छार्का, जहाँ शिक्षाभन्दा ठूलाे पैसा मानिन्छ !
मुस्ताङ : छार्का एउटा गाउँ मात्र होइन। एउटा उदाहरण हो–पशुपालनको। अर्को उदाहरण हो–अशिक्षाको। मुस्ताङको पश्चिमी सीमामा अवस्थित यो डोल्पाली गाउँलाई भौगोलिक विकटताको परिभाषाले मात्र न्याय गर्दैन।
छार्कामा ७० देखि ८० घरधुरी परिवारका मानिस बसोवास गर्छन्। यहाँ याकचौरी र भेडाच्याङग्रा नपालेको घरै हुदैन। यसकारण प्रष्ट छ, छार्का बासीको मुख्य आम्दानी पशुपालन नै हो। किनकी यहाँ उब्जिएको अन्न ४ महिना पनि पुग्दैन।
छार्का भौगोलिक हिसाबले मात्र विकट छैन। पूर्ण साक्षर हुने दौडमा देश दौडिरहेका बेला यो गाउँ अशिक्षाको भूमरीमा रुमलिएको छ। यहाँका बालबालिका पढ्न लेख्न भन्दा सीप सिक्ने र परम्परागत व्यवसायमै बढी अग्रसर हुन्छन्।
यहाँका मानिस बर्खा सुरु भएसँगै यार्सा खोज्न पाटनतिर लाग्छन्। अनि लाखौं कमाएर घर फर्किन्छन्। र, कमाइको पैसाले वर्षभरीका लागि खानाको जोहो गर्छन्। छार्काका ग्याल्जेन गुरुङ र उनका केही छिमेकी रासन खरिद गर्न मुस्ताङको शान्ता गाउँमा भेटिए। करिब ७० याकचौरीको बथान लिएर खाद्यान्न किन्न शान्ता आइपुगेका थिए। शान्ता गाउँ डोल्पा र मुस्ताङको सिमानामा पर्छ।
जोमसोमदेखि शान्ता कच्ची सडक छ। यहाँसम्म ट्याक्टरमा खाद्यान्न ढुवानी गरेर याकचौरीलाई बोकाएर घर फर्कन्छन् गाउँलेहरु। शान्तासम्म सडक नहुदा जोमसोमबाटै याकमा खाद्यान्न लिएर घर पुर्याउथे। तर, शान्तासम्मको सडक विस्तारले केही सहज बनाएको ग्याल्जेन बताउछन्। ग्याल्जेन भन्छन् ,‘मुस्ताङ भन्दा डोल्पाको दुनै दुईदिन फेरो पर्छ। यसैले चाहिएको सामान जति मुस्ताङबाटै लैजान्छौं।’
ग्याल्जेनको आधवैशे जीवन याकचौरीसँगै बितेको छ। उनी पढेका छैनन्। तर,सन्तानलाई पढ्न पर्छ भन्ने मान्यता भने राख्छन्। घरको माहोलले उनलाई साथ दिएको छैन। हेर्दा सामान्य अनि लामो कपाल, कालो फोहोर ज्याकेट र घाटीमा मुवाको सानो माला लगाएका छन् उनले।
ग्याल्जेनका छिमेकीको लवाईखवाई पनि उस्तै छ। परम्परागत व्यवसायको बिडो धान्नु उनको जीवन बनेको छ। उनी यसमै सन्तुष्ट छन्। हिउदयाममा खाद्यान्न जोहोका लागि याकचौरी खेत्दै मुस्ताङ दुई पटक आउछन्। बर्खायाममा उनी दुई पटक तिब्बती मेलामा पुग्छन्। उनीसहितको उनका छिमेकीको दिनचर्या पनि उस्तै पूख्यौली पेशा धान्नु नै हो।
बर्खा याममा उनीहरुका स–साना बालबालिका पनि पढ्न छोडेर यार्सा खोज्न पाटन पुग्छन्। र, पैसा कमाएर फर्किन्छन्। छार्काबासीको मुख्य पेशा पशुपालन भएकाले याकचौरी र भेडा च्याङग्राको सुसारमा रमाउनु नै उनीहरुको दैनिकी हो ।