पहिरोले अवरुद्ध कोशी राजमार्ग ८ घण्टापछि खुल्यो
धनकुटा : बिहिबार रातिदेखि भएको अविरल वर्षाका कारण गर्जुवा खोलामा आएको बाढीले अवरुद्ध बनेको कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकखण्ड करिव ८ घण्टापछि खुलेको छ। माटोको लेदोसहित खोलामा आएको बाढीले सडक पुरिएपछि बिहिबार राती १२ बजेदेखि कोशी राजमार्गमा सवारी आवातजावत बन्द भएको थियो।
सडकमाथि थुप्रिएको माटोसहितको लेदो डिभिजन सडक कार्यालयको स्क्राभेटरले पन्छाएपछि एकतर्फिरुपमा सडक खुलेको सुपरभाइजर अम्बिका राईले बताए। सडक अवरुद्ध बनेपछि पूर्वी तराईका विभिन्न ठाउँबाट कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्न सयौं सवारी साधन जाममा परेका थिए।
त्यस्तै कोशी पहाडबाट तराई झर्ने सानादेखि ठूला सवारी साधन त्यहाँ जाममा थिए। सवारी साधन यात्रुहरु अलपत्र अवस्थामा रहेका थिए। विद्युतको निर्माणाधीन हाइटेन्सन लाइन बनाउन खनिएको नयाँ बाटोको माटो भत्किएर गर्जुवा खोलामा झर्दा सोही बाटो बगाएर सडक अवरुद्ध पारेको उनले बताइन्।
यसभन्दा पहिल्यै बर्खाको बेलामा गर्जुवा खोलामा आउने बाढीले राजमार्ग अवरुद्ध हुनु पर्थ्यो। तर सडक डिभिजन कार्यालय बर्खा लाग्नुभन्दा अगाडि नै बाढी रोकथामको लागि विभिन्न संरचना निर्माण गरेर सर्तकता अपनाएको थियो। बाढीमा आएको माटो खोलाको भन्दा पनि नयाँ सडक बनाउँदाको माटो भएको कारण राजमार्ग अवरुद्ध भएको उनले दावी गरिन्।
त्यस्तै लगातारको वर्षाको कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ।
धनकुटा सहित चार जिल्लामा विद्युत आपूर्ति अवरुद्ध
पहिरोले विद्युत लाइनको पोल भत्काइदिएपछि धनकुटा सदरमुकामसहित कोशी पहाडका भोजपुर, संखुवासभा र तेहूथममा विद्युत आपूर्ति अवरुद्ध बनेको छ। कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक खण्डको साँगरीगढी गाउँपालिकाको लावरबोटै नजिक पहिरो खसेर ३३ केभी लाइन प्रशारणको तीनवटा विद्युत पोल भत्किएपछि शुक्रवार बिहान ५ बजेदेखि विद्युत आपूर्ति अवरुद्ध बनेको नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख पवनकुमार यादवले बताए।
उनका अनुसार पहिरोले पोलसँगै विद्युत लाइनको तारसमेत चुडाइँदिएको छ। ‘धनकुटाबाट प्राविधिक टोली मर्मत सम्भार भइरहेको छ’, उनले भने, ‘पहिरो खसेको स्थान भिरालो भएको कारण काम गर्न केही असहज बनेको छ।’ विद्युत आपूर्ति चालु हुन करिव ४ घण्टा समय लाग्ने उनले बताए।