धनगढी विष्फोट : घाइतेको सुरक्षा घेरामा उपचार हुँदै
धनगढी : धनगढीस्थित सहिद गेट नजिक मिलन होटलमा साउन २ गते भएको वम विष्फोटमा घाइते भएका लक्ष्मण सेरेलाको सुरक्षा घेरामा उपचार भइरहेको छ। १० दिनदेखि सेरेला धनगढीस्थित निजी अस्पताल माया मेट्रोमा उपचार भइरहेको छ। अस्पतालको पहिलो तलाको वेड नम्बर ४ प्रहरीको २४ घण्टा विशेष निगरानीमा उपचार भइरहेको छ।
कञ्चनपुर वेलडाँडी गाउँपालिका-५ झिलमिला घर भएका लक्ष्मणलाई प्रहरीले सर्वसधारणलाई भेटघाटमा रोक लगाएको छ। कसैलाई भेट्न दिएपनि व्यक्तिको नाम टिप्ने गरेको छ। हतियारसहित जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई २४ घण्टा नै सुरक्षा पहरा दिने गरेको छ।
उनको रेखदेख लक्ष्मणकी पत्नी विमलाले गर्दै आएकी छन्। लक्ष्मणको शरीरका अन्य ठाउँको घाउ विस्तारै सन्चो हुँदै गए पनि कम्मर मुनीको गहिरो चोट सन्चो हुन अझै समय लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्। साउन २ गते बझाङ सदरमुकाम जयपृथ्वी नगरपालिका-१, पिमी घर भएका राम सिंहले बोकेको टिफिन बक्स बम विस्फोट भएको थियो ।
मृतक सिंह र सेरेला विप्लव समूहको कार्यकर्ता भएको भएको विज्ञप्तिमार्फत जनाएको छ। विष्फोट परी सिंहको साउन २ गते राति उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य ४ जना घाइते भएका थिए। घाइते धनगढी उपमहानगरपालिका-४ का जितेन्द्र यादव, होटल मालिक केशव पाण्डे, भारतको लखिमपुरका मोबिन खान र लक्ष्मण सेरेला घाइते भएका थिए।
पाण्डेबाहेक अरु सबैको उपचार माया मेट्रोमा उपचार भइरहेको छ। पाण्डेको नेपालगञ्ज उपचार भइरहेको हो।
कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले प्रहरीले घाइते सेरेलाको सुरक्षा दिइरहेको बताए।
उपचारमा अन्यौलता
विष्फोटमा घाइते भएकाको उपचार खर्च कसले गर्ने भन्ने अन्यौता सिर्जना भएको छ। उपचार खर्च कसले गर्ने भन्ने अन्यौलता भएको घाइते जितेन्द्र यादवले बताए।उपचार खर्चको अन्यौलले भारतको लखिमपुर घर भएका मोबिन खान अस्पतालको बेडमा छन्।उनलाई साउन १० गते अस्पतालले डिस्चार्ज गरिसकेको छ।तर उपचारवाफतको रकम तिर्न नसक्दा उनी अस्पतालको बेडमै छन्।
उनको उपचारमा एक लाखभन्दा बढी खर्च भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।खान विष्फोट भएको होटल छेउकै ट्याक्टर ग्यारेजमा काम गर्थे। विष्फोटमा घाइते भएकाको उपचार कसले गर्ने भन्ने आधिकारिक जानकारी कसैबाट नआएको अस्पताल सञ्चालक समितिका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए। 'अहिलेसम्म कतैबाट पनि आधिकारिक जानकारी आएको छैन। उपचारमा एक रुपैयाँ पनि कतैबाट आएको छैन्,' उनले भने।
वम विष्फोट भएको दुई दिनपछि विप्लव समूहले घाइतेको सम्पूर्ण उपचार आफूले गर्ने विज्ञप्तीमार्फत जनाए पनि सम्पर्कमा कोहि नआएको अस्पताल प्रशासनको भनाई छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले घाइतेको उपचारमा कमी हुन नदिने अस्पताल प्रशासनसँग छलफल भएको दावी गरे। उनीहरुको उपचार खर्च सरकारबाटै हुने जनाकारी दिए। घटनाका सबै घाइते अनुसन्धानको दायरामा रहेकाले सामान्य घाइतेसरह उपचारपछि घर जान नपाएको प्रजिअ बोहराले स्पष्ट पारे।
उपचार खर्च व्यहोर्न सरकारसँग माग
विस्फोटमा परी घाइते भएकाको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरिएको छ। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कैलालीले आइतबार विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य पत्ता लगाए र घाइतेको उपचार खर्च व्यहोर्न सरकारसँग माग गरेको हो।
घाइतेहरुको उपचार खर्च तिर्न नसकी अलपत्र परेका कारण घर सम्म पुर्याउन र घाइतेलाई उचित क्षतिपूर्ति दिन माग युवा संगठन कैलाली जिल्ला अध्यक्ष दिनेश बम ठकुरीको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।