बाल कार्यक्रम धेरै सुन्थेँ

बाल कार्यक्रम धेरै सुन्थेँ

गाउँमा कहिलेकाहीँ नाटक हुन्थ्यो। त्यसका लागि मैले सकिनसकी ‘प्यारोडी’ लेख्थेँ र गाउँथे। दोस्रो दिन सबैले राम्रो भयो भनेको सुन्दा हौसला बढ्थ्यो।


म जन्मेको काठमाडौंको कीर्तिपुरमा हो। मेरो जन्ममिति २०३६ पुस १ गते। परिवारमा दुईजना दिदीहरू, आमा, बुवा र म थियौं। म कान्छो छोरा। घरमा सबैको प्यारो। पहिले परिवारमा मात्रै प्यारो थिएँ। अहिले सबै दर्शक र श्रोताको प्यारो भएको छु। यसको एउटै कारण, म गीत संगीतलाई माया गर्छु।

अहिले सबैले मलाई गायक र संगीतकार भनेर चिन्छन्। यसैमार्फत सबैलाई मनोरञ्जन प्रदान गर्छु। मलाई यसैमा खुसी लाग्छ। भाइबहिनीसँग मनको कुरा साट्न पाउँदा पनि मलाई खुसी भएको छु।

म शिक्षित परिवारमा हुर्कें। बुवा सरकारी जागिरे। उहाँले मलाई सानैदेखि राम्रो काम गर्नुपर्छ भन्नुहुन्थ्यो। यसका लागि सधैं उत्प्रेरित गर्नुहुन्थ्यो। पढाइबाहेक नाच्नुपर्छ र गाउनुपर्छ भनेर हौसाउनुहुन्थ्यो। तर, म सानैदेखि अन्तर्मुखी स्वभावको थिएँ। सबैले ज्ञानी भन्थे। धेरै बोल्दैनथेँ।

म स्कुल जानुभन्दा पहिलेदेखि ‘रेडियो नेपाल’ एकदमै धेरै सुन्थेँ। त्यसबाट ‘आउ मेरा प्यारा प्यारा भाइबहिनी हो नजिक आउ’ भन्ने बालकार्यक्रम प्रसारण हुन्थ्यो। म त्यसको नियमित श्रोता थिएँ। यसले मलाई सानैदेखि रेडियो सुन्ने बानी लगायो।

त्यसपछि रेडियोबाट बजेका सबै गीतहरू सुन्न थालेँ। ती गीतका सबै गायक, लेखक, संगीतकार सबैको नाम पनि कण्ठै हुन्थ्यो। त्यतिबेला आफूलाई मन परेको गीत सुन्न रिक्वेस्ट पठाउनुपर्ने हुन्थ्यो। बुवाले मेरो नाममा लेखेर पठाइदिनुहुन्थ्यो। अर्को दिन नाम आउँदा मलाई एकदमै आनन्द लाग्थ्यो। यसरी नै रेडियोमा नाम बजिरहोस् भन्ने लाग्थ्यो।

घरमा खेल्दा आफू पनि गायक जस्तै गरेर आगो फुक्ने ढुंग्रोलाई माइक बनाएर गीत गाउँथे। आमाले पनि भन्नुहुन्थ्यो, ‘म सानो छँदा ‘हर्लिक्स’ को बट्टा पाएपछि केही चाहिँदैनथ्यो रे !’ पिँढीमा बसेर त्यसलाई म दिनभरि बजाएर बस्थेँ। अलि ठूलो भएपछि साथीहरूसँग कक फाइट खेल्थ्यौं। यसरी म हुर्किंदै थिएँ।

ठ्याक्कै मलाई याद छैन। चार वर्षको हुँदा स्कुल भर्ना भएँको हुँ रे। कीर्तिपुरस्थित पुष्पसदन आवासीय विद्यालयमा कक्षा २ सम्म पढेँ। त्यसपछि कक्षा ३ देखि ५ सम्म अर्को स्कुलमा पढेँ। २०५३ सालमा कीर्तिपुर माध्यमिक विद्यालयबाट एसएलसी पास गरेँ। तर स्कुल पढ्दा मलाई खासै कसैले चिन्दैनथे। शिक्षकशिक्षिकाले पनि खासै नोटिस गरेनन्।

