आधा घण्टाको बाटो तीन मिनेटमा छोटियो
बेनी : बेनी र बागलुङ नगरपालिकाको सिमानामा रहेको ठूलो खोलामा झोलुङ्गे पुल बनेपछि करिब आधा घण्टाको बाटो तीन मिनेटमा छोटिएको छ।
बेनी नगरपालिका २ फापरखेतको रातोभीरदेखि बागलुङ नगरपालिका २ चनौटेको खोचमाथि २६० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो।
सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले एक करोड ३९ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न गरेको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापाले जानकारी दिए।
पुल निर्माण भएपछि बेनीको फापरखेत, अर्जम, भकुण्डे, बागलुङको चनौटे, सिम, पञ्चकोट, मालिकाका बासिन्दालाई आवत जावतमा सहज भएको छ। अग्लो पहाडको खोचमाथि पुल बनाइएको छ। पुलबाट ५०० घरधुरी लाभान्वित भएका छन्।
‘पुल नहुँदा तीस मिनेट घुमाउरो बाटो हिड्नुपर्थ्यो,’ स्थानीय कृष्णबहादुर चर्माकारले भने, ‘अहिले तीन मिनेटमै वारपार हुन्छ।’ चनौटेबाट भकुण्डेको अर्जुन माविमा पढ्न आउने बालबालिकालाई सहज भएको छ।