबाट उक्त राजश्व संकलन भएको प्रशासनले जनाएको छ।
दैविप्रकोपमा परेका पीडित १ सय २३ घरधुरीलाई १० लाख ३९ हजार ९ सय राहत वितरण भयो।चालु वर्ष जुवातास र अभद्र व्यवहारका ७ मुद्धा परे। अघिल्लो वर्ष सरेको ३ अभद्र गरी १० वटै मुद्धा किनारा लागेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए। यसवर्ष १५ जनाले हातहतियार नविकरण गरेका छन्।