रेडियोकी रानुदेवी
‘मेरो गीत सुन्नुभा’छ ? ’
प्रश्न सोध्न गएकी म उल्टै प्रश्न पाउँछु।
दुई–चारवटा प्रश्नमा मेरो संगीत–क्षमताको जाँच गरिन्, उनले। मैले उनका सबै गीत त सुनेकी थिइनँ। सुन्न पाउनु पनि कसरी ? जब उनीसँगै छैनन्। युट्युबमा उनका केही गीत मात्र छन्।
काठमाडौं बत्तीसपुतलीस्थित शिल्पी थिएटरको छेउबाट दाइनेतर्फ लाग्ने सानो बाटो छ। त्यही बाटोमा करिब पाँच मिनेट हिँडेपछि बाटोमै पर्छ रानुदेवी बसेको घर। विराटनगरकी रैथाने उनी हाल भने कान्छी छोरीसँग बत्तीसपुतलीमा बस्दै आएकी छन्। घरभित्र छिरेपछि भुइँ तलामै एउटा ठूलो बैठक कोठा छ। सोफामा अडेस लगाएर बसेकी छन्, रानुदेवी। भन्छिन्, ‘प्रस्ट बोल्न सक्दिनँ है, मिलाएर बुझ्नुहोला।’
उमेर ८६। सेताम्मे कपाल। कालो सल, खैरो र रातो बुट्टा भएको कुर्ता अनि सेतो सुरुवाल। रानुदेवी अधिकारी रेडियोमा गीत गाउने पहिलो महिला गायक हुन्। राणाशासन फालेर प्रजातन्त्र स्थापना गर्ने आन्दोलनमा उनले गीत गाएरै आन्दोलनकारीको हौसला बढाएकी थिइन्।
रेडियो नेपालकी पहिलो महिला गायक रानुदेवी इतिहासमा स्नातकोत्तर हुन्। अनि हुन्, २००७ सालको क्रान्तिकी सांगीतिक नेतृत्व।
२००७ सालमा देशव्यापी रूपमा क्रान्तिको आगो बलेको थियो। राणाशासन अन्त्यका लागि राजनीतिकसँगै सामाजिक परिवर्तन पनि दु्रत गतिमा बढिरहेको थियो। आन्दोलनकारीको हौसला बढाउन रानुदेवी अधिकारी विराटनगर आसपासका चोकहरूमा पुग्थिन्। क्रान्तिको आह्वान गर्दै सुमधुर गीत गाउँथिन्। तारिणीप्रसाद कोइरालाको शब्द, यादव मण्डल र कालुरामको संगीतमा रेडियोमा बजेको पहिलो ऐतिहासिक गीतको शब्द थियो ः
आज देशको क्रान्तियुद्धमा हाम्रो एक पुकार होसलड्दा लड्दै मरे मरौला यो नै एउटा नारा होसखडा भयो जनतन्त्र फौज लौ आऊ आऊ नेपाली
मातृभूमिले मुक्तकण्ठमा डाक्छिन् आऊ गोर्खाली।
संगीतमा उनले धेरै गरिन्। इतिहास बनाइन्। तर इतिहास संरक्षित छैन। भन्छिन्, ‘मेरा गीत कसैले पनि संरक्षण गरिदिएनन्। सबै यत्रतत्र छरिएका छन्। म गरिदिन्छु भन्दै को को मानिस आउँछन् र लान्छन्। अनि बेपत्ता हुन्छन्।’
यो उमेरमा पनि उनलाई गीत गाउने रहर मरेकै छैन। भन्छिन्, ‘अझै पनि गीत गाउन सक्छु म।’
उनको आत्मविश्वास जति उँचो छ। बुढ्यौली पनि उसैगरी उँचो हुँदो छ। सुगर र प्रेसरले उनलाई सताएको छ। हातखुट्टा थरर काम्छन्। सहाराबिना यताउता हिँड्न मुस्किल छ। खुट्टाले दैलो उक्लिन छाड्यो। शरीरले अनगन्ती समस्या देखाए पनि उनीभित्रको आत्मविश्वास पनि डगमगाएको छैन।
छोरीलाई घरबाहिर हिँड्न दिनुहुन्न भन्ने समाज थियो त्यो बेला। निकै कम छोरीहरू स्कुलसम्म पुग्थे। समाज कुसंस्कारले जकडिएको थियो। अहिले त छोरीका लागि घरको दिवारबाहिर अनेक तगारा छन्। त्यो बेलाको कुरा, जति बेला रानुले गाइन् गीत।
भन्छिन्, ‘आजभन्दा ७० वर्षअघिको विराटनगर दुई चार हुनेखाने परिवारकै वरिपरि घुम्थ्यो। हुनेहरूले घरमा नोकर चाकर राख्ने चलन थियो। नहुने त नहुने भइहाले। छोरी बुहारीको त्यस्तो खास सम्मानजनक भूमिका थिएन परिवारमा।’
