बाँझो जमिनमा टिमुर खेती
स्याङ्जा : गल्याङ् नगरपालिका–१० स्थित लाखुडाँडाबासीले सामूहिक टिमुर खेती सुरु गरेका छन्। बाँझो रहेको डेढ हेक्टर जमिनमा टिमुर लगाउन सुरु गरिएको छ। नगरपालिका क्षेत्र भइकन पनि भौगोलिक रूपमा विकट सो गाउँमा बाँदर आतंक छ।
बाँदर धेरै बस्ने भएका कारण सो स्थलको नामै लाखुडाँडा भएको जानकारहरू बताउँछन्। सरकारले खेतबारी बाँझो राख्न नपाइने नीति अघि ल्याएसँगै स्थानीयबासी मिलेर सामूहिक कृषि खेती कार्यक्रम अगाडि सारेका हुन्।
उनीहरूले अर्गानिक उत्पादनलाई पनि जोड दिएका छन्। वडाले बाँदरले क्षति नगर्ने कृषिको पहिचान गरी गत वर्षदेखि कागती, कुरिलो खेतीसँगै यो वर्षबाट टिमुर खेती लगाउने अभियान थालेको हो। धान, मकै, कोदो, गहुँको राम्रो उत्पादन हुने यी वडामा बाँदरका कारण खेतवारी बाँझै थिए। ‘जमिनको परीक्षण गरी के उत्पादन हुन्छ, सोही लगाउने गरी किसानलाई जागरुक गराएको’ वडाध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनीले जानकारी दिए। कुनै वन्यजन्तुले पनि नष्ट गर्न नसक्ने र नगदेबालीका रूपमा रहेको टिमुर औषधिका रूपमा समेत उपयोग हुन्छ।
पहिलो चरणमा साढे १ हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै सामूहिक टिमुर लगाएका छन्। जसका कारण झाँडी बढेको बाँझो जग्गाको सदुपयोग भएको छ।
यहाँका ५० घरधुरीले देवीभञ्याङ टिमुर व्यावसायिक कृषि समूह गठन गरी सामूहिक टिमुर खेती लगाएका छन्। अघिल्लो वर्ष ७ सय टिमुरका बिरुवा लगाइसकेका छन्। नर्सरी बनाएर समूहले गाउँमै बिरुवा उत्पादन गरेका छन्। मौसम अनुसार तरकारी खेतीका लागि नर्सरी बनाइएको नर्सरी उत्पादक लक्ष्मण शाहीले बताए। टिमुरका लागि आवश्यक हावापानी मिलेको जनाउँदै यस वर्ष २५ सय टिमुरका बिरुवा लगाइएको वडाले जनाएको छ।
युवालाई कृषितर्फ आर्कषण बढाई रोजगारका लागि बिदेसिनबाट रोक्न सामूहिक टिमुर खेती, सामूहिक कागती खेती, कुरिलो खेतीलाई समेत वडाले प्राथमिकतामा राखेको छ। अध्यक्ष पंगेनीका अनुसार अहिलेसम्म ८ हजार कागती, ५ सय कुरिलो लगाइसकेको छ।
परम्परादेखि नै मसलाको रूपमा टिमुरको प्रयोग गरिँदै आएको छ। बहुउपयोगी र औषधिका रूपमा पनि यसको उपयोग हुने गर्छ। विशेष गरी अचार, सिस्नोको तरकारी, च्याउको परिकार बनाउँदा यसको मसला अनिवार्य जस्तै मानिन्छ। टिमुरको फल बोक्रा र बीउलाई दन्त मञ्जन, साबुन, तेल, अत्तरको रूपमा प्रयोग गरिँदै आएको छ। बहुउपयोगी एवं औषधिय गुण भएको टिमुरको बजार माग अधिक रहेकाले यसको खेतीबाट मनग्य आर्थिक लाभ लिन सकिने विश्वास लिइएको छ।
टिमुरको बोट करिब ३ मिटर जति अग्लो हुन्छ। यो काडेदार मझौला बनस्पतिअन्तर्गत पर्छ। साउनमा बिरुवा रोपिन्छ। बिरुवा रोपेको ४ वर्षमै फल दिने र २०/२५ वर्षसम्म फल लिइरहन सकिन्छ। राम्ररी पाकेको फललाई असोज, कात्तिक महिनामा टिपेर सुकाउनु पर्छ।