स्कुलमा विभिन्न अतिरिक्त क्रियाकलाप हुन्थ्यो। तर, मलाई सबैका अगाडि नाच्न, बोल्न, गाउन एकदमै लाज लाग्थ्यो। त्यसैले म यस्तो कार्यमा जिरो नै थिएँ। स्कुलमा म पनि भाग लिन्छु भनेर सरलाई कहिल्यै भन्न सकिनँ। तर, मलाई भित्रभित्रै गीत गाउन मन लाग्थ्यो। स्कुलको पढाइ सकिएपछि अब साँच्चै नै गीत गाउनुपर्छ भनेर ‘प्लस टु’ पढ्दा संगीत सिक्न थालेँ।

गाउँमा कहिलेकाहीँ नाटक हुन्थ्यो। त्यसका लागि मैले सकिनसकी ‘प्यारोडी’ लेख्थेँ र गाउँथे। दोस्रो दिन सबैले राम्रो भयो भनेको सुन्दा हौसला बढ्थ्यो। बुवा पनि नाटकप्रति रुचि राख्ने हुनाले उहाँले मलाई साथ दिनुभयो। यसरी मेरो लेखन पनि विस्तारै निखारिँदै गयो।

कमल क्षेत्री मेरो संगीत गुरु। उहाँकै देनले आज म यहाँसम्म आइपुगेको हुँ। म उहाँलाई एकदमै सम्मान गर्छु। उहाँ गुरु मात्र नभएर एउटा विद्वान पनि हुनुहुन्थ्यो। उहाँले मलाई संगीत मात्र होइन जीवन पनि पढाउनु हुन्थ्यो।

संगीत सिकेको तीन वर्ष पछि मैले सन् २००३ मा मेरो आवाजमा एउटा गीत रेकर्ड गरेँ। मलाई आफ्नो स्वर मन परेन। मैले चटक्कै संगीत छोडिदिएँ। अब गर्न सक्दिनँ भनेर करिव ६÷७ वर्ष संगीत गरिनँ। गीत गाएर आफूलाई मन नपरेपछि मैले सन् २००७ देखि गीत कम्पोजिसन गर्न थालेँ। अहिलेसम्म यही काम गर्दै आएको छु। मैले करिब १५ वटा गीत गाइसकेको छु भने ७० भन्दा बढीमा संगीत भरिसकेको छु।

मैले फेरि सन् २०१४ देखि गीत सुरु गरेँ। श्रोतालाई मेरो काम युनिक लाग्न थाल्यो। त्यसपछि मैले संगीत भरेका गीत एकपछि अर्को हिट हुन थाल्यो। ‘चाहना सकियो बहाना सकियो’, ‘लैजा रे’, ‘जालमा’, ‘निरा’, ‘लप्पन छप्पन’, ‘के नै भन्नु छ र’, ‘एकैछिनमा’लगायतका मेरा गीत धेरै चर्चित भए। मैले विभिन्न राष्ट्रिय पुरस्कार (अवार्ड) हरू पनि प्राप्त गरेको छु।

आजसम्म मैले नानीबाबुहरूका लागि केही काम गरेको छैन। तर, तिमीहरूलाई एउटा खबर सुनाउँछु। तिमीहरूकै लागि चाँडै नै बालगीत लिएर आउँदैछु। म तिमीहरूलाई एउटा कुरा भन्छु है त। मैले भनेको पक्कै पनि मान्छौ होला। तिमीहरू धेरैको मोबाइल चलाउने बानी छ होला। धेरै चलाउने बानी छ भने यसलाई कम गर है। जीवनमा सबैभन्दा गाह्रो भनेको एकअर्कासँग मिलेर बस्नु र साथी बनाउनु हो। त्यसैले कोठाभित्र बसेर मोबाइल चलाउनुभन्दा समूहमा मिल्ने बानी बसाल्नु पर्छ।

संसारमा मोबाइलभन्दा पनि रमाइला कुराहरू धेरै छन्। जसले हामीलाई आनन्द पनि दिन्छ। आमाबुवासँग घुम्न जाउ, साथीभाइलाई भेटेर उनीहरूसँग खेल। संगीतमा लाग्न चाहन्छौ भने गीत एकदमै धेरै सुन्नुपर्छ। अध्ययन गर्नुपर्छ। अभ्यास गर्नुपर्छ र यस्तै खालका साथीभाइको सर्कल बनाउनुपर्छ।

(संगीतकार बाँस्कोटासँग इन्द्र चौधरीले गरेको कुराकानीमा आधारित )


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.