बनारसमा हुर्केर विराटनगर बिहे गरेकी उनी पढेकी बुहारीमध्ये थिइन्। बनारसमै ८ कक्षा पास गरेपछि उनका बुवाआमाले विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह गराइदिए। यो २००६ सालको कुरा थियो। अधिकारी व्यापार व्यवसायमा लागेका थिए। भन्छिन्, ‘परिवार नै शिक्षित थियो। सबैजना आन्दोलनमा लागेका थिए। बिहेपछि पढ्न र गीत गाउन सबैले सहयोग गरे।’
२००७ सालमा प्रजातन्त्र स्थापनापश्चात् तारिणीप्रसाद कोइरालाले प्रजातान्त्रिक नेपाल रेडियोकोे औपचारिक रूपमा सुरुआत गरे। विराटनगर जुट मिलबाट प्रत्यक्ष प्रसारण गरिएको रेडियोमा बेलाबेला समाचार बज्ने गथ्र्यो। देशभर राणाशासनविरोधी आन्दोलन चलिरहेकै थियो। रेडियोले आन्दोलनको जानकारी गराइरहन्थ्यो। जनतालाई सुसूचित गर्न जागरुक गीतहरू पनि सुनाउनुपर्ने आवश्यकता देखियो। दुईचार गीत तारिणीप्रसादले पनि लेखे।
रानुदेवीको भर्खरै मात्रै बिहे भएको थियो। कोइराला परिवारमा उनले गीत गाउन सक्छिन् भन्ने खबर पुगिसकेको थियो। रानु सानैदेखि गीत गुनगुनाउँथिन्। घरमै आएर तारिणीप्रसादले उनलाई जागरण गीत गाउन आग्रह गरे। कांग्रेस नेत्री नोना कोइराला रानुदेवीकी दिदी हुन्। कोइराला परिवार नै राणाशासनको विरुद्धमा थियो। नोना पनि स्वतः आन्दोलनमा सक्रिय भूमिका खेलेकी थिइन्। नोनाले पनि गीत गाउन कर गरेपछि रानुदेवी राजी भइन्।
रानुले इतिहासमा स्नातकोत्तर गरेकी छन्। संगीत, गायन, जागिर अगाडि बढाउन उनलाई कसैले रोकेन। कहिले सासूसँग बच्चा छाडेर परीक्षा दिन जान्थिन् त कहिले शिक्षकहरूले चलाएको आन्दोलनमा सडकमा उत्रन्थिन्। आन्दोलनमै गीत गाएर उघुम मच्चाउँथिन् उनी। समाजमा हुने सांगीतिक कार्यक्रममा रमाइलो गर्न होस् या आन्दोलनमा गएर क्रान्तिको गीत घन्काउन, रानुदेवी टुप्लुक्क पुग्थिन्। मठमन्दिर र धार्मिक कार्यक्रममा गाइने भजनहरूमा रानुदेवीकै स्वर घन्कन्थ्यो। उनको घर पनि पूर्णतया राजनीतिमा आबद्ध थियो। जेठाजु युवराज प्रसाद अधिकारी कांग्रेसका सक्रिय नेता हुन्।
२००७ सालमा आन्दोलन चलेको थियो। उनको पूरै परिवार आन्दोलनमा। खतराको डरले परिवारै जोगबनीको मिल्स एरियामा बस्थे। नेपाली कांग्रेसले मिल्स एरिया विजयी गर्यो। देशभर आन्दोलन चलिरहेकै थियो। जनताले पत्रिका पढ्न पाउने कुरै थिएन। तारिणीप्रसाद कोइरालाले उनलाई जागरण गीत गाउन अफर गरे। घरपरिवारलाई मनाए। रानुदेवीले हरेक दिन साँझ र बिहान गरी दुई पटक क्रान्तिका गीत प्रत्यक्ष गाउने गर्थिन्। त्यो बेला रेकर्ड गर्ने चलन आइसकेको थिएन।
उनी भन्छिन्, ‘गीत गाउँदै गर्दा रेडियोमा हार्मोनियम बजाउने कृष्णप्रसाद अधिकारी, बाँसुरी बजाउने तबला बजाउने वाद्यवादक पनि सँगसँगै धुन मिसाइरहेका हुन्थे। दिनदिनै मिल एरिया जाने र गीत गाउने मेरो दैनिकी नै थियो। गीत गाउन सासूससुरा र श्रीमान्ले समेत सहयोग गर्थे।’ कति उदार परिवार !
