४ दिनपछि खुल्यो बेनी-जोमसोम सडक
बेनी : पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सुचारु भएको छ। अन्नपूर्ण गाउँपालिका–३ स्थित गुइठे भीरमा पहिरो खसेपछि साउन ६ गतेदेखि अवरुद्ध सडक बिहीबार साँझदेखि सुचारु भएको हो।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले बिस्फोटक पदार्थको प्रयोग गरी सडकको ट्रयाक खोलेर यातायातका साधन सञ्चालन गरिएको जनाएको छ। नेपाली सेना र नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत आयोजनाको सहयोगमा बिस्फोटक पदार्थको प्रयोग गरी पहाडमा ट्रयाक खोलेर सडम सुचारु गराइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।
गुइठेभीर ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमध्येको जोखिमयुक्त ठाउँ हो । यो वर्षमात्रै उस स्थानमा तीन पटक पहिरो खसेर सडक अवरुद्ध भइसकेको छ । सडक अवरुद्ध हुँदामुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा, मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीहरु मर्कामा परेका थिए।