बस्ती सार्न सुझाव

बस्ती सार्न सुझाव

बेनी : पहिरोको जोखिममा रहेको बेनी-१० पात्लेखेतलगायत क्षेत्रका बस्ती सार्न विज्ञ टोलीले सुझाव दिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइले भूगर्भविद्को टोली ल्याएर पहिरोको जोखिममा रहेका म्याग्दीका बस्तीको अध्ययन गराएको थियो।

नियन्त्रणको सम्भावना कम भएकाले बस्ती स्थानान्तरण गर्न सुझाव दिएको आयोजना प्रमुख शिवराम गेलालले बताए। ‘रघुगंगा गाउँपालिकाको चौरखानी, बेनी नगरपालिकाको पात्लेखेत र तोराखेतमा पहिरोको उच्च जोखिम देखिएको छ’, उनले भने, ‘स्थानीय तहले जग्गाको व्यवस्थापन गरे प्राधिकरण एकीकृत बस्ती बनाउन इच्छुक छ।’

पात्लेखेतको बान्द्रे पहिरोका कारण ६५ घरपरिवार उच्च जोखिममा छन्। बस्तीको तलतर्फ पहिरो छ। बान्द्रे, सुब्बाको फूलबारी, गैराटोल र दीपक मावि आसपासको बस्ती स्थानान्तरण गर्नुपर्ने कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले बताए। ‘भूगर्भविद्ले पनि सतर्क गराएका छन्। सुरक्षित ठाउँमा जग्गा खरिद गरी एकीकृत बस्ती बनाउन छलफल चलाएका छौं’, उनले भने, ‘नियन्त्रणको प्रयास सफल नभएपछि बस्ती सार्नुको विकल्प देखिएन।’

लालबहादुर हमाल, खम्बी गर्बुजा, हरि गर्बुजा र जालमाया राम्जालीको परिवार विस्थापित भएका छन्। रघुगंगा नदी किनारबाट बस्तीसम्मको सयांै रोपनी खेतबारी पहिरोले बगाएको वडा सदस्य विष्णु रकालले बताए। पहिरो रोकथामका लागि ग्याबियन पर्खाल र भल तर्काउन नाली निर्माण गरिए पनि प्रभावकारी देखिएको छैन।

भिरालो जमिनमा बग्ने भूमिगत पानीका कारण पहिरो गएको स्थानीय केदारनाथ शर्माले बताए। पहिरोले बिचल्ली बनाएको उनको गुनासो छ। ‘पहिरो घरछेउमै आएको छ। घरका पर्खाल चिरा परेका छन्’, उनले भने, ‘पहिरोले हाम्रो उठिबास लगायो।’ खेतबारीमा धाँजा फाटेको छ। बर्खायाम सुरुभएसँगै स्थानीय त्रसित छन्।

पहिरोको जोखिम भएको ठाउँमा भल तर्काउन ३० लाख खर्च गरी पाइपलाइनसहित दुई किलोमिटर नाली बनाइएको वडाध्यक्ष पुनले बताए। उनका अनुसार ग्याबियन जालीको पर्खाल बनाउन २० लाख खर्च भएको छ।

बेनी नगरपालिकाले बाढी, पहिरो, भूक्षय, कटान, आगलागीजस्ता विपद्को जोखिम तथा क्षति न्यूनीकरण गर्न विपद् प्रतिकार्य योजना बनाएको छ। विपद्को जोखिम पहिचान, न्यूनीकरण र राहत तथा उद्धारलाई प्रभावकारी बनाउन योजना बनाइएको मेयर हरिकुमार श्रेष्ठले बताए। सोही योजनाअनुसार नगरका जोखिम बस्तीमा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.