रानुदेवी थप्छिन्, ‘पछि त्यही रेडियो नै रेडियो नेपालका रूपमा स्थापित भयो। रेडियो काठमाडांैमा आएपछि गीत गाउने काम पनि टुट्यो। म विराटनगर बसेर परिवार सम्हाल्न थाले। बच्चा हुर्काउने, स्कुलमा पढाउने र कलेज पढ्ने सँगसँगै गर्न थाले। रेडियोले मलाई बिर्सियो। गीतसँगको संगत छुट्यो।’
उनले ६ वटा गीत रेकर्ड गराएकी थिइन्।
रानुदेवीको बहुचर्चित गीत भने ‘जुनेली रात हजुर’ बोलको थियो। कुराकानीकै क्रममा उनले पुरानै लयमा यो गीत गाएर सुनाइन्।
भन्छिन्, ‘मैले रेडियोमा गीत गाएपछि तारिणीप्रसाद कोइरालाले कलकत्ता लिएर गए। कलकत्ताको हिन्दुस्थान कम्पनीमा फागुको शीतल बतास बोलको गीत रेकर्ड गर्ने मौका पाएँ।’ त्यो बेला गीत मोनोग्राममा बज्ने गथ्र्यो। उनका सबै गीतहरू रेडियो नेपालमै थियो। पछि पञ्चायत आएपछि क्रान्तिको गीत बजाउन बन्देज लगाइयो। उनको एल्बम त्यतै हरायो। उनीसँग अहिले आफ्ना गीतहरू छैनन्। कहाँ होलान् त ?
०००
बालिका आदर्श स्कुलमा स्थायी शिक्षक भएर उनले २०२३ सालदेखि २०५३ सालसम्म पढाइन्। पाँच दिदीबहिनीमा साइँली हुन्, उनी। दाजुभाइ तीन जना। बिहे गरेपछि घरको राजनीतिले छोयो। उनी पनि पेसागत राजनीतिमा लागिन्।
बेलामौकामा काठमाडौं आउँदा उनले नातिकाजी, शिवशंकरजस्ता संगीतकारसँग केही गीत पनि रेकर्ड गराइन्। उनका रेकर्ड भएका गीतहरूमा ‘मेरो मुटुको माझमा कसको तस्बिर’, ‘चरी भुर्र उडी घरमा मेरो जाऊ’, ‘तिमी दूर देशका परदेशी’, ‘जुनेली रात हजुर गम्किन्छ बात हजुर’, ‘जागे नेपाली उठे नेपाली’, ‘फागुको शीतल बतास’लगायत छन्।
नाटकमा समेत अभिनय गर्थिन्, उनी। बनारसमा कलेज पढ्दा शास्त्रीय संगीतमा आईए पास गरिन्। कलेजमा ताल, सरगम, मेलोडीबारे औपचारिक रूपमा पढिन्। बिहेपछि पनि उनले पढ्न पाइन्। छोराछोरी माइतमा छाडेरै बनारसमा कलेज जान्थिन्। विराटनगर र बनारस पानी पँधेरो थियो उनका लागि।
सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला पेन्सन पाउनुपर्छ भनेर देशभर शिक्षकहरूले आन्दोलन गरेका थिए। यस आन्दोलनमा उनी १५ दिनसम्म जेल पनि परिन्। त्यो बेला शिक्षकहरूलाई कुनै सुविधा थिएन। सेवासुविधाका लागि उनीहरूले आन्दोलन गरेका थिए।
७२ वर्षको उमेरमा उनले सुमित खड्कासँग ‘जाग नेपाली’ बोलको गीत गाएकी थिइन्। यो गीतले उनलाई पुनः चर्चामा ल्यायो। लामो समय सांगीतिक क्षेत्रबाट गुमनाम जस्तो बनेकी अधिकारी पुनः सक्रिय बनिन्। केही कार्यक्रममा पनि गीत गाइन्। क्रान्तिका गीतहरूमा आफ्नो पहिचान बनाएकी अधिकारीले शान्ति स्थापनाको आग्रहस्वरूप उक्त गीतमा स्वर दिएकी थिइन्। त्यसमा शंकर खरेलको शब्द थियो।
राणाशासनको कठिन समयमा जन्मेर नेपाली संगीतकै एउटा पहिचान बन्न सफल भइन्, रानुदेवी।