मालपोतको ढिलासुस्तीविरुद्ध सेवाग्राही सडकमा
परासी : पश्चिम नवलपरासीको भूमिसुधार तथा मालपोत कार्यालय परासीको काम कारबाही ढिलासुस्ती भएको भन्दै सेवाग्राही सडकमा उत्रिएका छन्। एउटा कामका लागि १५ देखि २० दिन कार्यालयमा धाउँदासमेत काम नभएको भन्दै आक्रोशित सेवाग्राहीले बुधबार कार्यालयमा तालाबन्दी गरेर सदरमुकाममा नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन्। ढिलासुस्तीविरुद्ध उनीहरूले जल्ला प्रशासन कार्यालय घेराउ गर्दै काम छिटो छरितो गराउन माग गरे।
अनलाइन सेवा सुरु भएपछि कार्यालयको काम छिटोछरितो हुन सकेको छैन। कर्मचारी अभावका कारण अनलाइन सेवाबाट काम गर्न ढिला भएको प्रमुख मालपोत अधिकृत नवीनकुमार अधिकारीले बताए। माघदेखि अनलाइन सेवा सुरु भएको छ। सोही महिनादेखि कार्यालयको काम अस्तव्यस्त छ। कार्यालयमा सेवाग्राहीको चाप बढेपछि टोकन प्रणाली लागू गरिएको छ।
टोकन प्रणाली पनि प्रभावकारी नभएको सेवाग्राहीको गुनासो छ। दैनिक सयभन्दा बढी सेवाग्राही कामका लागि आउने गर्छन्। ४० जनालाई मात्र टोकन दिएर काम गर्ने गरिएको छ। टोकन प्रणाली लागू भएपछि सेवाग्राही बिहान ६ बजेदेखि लाइनमा बस्न आउने गरेका छन्। बिहानैदेखि लाइन हुने भएकाले टाढाबाट आउने सेवाग्राही दैनिकजसो फर्किनुपरेको छ।
एक जना कम्प्युटर अपरेटरले दैनिक २५ देखि ३० जनाको लिखित पास गर्न सक्ने र अन्य अपरेटर नहुँदा समस्या भएको अधिकारीले बताए। भएका अपरेटरसमेत बिरामी भई कार्यालय नआउँदा कामै बन्द हुने गरेको उनले बताए। उनले भने, ‘चापअनुसार काम गर्न कम्तीमा २ जना अपरेटर आवश्यक पर्छ।’ विभाग र मन्त्रालयमा कर्मचारी पठाउन पटक–पटक अनुरोध गरे पनि नपठाउँदा समस्या भएको उनको गुनासो छ।
एक महिनाअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल परासी आउने क्रममा एक साताभित्र अपुग कर्मचारी पठाउने प्रतिबद्धता जनाएकी थिइन्। तर, अहिलेसम्म कर्मचारी आएका छैनन्। कार्यालयमा मालपोत अधिकृत, कम्प्युटर अपरेटर, खरिदार र सुब्बाको काम बढी हुने गर्छ। उनीहरूकै संख्या कमी छ। कर्मचारी नहुँदा तीन महिनादेखि मुद्दा फाँट बन्द छ। सरुवा भएर गएका कर्मचारीको ठाउँमा अर्को नपठाउँदा तीन महिनादेखि मुद्दासम्बन्धी कुनै काम हुन नसकेको प्रमुख मालपोत अधिकृत अधिकारीले बताए।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीसमक्ष गुनासो लिएर पुगेका पाल्हीनन्दन गाउँपालिकाका भरतप्रसाद पाण्डेले आफ्नो जग्गासम्बन्धी काम एक महिनादेखि नभएको बताए। त्यस्तै, सेवाग्राही रिना थापाले जग्गा पास गर्न आएको साता पुगिसक्दा पनि काम नभएको बताइन्। गुल्मीबाट जग्गा पासका लागि बोलाइएका व्यक्तिहरू काम नहुने भएपछि फर्किएको उनको गुनासो छ। टोकन लिन लाइनमा बस्दा हरेक दिन ‘४० जनाको कोटा सकियो’ भन्दै फर्काउने गरेको अर्की सेवाग्राही सविता पाण्डेले गुनासो गरिन्।
कार्यालयमा ३७ जनाको दरबन्दी छ। १० जना खरिदारमा ४ जना छन्। ८ जना सुब्बामा १ जना छन्। त्यसैगरी १ प्रमुख मालपोत अधिकृत, १ जना मालपोत अधिकृत र १ जना कम्प्युटर अपरेटर कार्यरत छन्। प्रमुख जिल्ला अधिकारी मरासिनीले तत्काललाई भैरहवा र नवलपुर जिल्लाबाट भए पनि कम्प्युटर अपरेटर पठाएर काम अघि बढाउन विभाग र मन्त्रालयमा कुरा गरेको जानकारी दिए। कामका लागि आउने सबै सेवाग्राहीलाई दिन तोकेर टोकन दिन प्रजिअ मरासिनीले मालपोत कार्यालयलाई निर्देशन दिएका छन्। यसैबीच, सेवाग्राहीले विरोधस्वरूप कार्यालयमा लगाएको ताल्चा दुई घण्टापछि प्रहरीले फोरेको छ।