बाटोका बीचैमा बिजुलीका पोल

बाटोका बीचैमा बिजुलीका पोल

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलस्थित महाँकालबाट यापीभैरव हुँदै सुन्दरथलीको बाटो फराकिलो भयो। दायाँबायाँ फुटपाथसहित बाटो कालोपत्रेसमेत भयो।

पहिले सडक छेउमा रहेका विद्युत तथा टेलिफोनका खम्बा पनि कालोपत्रे सडकमा परे। बाटो त फराकिलो भयो तर फराकिलो सडकका बीचमा उभिएका छन् सयौं खम्बा। यी खम्बाले दुर्घटनासमेत बढाएका छन्। सडक फराकिलो भए पनि विद्युत तथा टेलिफोनका खम्बा नसारिँदा दुर्घटना बढेको स्थानीयवासीको गुनासो छ।

महाँकाल–सुन्दरथली सडकमा खम्बामात्रै होइन, ट्रान्सफर्मरसमेत बाटैमा परेका छन्। जसले गर्दा बाटोमा हिँड्ने बटुवा पनि असुरक्षित छन्।

सडकमै दर्जनौं विद्युतीय खम्बा ठिङ्ग उभिएको महाँकाल–सुन्दरथली सडक प्रतिनिधि बाटोमात्रै हो।

भक्तपुर जिल्लाभर धेरै ठाउँमा खम्बा हटाउन दर्जनौं निवेदन आएको नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले जनाएको छ।

चाँगुनारायण नपा ३ महाँकालबाट यापीभैरव हुँदै सुन्दरथली सडकका विद्युतीय खम्बा। फोटोः ईश्वरकाजी खाइजू/अन्नपूर्ण


का अनुसार चाँगुनारायण र सूर्यविनायक नगर क्षेत्रबाट मात्रै १७५ वटा खम्बा र एउटा टावरसहितको ट्रान्सफर्मर हटाउन निवेदन परेको परेको छ। त्यस्तै डिभिजन सडक कार्यालयबाट थप ५८४ खम्बा र ११ ट्रान्सफर्मर हटाउन पत्र लेखिएको छ।

झौखेलकै व्यासी–कमलपोखरी–थापागाउँ–गाविस भवन सडक खण्डमा पनि दर्जनौं खम्बा सडकमाझ देखिन्छन्। त्यस्तै चाँगुनरायण नगरपालिकाकै दुवाकोट–केएमसी–दुवाकोट हाइट हुँदै वडा कार्यालय जाने बाटोमा पनि दर्जनौं खम्बामा सडक विस्तार भएका छन्।

चाँगुनारायण नपा ३ महाँकालबाट यापीभैरव हुँदै सुन्दरथली जाने सडक।


विभिन्न आयोजनाका नाउँमा सडक फराकिला भए पनि विद्युत तथा टेलिफोनका खम्बा नसर्दा सडक नै दुर्घटनाका कारक बनेका छन्।

चाँगुनारायण ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले विद्युत प्राधिकरणलाई बाटो फराकिलो गर्ने क्रममा खम्बा सारिदिन पटकपटक आग्रह गरिँदा पनि सुनुवाइ नभएको सुनाए। खम्बा गाडेर विद्युतको पैसा असुल्दै आएको प्राधिकरणले खम्बा नहटाउँदा बाटैमा राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।

‘प्राधिकरणमा खम्बा सारिदिन आग्रह गर्दा बजेट छैन भन्नेमात्रै जवाफ पाइन्छ’, वडाध्यक्ष धिमालले भने, ‘खम्बा गाडेर जनतासँगै पैसा असुल्ने प्राधिकरणले त्यहीं खम्बा सार्न बजेट छैन भन्न पाउँछ ?’

उनले प्राधिकरणले विद्युतको खम्बा नसार्दा धेरै ठाउँमा बाटो फराकिलो गर्नै समस्या भएको औंल्याए।

आजको आजै खम्बा हटाउन सकिन्न : केन्द्र

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले पहिला नै सबै व्यवस्था गरेर गाडेको खम्बा आजको अलै सार्न नसकिने जनाएको छ।

भक्तपुर नपा २ व्यासीबाट कालीघाट, कमलपोखरी हुँदै थापागाउँ सडकका विद्युतीय खम्बा। फोटोः ईश्वरकाजी खाइजू/अन्नपूर्ण


‘विद्युतका खम्बा भन्नेबित्तिकै जुरुक्क उचालेर एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्दैन’, केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले भने, ‘अर्को विकल्प नभएसम्म भएको खम्बा सार्न सकिँदैन। ग्राहकहरुलाई धेरैदिन विद्युतविहीन बनाउन मिल्दैन।’

विद्युत जस्तो अत्यावश्यकीय एवं जोखिमपूर्ण कामलाई अरु कामजस्तो सरल ठान्न नहुने उनको भनाई छ। उनका अनुसार मर्मतको लागि कममात्रै बजेट हुने भएकाले सबैतिरको खम्बा हटाउन केन्द्रसँग बजेट छैन।

‘केन्द्रसँग खम्बा हटाउने तथा मर्मतसम्भारको लागि कममात्रै बजेट छ’, केन्द्र प्रमुख श्रेष्ठले थपे, ‘एउटा खम्बा सार्न कम्तीमा ३५ हजार रुपैयाँ खर्च हुन्छ।’

भक्तपुर नपा २ व्यासीबाट कालीघाट, कमलपोखरी हुँदै थापागाउँ जाने सडक।


उनका अनुसार केन्द्रमा निवेदन परेका सबै खम्बा सार्न दुई करोड ६५ लाख ६५ हजार रुपैयाँ बजेट आवश्यक पर्छ। तर प्राधिकरणले नगरपालिकासँग आफ्नो ४० र सम्बन्धित नगरपालिकाको ६० प्रतिशत बजेट व्यवस्थापनमा खम्बा सार्दै आएको केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिए।

उनले सडक विस्तार आयोजना तयार गरिँदा नै उक्त आयोजनाको बजेटमा विद्युतका खम्बा सार्ने बजेटसमेत व्यवस्था गर्नुपर्ने सुझाव दिए। यसो गर्दा एकातिर सडक आयोजना समयमै सकिने र सडक दुर्घटनासमेत नहुने उनको भनाइ छ।

केन्द्रका अनुसार भक्तपुरमा ११ हजार भोल्ट र ४०० भोल्टको विद्युत प्रवाह भइरहेका दुईथरी विद्युतीय खम्बा रहेका छन्।

सडकमा परेका खम्बा हटाउन सडक डिभिजन कार्यालय भक्तपुरले नेपाल विद्युत प्राधिकरण भक्तपुर केन्द्रलाई लेखेको पत्र। फोटोः अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.